हेटौंडा-४ शितल महलचोकस्थित ‘द नाइन्टिन सलोन’ ले एसी र इन्भर्टरको माग गर्दै दिएको निवेदनमा हेटौंडा उपमहानगरपालिकाले तोक लगाएको विषय अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
सैलुनका सञ्चालक सुसन घलानले गर्मी बढेको र नियमित विद्युत आपूर्ति नभएकाले गुणस्तरीय सेवा दिन एक/एक थान एसी र इन्भर्टर माग गर्दै बुधबार उपमहानगरपालिकामा निवेदन दिएका थिए।
उक्त निवेदनमा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले तोक लगाइदिएकी छन्। मेयरले आर्थिक शाखालाई ‘माग भएका सामग्रीको लागत अनुमान तयार गरिदिनुहुन’ भनेर तोक लगाएकी छन्।
सञ्चालक सुसन घलानले दिएको निवेदन।हेटौंडामा केही युवा मिलेर सञ्चालनमा ल्याएको सैलुनको हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले उद्घाटन गरेकी थिइन्।
उनले उद्घाटन कार्यक्रममा ‘सैलुनमा गर्मी धेरै छ। म एसी जडानका लागि सहयोग गर्छु’ भनेको भन्दै घलानले सोही कुरा सम्झिएर निवेदन दिएको उल्लेख गरेका छन्।
मेयर लामाले आफूले उद्घाटन कार्यक्रममा बोल्नेक्रममा सहयोगको प्रतिवद्धता गरेको स्वीकार गरिन्।
‘स्नातक पढेका युवाहरू मिलेर खोलेको सैलुनको उद्घाटनमा गएको थिएँ। धेरै युवाहरू देशमा अवसर भएन भनेर विदेशतिर गइरहेको बेलामा पढेका युवाहरूले कपाल काटिरहेको देख्दा मलाई खुसी लाग्यो। ऐना, काइँयो के चाहिन्छ म सहयोग गर्छु भनेको थिएँ। ती सामान किनिसकेका रहेछन्। जेनतेन ऋण लिएर खोल्यौं, एसी चाहिएको छ अब भने। सैलुन निकै गर्मी पनि थियो। मैले मिलेछ भने एसीको लागि सहयोग गर्छु भनेको थिएँ,’ लामाले भनिन्, ‘त्यही कुरा सम्झिएर ती भाइहरू निवेदन लिएर आएछन्। मैले तोक लगाइदिएको छु।’
मेयर लामाले आफूले युवाहरूलाई प्रोत्साहन गर्न निवेदनमा तोक लगाइदिएको बताइन्। तर अरूले यसलाई ठूलो विषय बनाएर राजनीति गरेको उनको आरोप छ।
‘निवेदनमा तोक लगाउँदैमा उनीहरूले पाइहाल्ने भन्ने होइन। त्यसका प्रक्रिया हुन्छन्। विभिन्न शाखाले स्वीकृत गर्नुपर्छ। म मेयरले तोक लगाउँदैमा पाइहाल्ने कुरा त होइन नि। ममाथि आशा राखेर आएका युवालाई खिन्न बनाउन भएन नि त,’ उनले भनिन्, ‘देशमै केही गर्छु भनेर तम्सिएका पढे लेखेका युवाको निवेदनमा तोक लगाएर मैले अपराध गरेँ त ?’
उनले यस्तो सहयोग माग गरेर धेरै निवेदन आउने गरेको बताइन्। आवश्यक पर्ने ठाउँमा निर्देशिका, कार्यविधिले भेटेसम्म सहयोग गर्ने गरिएको बताइन्।
‘मिलेन भनेपछि यो कारणले सकिएन भन्ने हो। मेयरले सिधै सक्दिनँ भनेर पठाइदिन भएन नि। मिलेसम्म सहयोग गर्ने हो,’ मेयर लामाले भनिन्, ‘मान्छेले ठूलै कुरा पाएँ भनेर भाइरल बनाएका छन्। ती युवाहरू अहिले तनाव छन्। म सम्झाइरहेकी छु उनीहरूलाई।’