२०८० सालको मंसिर १८ गते चितवनको जंगलमा एकाएक दाह्रा नभएको भाले हात्ती देखापर्यो। श्रीलंका र भारतका जंगलमा देखिइराख्ने दाह्राविहीन भाले हात्ती अकस्मात चितवनमा देखापर्दा मान्छेहरू अचम्ममा परेका थिए।
दाह्रा नभएका भाले हात्ती सामान्यतया नेपाल र भारतमा (एसियन हात्तीबाट) करिब १० प्रतिशत जन्मने गरेका छन्। श्रीलंकामा भने यस्ता हात्ती करिब ९० प्रतिशत जन्मन्छन्। यस्ता हात्तीलाई ‘मकुना’ भन्ने गरिन्छ। नेपालको कोशी टप्पु वन्यजन्तु आरक्षमा फाट्टफुट्ट देखिने गरे पनि चितवनमा कहिल्यै रेकर्ड भएको थिएन मकुना।
हाल बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रहेका हात्ती विज्ञ अशोक रामका अनुसार मकुनाहरू भारतको आसामदेखि नेपाल आइपुग्छन्।
भारतको पश्चिम बंगालस्थित महानंदा वाइल्डलाइफ सेन्चुरीदेखि पनि हात्तीहरू नेपाल आउने गरेका छन्। टिष्टा, महानंदा, बालासोन र मेची नदी पार गर्दै हात्तीका बथान पूर्वी नेपालका झापा, सुनसरी, मोरङतिर आइपुग्छन्।
यो मकुना झापाको बाहुनडाँगी हुँदै चितवन आइपुगेको थियो। बाहुनडाँगीसम्म ऊ भारतको कुन ठाउँबाट आइपुग्यो भन्ने रेकर्ड भने छैन।
पाँच वर्षअघि दुई मकुनासँगै पाँचवटा हात्तीलाई रामसहितका अध्येताहरूले झापाको बाहुनडाँगीबाट पच्छ्याएका थिए। उनीहरू सबै बाहुनडाँगीबाट कोशी हुँदै सिराहा, सिन्धुली, महोत्तरी, सर्लाही, रौतहटबाट पर्सासम्म आइपुगेका थिए।
कोशी टप्पु आरक्षबाट सिन्धुलीतिरको वन क्षेत्र पसेपछि कहिले वन, कहिले बस्ती हुँदै रौतहट आइपुगेका थिए। उनीहरूले चार सय किलोमिटर यात्रा गर्दा करिब डेढ सय किलोमिटर जति बस्ती र खेतबारीबाट गुजारेका थिए। बाहुनडाँगीबाट हिँडेका पाँच हात्तीमध्ये मकुना मात्रै चितवन आउन सफल भयो। दुई वटा पर्साको पश्चिम क्षेत्रसम्म आएर पुनः झापातिरै फर्किए। अरू दुई वटाले पनि चितवन र मकवानपुरको सिमाना लोथर कट्न सकेनन्।
मंसिरमा कुमरोज नजिकैको जनकपुर पोष्टमा पहिलो पटक रेकर्ड भएको मकुना केही समय त्यतै भुल्यो। त्यसताका चितवन निकुञ्जले पालेको एउटा हात्ती हराइरहेको थियो। ऊ त्यही हात्तीको पछि लागेर जनकपुर पोष्टसम्म आइपुगेको अनुमान गरिन्छ।
सुरूमा मकुना जनकपुर पोस्ट र राप्ती पारिको अमृते पोस्टका पोथी हात्तीसँग भुलेको थियो। पछि ऊ अरू पोथी हात्ती खोज्दै सौराहा आसपास आइपुग्यो। खोरसोरस्थित हात्ती प्रजनन् केन्द्रमा जंगली हात्तीहरू रोनाल्डो, ध्रुबे र गोविन्देसँग मकुनाको लुकामारी लामै समय चल्यो। दाह्रा नभएको ऊ दाह्रा भएका अन्य भालेसँग लड्न सक्थेन। उनीहरूमध्ये कोही आएको संकेत पाएपछि कुलेलाम ठोकिहाल्थ्यो। तै पनि मकुना अन्य तीन वटा हात्तीलाई छल्दै खोरसोरका पोथी हात्तीसँग सम्बन्ध बनाउँथ्यो।
केही हप्ताअघि मकुना सौराहा बजारमा दौडिएका भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए। वन्यजन्तुका लागि प्रजननको मुख्य समय मानिने पुस, माघमा हात्ती प्रजनन् केन्द्र खोरसोरमा प्रतिस्पर्धा बढेपछि मकुना पर्यटन व्यवसायीले पालेको हात्ती खोज्दै सहर पसेको अनुमान गरिन्छ। हात्तीको सुँघ्ने र सुन्ने क्षमता तीक्ष्ण हुन्छ। त्यही क्षमताको प्रयोग गर्दै मकुना सौराहातिर पसेको हुनसक्ने राम बताउँछन्।
जंगली हात्ती मानव बस्तीतिर पसेपछि सौराहा क्षेत्रमा त्रास बढेको थियो। मकुनालाई बस्तीमा आउन नदिन निकुञ्जले प्रयास सुरू गर्यो। निकुञ्ज कार्यालय र निकुञ्जको सुरक्षार्थ तैनाथ नयाँ गोरख गणका सैनिकहरूले उसलाई भित्री जंगलमा पठाउन खोजिरहेका थिए।
चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तका अनुसार माघ २४ गते दिउँसो हात्ती स्विप गस्ती टोलीको स्विपिङ गर्दै जाँदा कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा अकस्मात मकुनासँग भेट भयो। काँसघारीमा लुकिरहेको ऊ एक्कासि स्विपिङ टोलीको अगाडि देखापर्यो। मकुनाले घरपालुवा हात्ती चुरेगजलाई आक्रमण गर्न लागेपछि आत्मसुरक्षाका लागि स्विप टोलीले २ राउण्ड वर्निङ हवाई फायर गर्यो।
‘त्यसो गर्दा पनि मकुना भागेन। ऊ थप आक्रामक बन्दै खगेन्द्रप्रसाद नामको सानो हात्तीमाथि जाइलाग्यो। खगेन्द्र प्रसादमा सवार रेञ्जर श्याम तामाङ भुइँमा खसे। उनको सुरक्षा गर्न अत्यन्तै कठिन भएपछि स्विप टोलीले मकुनालाई ३ राउण्ड गोली हानेको थियो,’ निकुञ्जका संरक्षण अधिकृत अविनाश थापा मगरले भने, ‘गोली हानेपछि मकुना केही पर भाग्यो। अनि फेरि फर्किएर आक्रमण गर्न आयो। त्यसपछि टोलीले अर्को एक राउण्ड गोली प्रहार गरेको थियो।’
गोली लागेपछि भागेको मकुना खोजी गर्दै जाँदा करिब एक किलोमिटर पर ढलेको अवस्थामा भेटिएको थापाले बताए।
तत्कालै उठाउन प्रयास गर्दा नउठेपछि दिउँसो साढे ३ बजेतिर पशु चिकित्सकसहितको प्राविधिक टोलीले उसलाई मृत घोषणा गरेको थियो।
अन्ततः पहिलो पटक देखापरेको ठाउँबाट करिब डेढ किलोमिटर पर मकुना बिदा भयो। यस विषयमा अहिले अनुसन्धान चलिरहेको छ।
वन तथा वातावरण मन्त्रालयका सहसचिव बुद्धिसागर पौडेल संयोजक र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ अनुगमन तथा मूल्यांकन अधिकृत पुरूषोत्तम शर्मा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख सेनानी गजेन्द्र रावल, वन तथा भू–संरक्षण मन्त्रालयका वन अधिकृत सवनम पाठक र चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा.दिनेश शाह रहेको छानबिन समितिलाई घटनाको सत्य, तथ्य पत्ता लगाउने जिम्मेवारी दिइएको छ।
रामका अनुसार बाहुनडाँगीबाट आएका ५ वटा हात्तीमध्ये एउटाको यसअघि नै झापामा मृत्यु भइसकेको छ। बाँकी तीनमध्ये लामा दाह्रा भएको यमगज घाइते अवस्थामा छ। ऊ बारा, पर्सा आसपासको जंगलमा छ। यसले मकवानपुरमा ३, बारामा २ र रौतहटमा १ गरी ६ जना मान्छेको ज्यान लिएको थियो। उसलाई निकुञ्जले नियन्त्रणमा लिई रेडियो कलर जोडेर छोडेको थियो। सिन्धुलीमा रहेको अर्को हात्ती पनि घाइते रहेको राम बताउँछन्। पर्सा आएर झापातिर फर्किएको अर्को मकुना हात्ती अहिले पनि त्यतै छ।
अहिले झापातिर ३ वटा, बर्दियामा २ वटा सिन्धुलीमा एउटा मकुना रेकर्ड छन्। २०७८ सालमा कोशी टप्पुमा एउटा मकुनाको विद्युतीय तारबारमा करेन्ट लागेर मृत्यु भएको थियो। नेपालका २८ र भारतका १२ जना मान्छेको ज्यान लिएको यो हात्तीलाई स्थानीय प्रशासन र आरक्षले मार्ने निर्णय गरेका थिए। तर पछि नमारी नियन्त्रणमा लिने प्रयास गरियो।
‘एक दिन पानी परिरहेको बेलामा विद्युतीय तारबारमा अल्झिएर करेन्टले ऊ मर्यो,’ त्यतिखेर आरक्षमै कार्यरत राम भन्छन्, ‘कोशी टप्पु वन्यजन्तु आरक्षमा मकुनाले प्रजनन् गरेका छावाहरू जन्मिएका छन्। तर ती मकुना नै हुन्छन् वा दाह्रावाला हुन्छन् थाहा पाउन केही समय लाग्छ।’
रामका अनुसार जंगली हात्तीहरू आफ्ना पुर्खाले हिँडेको बाटो पत्ता लगाएर निकै लामो दूरीको यात्रा गर्न सक्ने अध्ययनले देखाएको छ।
‘यो उनीहरूको क्षमता हो। पुर्खाहरू कुन बाटो भएर हिँड्थे भन्ने कुरा पत्ता लगाएर कैयौं किलोमिटरको यात्रा गर्न सक्छन् उनीहरू,’ राम भन्छन्, ‘भारतबाट ठूलो हुल हात्तीहरू नेपाल आइराखेको देखिन्छ नि त्यो त्यही हो सायद। अनि मकुना लगायतका पाँच वटा हात्तीहरू झापाको बाहुनडाँगीबाट चितवनसम्म आइपुगेको पनि त्यही क्षमताका कारण हो।’
हात्तीको भाले बलियो हुन्छ। तर समूहमा पोथीको आदेश चल्छ। जंगली हात्ती प्रायः समूहमा हुन्छन्। त्यो मातृसत्तात्मक हुन्छ। सबभन्दा बुढी ढोईले समूहको नेतृत्व गर्छिन्। उनले जे आदेश दियो त्यो अन्तिम हुन्छ।
‘कता जाने, के खाने, कसले प्रजनन् गर्न पाउने, कुन भालेले कुन पोथीसँग संसर्ग गर्ने जस्ता विषय बुढी ढोईले भने अनुसार हुन्छ। समूहमा जसले टेर्दैन उसको खैरियत हुँदैन। ऊ समूहबाट अलग हुन्छ,’ रामले भने।
सामान्यतया छावा जन्मिएको २० देखि ३० मिनेटमा उठिसक्नुपर्छ। त्यसपछि त ऊ माउसँग हिँड्न थालिहाल्छ। तर उमेर नपुगेका, अपरिपक्कले प्रजनन् गरे भने बच्चा पनि त्यस्तै जन्मिन सक्छ।
‘त्यसैले समूहको नेतृत्व गर्ने हात्तीले बलियो, राम्रो जिन स्थानान्तरण गर्नसक्ने खालको भालेलाई मात्र अवसर दिन्छिन्। तर समूहमा ८ देखि २० वर्षमा वयस्क भाले धेरै छन् भने उनीहरूका बीचमा प्रजननका लागि झगडा पर्छ। त्यो अवस्थामा उरेन्ठेउला हात्ती समूहबाट निस्कन्छन् वा निकालिन्छन्। अनुशासित भएर एसमेन नहुनेले समूहमा कुनै अवसर पाउँदैन,’ राम भन्छन्।
हात्तीलाई ‘इटिङ मेसिन’ पनि भन्ने गरिन्छ। ऊ दिनमा १८ देखि २० घण्टासम्म खाइरहन्छ। एउटा वयस्क हात्तीलाई दिनमा १५० दखि २०० केजी खाना र त्यति नै पानीको आवश्यकता पर्छ। ठूलो संख्यामा रहेको हात्तीको परिवारले चरिचरनका लागि ८–१० वटाको दरले समूह विभाजन गर्छन्। अनि भेट हुने ठाउँ पनि तय गर्छन्।
‘एक ठाउँबाट छुट्टिएर अघाएपछि अर्को ठाउँमा भेट्ने रहेछन्। अध्ययनको क्रममा मैले ठूलो समूहलाई पच्छाउँदा आफैले यो देखेको छु,’ राम भन्छन्, ‘कस्तो अजिवको अनुशासन। कस्तो राम्रो व्यवस्थापन हुने रहेछ।’
हात्तीको समूहले कहिलेकाहीँ खानाको खोजीमा पनि लामो दूरीको यात्रा तय गर्छ। यात्राको क्रममा खानाको विषयमा, प्रजनन्को विषयमा लडाइँ पर्छ। त्यतिखेर अटेरी गर्नेहरूलाई समूहले निकालिदिन्छन्। कुनै हात्ती समूहमा बस्न नसकेर आफै भाग्न पनि सक्छन्।
समूहबाट अलग भएकाहरू पनि एक्लै वा आफूजस्तै गरी समूहबाट अलग्गिएका साथीसँग मिलेर लामो यात्रा गर्छन्। त्यसो गर्दा उनीहरूलाई पुर्खाले हिँडेको बाटो हिँड्ने, खानाको नयाँ स्रोत प्राप्त गर्ने र प्रजनन्को लागि नयाँ साथी फेला पार्ने अवसर हुन्छ।
अहिले चितवनको जंगलमा एक्लै–एक्लै हिँड्ने रोनाल्डो, ध्रुबे र गोबिन्दे त्यसैगरी समूहबाट निस्कासनमा परेर कतैबाट चितवन आइपुगेको हुनसक्ने अनुमान राम गर्छन्।
‘मकुना पनि पनि त्यसरी नै यहाँसम्म आइपुगेको थियो,’ उनले भने। अध्ययनले पूर्वका हात्ती चितवन आइपुग्ने मात्रै होइन चितवनका हात्ती पूर्वसम्म पुग्ने गरेको पनि देखाएको राम बताउँछन्।
पूर्वबाट आएका हात्तीहरु चितवन–पर्सा कम्प्लेक्ससम्म आउने जाने गरिरहेता पनि नवलपरासी कटेर पश्चिमतिर जान भने सकेका छैनन्। नारायणी नदी, गण्डक ब्यारेजका कारण नवलपरासी, रूपन्देही हुँदै पश्चिम जान उनीहरूलाई समस्या हुने गरेको छ। तर बाल्मिकी आश्रम क्षेत्रमा हात्तीहरू पुगिराखेकाले त्यहाँबाट भारतको बाटो हुँदै सोएल्भा वाइल्डलाइभ सेन्चुरीसम्म पुग्यो भने दाङ हुँदै बर्दिया, बाँके हुँदै शुक्लाफाँटासम्म पुग्न सक्छन्। कपिलबस्तुको पश्चिमी सिमाना गुगौलीसम्म अहिले पनि पश्चिम नेपालका हात्तीहरू आउने गरेका छन्। विगतमा आसामका हात्ती नेपालको मेचीबाट पसेर चितवन, बर्दिया हुँदै कञ्चनवुर कटेर भारतको कार्बेट नेसनल पार्कसम्म पुग्ने गरेको इतिहास रहेको रामले सुनाए।
लामो समयदेखि वन्यजन्तुको विषयमा अध्ययन गर्दै आएका ददि सापकोटा (पन्छी जगत, वनको वैभव, जीवगाथालगायतका पुस्तकका लेखक) काअनुसार विगतमा भारतको कजिरंगा निकुञ्जदेखि निस्किएको हात्तीको बथान सुदूरपश्चिम नेपालको शुक्लाफाँटा निकुञ्जसम्म पुग्थे। यसको मख्य कारण आहाराकै खोजी हुनसक्ने उनी बताउँछन्।
‘हात्तीहरू कजिरंगाबाट चर्दैचर्दै नेपाल छिर्थे। कोशी नदीमा पसेपछि उनीहरु नुहाउँथे, रमाइलो गर्थे, आराम गर्थे, केही दिन त्यहीँ भुल्थे। अनि बल्ल जंगलतर्फ पस्थे। उनीहरु जंगलैजंगल शुक्लाफाँटासम्म पुग्थे,’ सापकोटा भन्छन्, ‘हात्तीसँग पुर्खाले हिँडेको बाटो नबिराइकन हिँड्ने क्षमता हुन्छ।’
अचेल पहिले जसरी हात्तीको ठूलो वथानले यो रुटमा यात्रा गर्न छाडेका छन्। ठाउँ–ठाउँमा जंगल मासेर बनेका ठूला सहरहरु उनीहरुको यात्रामा बाधक बनेका छन्। मान्छेहरुलाई छल्दै भाग्दै अघि बढ्दा कहिलकाहीँ द्वन्द्व हुने गरेको सापकोटा बताउँछन्।
‘मानौं जंगली हात्तीले चितवनमा आएर बच्चा जन्मायो। माउले छोड्यो, ऊ यहीँ हुर्कियो भने पनि हजुरआमाले हिँडेको बाटो कतै नबिराइकन पत्ता लगाउने क्षमता उसँग भएको अनुसन्धानले नै पुष्टि गरिसकेको छ। त्यो उसको पुर्खाले हजारौं वर्षदेखि हिँडेको बाटो हो। त्यसैले उसको त बसाइसर्ने अर्को बाटो नै छैन। अरु ठाउँमा झन् ठूला सहर बनेका छन्,’ उनी भन्छन्, ‘मान्छेले उसको बाटोमा घर बनाउने, हात्ती आयो भनेर धपाउने, उसले बल प्रयोग ग¥यो भने हाम्रो ठाउँमा यस्तो गर्यो भन्न मिल्छ त?’
सापकोटा वन्यजन्तुको परम्परागत बासस्थान नमासिएको भए मान्छेसँगको द्वन्द्व ०.१ प्रतिशत पनि नहुने दाबी गर्छन्।
सिराहाको तनुवापट्टी भन्ने ठाउँमा जन्मिएका चितवन निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रामप्रित यादव पूर्वबाट आएका हात्तीहरु आफ्नो गाउँ हुँदै सिन्धुली, मकवानपुर, पर्सा, चितवन भएर सुदूरपश्चिमसम्मै पुग्ने गरेको बताउँछन्।
‘तर पहिले उनीहरू हिँड्ने गरेको ठाउँ अहिले जंगल छैन। जंगल मासेर सहर बनेको छ। अहिले पनि जंगली हात्ती पुर्खाको बाटो पच्छाउँदै यहीँबाट आवतजावत गर्छन्। जोखिम मोलेर अघि बढ्छन्,’ उनले भने, ‘मकुना पनि त्यस्तै जोखिम मोलेर चितवनसम्म आइपुगेको थियो।’