पोखरामा अलपत्र परेका यात्रुलाई सशस्त्र प्रहरीले गन्तव्यसम्म पुर्याउन स्कर्टिङ गरेको छ।
सार्वजनिक यातायात बचाऊ संघर्ष समिति गण्डकी प्रदेशले जेठ १६ गते देखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेको छ।
उक्त घोषणा पछि पोखरामा अलपत्र परेका यात्रुहरूलाई आइतबार बिहान १० बजेदेखि २५ वटा पर्यटक बसलाई स्कर्टिङ गरी गन्तव्यमा पुर्याउने काम भइरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले पोखराबाट जिल्लाको सीमाना कोत्रेसम्म स्कर्टिङ गर्ने छ। त्यहाँबाट नं. २३ मनकामना गण तनहुँले नेपाल प्रहरीसहित स्कर्टिङ गरी मुग्लिनसम्म ल्याउने डिएसपी थापाले बताए।
गण्डकी प्रदेश र बागमती प्रदेशको सीमानासम्म स्कर्टिङ गरी यात्रुहरूलाई सुरक्षित रूपमा उनीहरुको गन्तव्य स्थानसम्म पुर्याउने काम भइरहेको उनले बताए। २५ वटा बस चितवन र काठमाडौंका लागि छुटेका हुन्।
यसअघि शनिबार पनि सशस्त्र प्रहरी र नेपाल प्रहरीले स्कर्टिङ गरेको थियो।