गोरखाको छेपेटारमा रहेको खाजा घर चोरी तथा आगलागी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
गोरखा नगरपालिका वडा नम्बर १० स्थित छेपेटार बजारमा माघ १७ गते बुद्धिमान गुरूङले सञ्चालन गरेको खाजाघर र गीता पोखरेलले सञ्चालन गरेको खाजा घरबाट नगदलगायत चोरी भएको थियो। साथै पोखरेलको खाजा घरमा आगलागी पनि भएको थियो।
प्रहरीले फागुन ६ गते ती खाजाघरहरूबाट चोरी भएको सरसामानमध्ये केही सामानहरू गोनपा १० छेपेटार बस्ने वर्ष ३६ का मन्जिल मग्रातीको घरबाट बरामद गरेको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा मग्रातीले गुरूङ र पोखरेलको खाजा घरबाट नगद र सामानहरू चोरी गरी पोखरेलको खाजा घरमा आगो लगाएको खुलेको जिल्ला प्रहरी कार्यालय गोरखाले शुक्रबार निकालेको सूचनामा उल्लेख छ।
पक्राउ परेका मग्रातीलाई फागुन ६ गते पक्राउ गरी फागुन ८ गते चोरी तथा आपराधिक उपद्रव शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मग्रातीविरूद्ध यसअघि २०७१ जेट १८ गते डाँका चोरी गरी कर्तव्य ज्यान कसूर, २०७९ असोज १७ गते चोरी कसूर र २०८० वैशाख ३१ गते सार्वजनिक शान्ति विरुद्धको कसूरमा समेत मुद्दा दर्ता भई कारबाही भएको जिल्ला प्रहरी कार्यालय गोरखाको अभिलेखबाट देखिएको छ।