चितवन राष्ट्रिय निकुञ्जले पाटे बाघ मार्ने उद्योगमा पक्राउ परेका एक युवकविरूद्ध जिल्ला अदालत नवलपुरमा मुद्दा दर्ता गरेको छ।
नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) को विनय त्रिवेणी गाउँपालिका-१ बस्ने २० वर्षीय अमृत न्यौपानेलाई निकुञ्जको मध्यवर्ती वन क्षेत्रमा संरक्षित वन्यजन्तु बाघ मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको हो।
विनय त्रिवेणी-१ स्थित तीनचुली मध्यवर्ती सामुदायिक वनको लक्ष्मी डाँडा भन्ने ठाउँमा गत कात्तिक २ गत बाघको आक्रमणबाट ६७ वर्षीय जितबहादुर थिङको मृत्यु भएको थियो।
उक्त दिन बिहान साढे ११ बजेतिर निकुञ्ज कार्यालयका कर्मचारी र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरख गणको बगुवन सुरक्षा पोस्टको संयुक्त गस्ती टोलीले उक्त क्षेत्रबाट बाघको रौं टाँसिएका तारहरू फेला पारेको थियो।
सो घटनाको विषयमा अनुसन्धान गर्दै जाँदा मृत जितबहादुरले न्यौपानेको सहयोग लिएर बाघलाई पासो थापेको खुलेको चितवन निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत गणेश पन्तले जानकारी दिए।
पन्तका अनुसार लक्ष्मी डाँडा क्षेत्रमा सवारी साधनमा प्रयोग हुने ब्रेकको तार, केबल लाइनमा प्रयोग हुने तार फेला परेको थियो। तीमध्ये एउटा तारमा रौं पनि भेटिएपछि निकुञ्जले रौंका नमूनाको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा डिएनए जाँच गराएको थियो। परीक्षणमा ती रौं पाटेबाघको भएको र रौंको प्रकृति, भौतिक मापन नतिजासमेतको आधारमा उक्त तार पासो हुनसक्ने, बाघले पासोबाट फुत्किने क्रममा अत्यधिक संघर्ष गर्दा घाँटीको माथिल्लो र तल्लो भागको रौं टाँसिएको हुनसक्ने देखिएको पन्तले बताए।
त्यसपछि निकुञ्जका कर्मचारी र सेनाको टोलीले विशेष सुराकीको आधारमा कात्तिक २९ गते अमृत न्यौपानेलाई पक्राउ गरेको थियो।
'त्यो क्षेत्रमा बाघले एउटा बाख्रा मारेको रहेछ। जुन ठाउँमा बाख्रा मारेको थियो, त्यही ठाउँमा पासो थापिएको देखिन्छ। बाख्रा मारेको प्रतिशोधमा वा अरू चौपाया पनि मार्न सक्ने भयले स्थानीयले बाघलाई पासो थापेर मारेका हुन् कि भन्ने हामीलाई लागेको थियो। तर अनुसन्धान गर्दै जाँदा अखेटोपहार बिक्री गर्ने उद्देश्यले बाघ मार्ने प्रयास गरिएको जस्तो देखिन्छ,' यो घटनामा अनुसन्धान अधिकृत रहेकी निकुञ्जकी संरक्षण अधिकृत सुजिता श्रेष्ठले भनिन्।
अनुसन्धान क्रममा जितबहादुर यसअघि संरक्षित वन्यजन्तु सम्बन्धी अपराधमै सात वर्ष बढी कैद सजाय पाएर छुटेको भेटिएको थियो।
अनुसन्धान अधिकृत श्रेष्ठले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अमृतले प्रयोग गरेको मोबाइलको कल डिटेलसहितको डिजिटल परीक्षण गर्दा पासोमा परेको बाघको फोटो भेटिएपछि उनको संलग्नता पुष्टि भएको बताइन्।
उनका अनुसार अमृतले बाघलाई पासो थाप्न जितबहादुरलाई सहयोग गरेको बयान दिएका छन्। जितबहादुरले कुन उद्देश्यले बाघलाई पासो थापेको हो, त्यो भने आफूलाई थाहा नभएको बयान उनले दिएका छन्।
'पासोमा परेको बाघको नजिक पुग्दा बाघ पासोबाट फुत्किएछ। अमृत रूखमा चढेर बचेछन्। जितबहादुर रूखमा चढ्न भ्याएनछन्। बाघले खाइहालेछ,' अमृतले बयानमा भनेको श्रेष्ठले सुनाइन्।
वरिष्ठ संरक्षण अधिकृत पन्तले मुख्य योजनाकारको मृत्यु भएको र पक्राउ परेका व्यक्तिले कुन उद्देश्यले बाघलाई पासो थापिएको हो भन्ने थाहा नभएको बयान दिएकाले यही उद्देश्य हो भनेर भन्न नसकिएको बताए।
'तर मृत जितबहादुरले पहिले पनि संरक्षित वन्यजन्तु सम्बन्धी अपराध गरेको प्रमाणित भइसकेका कारण यो घटना पनि अखेटोपहार बिक्री गर्ने उद्देश्यले भएको हुन सक्ने आशंका बढी गर्न सकिन्छ,' उनले भने।
मध्यवर्ती क्षेत्र आसपासका बासिन्दाले पशु-चौपाया मारेको प्रतिशोध साँधेर बाघ लगायत वन्यजन्तुलाई निशाना बनाउने गरेका घटना पनि विभिन्न ठाउँहरूमा देखिएको पन्त बताउँछन्।
'बाघलाई पासोमा पारेको आशंकापछि हामीले आसपासका क्षेत्रमा खोजी गरेका थियौं। बाघ नियन्त्रणमा लिएर अवस्था बुझ्ने प्रयास गरियो तर भेटिएन। पासोबाट फुत्किएपछि बाघ अर्को क्षेत्रमा गएको अनुमान गरेका छौं,' पन्तले भने।
निकुञ्जका संरक्षण अधिकृत अविनाश थापा मगरले अमृतलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ को उपदफा ५ (घ) बमोजिमको कसुर गरेकाले सोही ऐनको दफा २६ को उपदफा १ बमोजिम सजाय माग गरिएको बताए। संरक्षित वन्यजन्तु मार्ने उद्योगमा १० देखि १५ वर्ष कैद, ५ देखि १० लाख रूपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।