६१ वर्षीय केल मोरिस अमेरिकामा अलस्का राज्यको सेवार्डमा बस्छन्। भिडभाडबाट केही क्षण टाढा रहन उनी ६१ वर्षकी श्रीमती जोआना रूपसँग बेला-बेला हाइकिङ गइरहन्छन्।
गत मे महिनाको अन्तिम साता पनि उनीहरूले हाइकिङ जाने योजना बनाए। २४ मे श्रीमान्-श्रीमती घरबाट निस्किए।
उनीहरूले यसपटक सेवार्डबाट उत्तरमा रहेको एन्करेज सहरबाट करिब १९३ किलोमिटर दक्षिणमा अवस्थित गडविन हिमनदीको किनारैकिनार हाइकिङ गर्ने योजना बनाए।
त्यो हाइकिङका लागि लोकप्रिय पदमार्ग पनि हो। यसअघि पनि उनीहरूले त्यो पदमार्गमा यात्रा गरिसकेका थिए।
पदयात्राकै क्रममा उनीहरूले खोला पार गर्ने ठाउँ खोज्दै थिए।
त्यत्तिकैमा जमिन भासियो र त्यहाँ रहेको ढुंगाहरू तल खस्न थाले। अकास्मात् मोरिस पनि चिप्लिएर लडे। उनले आफूलाई जोगाउने कोसिस पनि गरेका थिए। तर, एक्कासि एउटा ठूलो ढुंगाले आएर उनलाई थिच्यो।
ढुंगा झन्डै ७०० पाउन्ड (३१८ किलो)को रहेको अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सको समाचारमा उल्लेख छ।
उनीहरूले पदयात्रा गरिरहेको अत्यन्त चिसो ठाउँ थियो। मोरिस घोप्टो परेर लडेका थिए। उनको शरीर पानीमा थियो। शरीर र मुख पानीमै भएको अवस्थामा बडेमानको ढुंगाले उनलाई थिचेको थियो।
मोरिसका श्रीमती जोआना केही अगाडि थिइन्। चट्टानहरू खस्दा ठूलो आवाज आएको भनेर उनले न्यूयोर्क टाइम्ससँग भनेकी छन्।
के भएको भनेर भेउ नपाउँदै श्रीमानलाई बडेमानको ढुंगाले थिचिरहेको देख्दा उनको होसहवास् उड्यो। त्यति ठूलो ढुंगाले थिच्दा श्रीमानको परान के बाँकी होला र भन्ने उनलाई लागेको थियो। हतार हतार नजिक पुग्दा मोरिसलाई जिउँदै देखेर उनले राहतको सास लिइन्।
उनले ३ सय किलोभन्दा बढि तौलको ढुंगा हटाउन खोजिन् तर सकिनन्। सहायता माग्न वरपर मानिसहरू देखिनन्। मोबाइलमा नेटवर्क थिएन।
पछि श्रीमानलाई त्यही हालतमा छाडेर जोआन मोबाइलमा नेटवर्क आउने आशामा केही पर गइन्। ३/४ सय मिटर पर पुग्दा मोबाइलमा नेटवर्क आयो। उनले आपतकालीन सेवाको ९११ नम्बरमा सम्पर्क गरिन् र आफ्नो श्रीमानको अवस्था सुनाइन्।
बाटो उकालो ओरालो र अफ्ठ्यारो भएकाले त्यहाँ पुग्न उनीहरूलाई केही समय लाग्ने जबाफ आपतकालीन सेवाबाट आयो।
जोआना झन्डै तीन घन्टा कुरिसक्दा पनि आपतकाली सेवाका उद्धारकर्मी आइपुगेका थिएनन्। त्यति बेलासमम्म मोरिसको हालत खराब भइसकेको थियो। उनी बेलाबेला बेहोस् हुनेर फेरि होसमा आउने गरिरहेका थिए।
उनको अनुहार पनि पानीमा थियो। तर जोआनाले टाउको समातेर आफ्नो श्रीमानको अनुहार डुब्न दिएकी थिइनन्।
पछि पदमार्गमा मानिस च्यापिएको खबर एउटा हेलिकप्टर टुर कम्पनीले पायो। त्यहाँबाट ६ जनाको उद्धार टोली खटियो र तत्काल मोरिस च्यापिएको ठाउँमा पुग्यो। हेलिकप्टरबाट छ जना स्वयंसेवक झरे।
उद्धारकर्मीहरूले एयरब्याग, डोरी र बल प्रयोग गरेर चट्टान हटाए। त्यसपछि मोरिसलाई तताएर होसमा ल्याए र हेलिकप्टरमार्फत उनलाई उद्धार गरेर अस्पताल पुर्याए। उनी गम्भीर घाइते छन् तर ज्यान जोगियो। केही चोटपटक र नशामा दखल परेको छ।
'यदि हेलिकप्टरबाट सहयोग नभएको भए, परिणाम निकै खराब हुन सक्थ्यो,' सेवार्डको उद्धार कार्यालयले भनेको छ।
जोआनीले श्रीमान अझै आफ्नो साथमा हुनु सबैभन्दा ठूलो कुरा रहेको बताइन्।
तैपनि दम्पत्तिले पदयात्रा जाने काम बन्द नराख्ने बताएका छन्। उनीहरूले चाँडै अर्को ठाउँमा पदयात्रामा जाने योजना बनाएका छन्।
'६१ वर्षका भयौं भनेर जीवनशैली फेरिने त होइन। हामी फेरि चाँडै अर्को पदयात्रा गर्नेछौं। जंगल घुम्नेछौं,' जोआनीले भनिन्।