वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालको सरूवासम्बन्धी समाचारमा युलेन्स स्कुल र विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष आरजु राणा देउवाको संलग्नता देखाइएको भन्दै युलेन्स एजुकेशन फाउण्डेशनले ध्यानाकर्षण भएको उल्लेख गर्दै विज्ञप्ति निकालेको छ।
केही पत्रिका र युटुव च्यानलहरूमा आएका समाचारमा युलेन्स स्कुललाई नियमन गर्ने प्रयास गरेपछि विभागका महानिर्देशक दाहालको सरूवा गरिएको उल्लेख गरिएको भन्दै फाउण्डेसनले यसमा सत्यता नरहेको बताएको हो।
‘युलेन्स स्कुललाई नियमन गर्ने प्रयास गरेपछि दाहाललाई सरूवा गरिएको भ्रामक, मिथ्य, मनगढन्ते र तथ्यहीन समाग्री प्रकाशित गरिएको थियो। उक्त सामग्री आरजु राणा देउवाज्यूलाई पूर्वाग्रहबाट प्रेरित र कपोलकल्पित रूपमा जोडी झूटो, वदनियतपूर्ण र चरित्रहत्या गर्ने मनसायले समाचार सम्प्रेषण गरेको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ।
दाहालको नेतृत्वमा विभागले काठमाडौंका लगभग २८ विद्यालयहरूमा अनुगमन गरी समीक्षाको लागि विभिन्न कागजातहरू पेस गर्न अनुरोध गरेको थियो।
युलेन्स स्कुलको संस्थापक संस्था यूलेन्स एजुकेशन फाउण्डेशनले विभागले माग गरेको सबै सूचना, जानकारी र कागजातहरू तोकिएको समयमा नै पेस गरी विभागको अनुरोधको पूर्ण पालना गरेको युलेन्स एजुकेशन फाउण्डेसनका प्राज्ञिक विभाग प्रमुख तथा प्रिन्सिपल मेदिन लामीछानेले बुधबार निकालेको विज्ञप्तिमा उल्लेख छ।
‘विभागले माग गरेका सबै कागजात र सूचना तथा जानाकारी सम्बन्धित विभागमा बुझाएपछि विभागद्वारा कुनै औपचारिक जानाकारी दिइएन। जरिवाना गरिएको सूचना वा जानकारी यस यूलेन्स एजुकेशन फाउण्डेशनलाई दिइएको छैन। यो अनुगमनलाई विद्यालयले सरकारी नियामक निकायहरूद्वारा गरिएको नियमित निरीक्षण र अनुगमनको रूपमा ग्रहण गर्यो। सरकारी निकायहरूद्वारा गरिने सामान्य अनुगमन र निरिक्षणको जानाकारी विद्यालयले व्यवस्थापन समिताका अध्यक्ष ज्यूलाई दिइ रहन आवश्यक पनि थिएन। यो विषय उहाँको जानाकारीमा थिएन र विद्यालयले जानकारी नगराए पछि हुने कुरा पनि रहेन। त्यसैले पनि आरजु राणा देउवा यस विषयमा पूर्ण रुपमा अनभिज्ञ हुनुहुन्थ्यो। त्यसकारण दाहालको सरुवामा माननीय आरजु राणा देउवाको संलग्नता रहेको भनिएको समाचार अनपेक्षित, अत्यन्तै दुःखद, तथ्यहिन, कपोलकल्पित र भ्रामक हो,’ विज्ञप्तिमा भनिएको छ।
युलेन्स स्कुल आरजु राणा देउवाको स्वामित्वमा रहेको भनि गरिएको प्रचार तथ्यहिन, गलत र भ्रामक रहेको पनि विज्ञप्तिमा उल्लेख छ।