दाङको तुलसीपुर उपमहानगरपालिका-१९ नम्बर वडा कार्यालयले केही दिनमा आफ्नै भवनबाट सेवा दिने तयारी गरेको छ।
तुलसीपुरका १९ मध्ये १८ वटा वडाको आफ्नै भवन भएपनि १९ नम्बर वडा कार्यालय भाडाको भवनबाट सञ्चालन हुँदै आएको थियो। वडाध्यक्ष प्रेमनाथ योगीले वडा कार्यालयका लागि भाडामा लिइएको भवनको मासिक १३ हजार भाडा तिर्दै आएको बताए।
तुलसीपुरको तोप्पापानीमा निर्माण भइरहेको वडा कार्यालय मंसिर २२ गतेदेखि सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए। अहिले प्राङ्गण सम्याउने र पर्खाल निर्माणको काम भइ रहेको बताए ।
तुलसीपुरका नगरप्रमुख टीकाराम खड्काले वडा कार्यालयको भवन निर्माण द्रूत गतिमा अगाडि बढेको बताए।
‘वडा कार्यालयहरुले पनि आफ्नै भवनबाट सेवा प्रवाह गर्नुपर्छ र भाडाको झन्झडबाट पालिकालाई मुक्त बनाउनुपर्छ भनेरै वडा भवन निर्माणको काम भएको हो,' उनले भने।
वडा कार्यालयहरु , स्वास्थ्य चौकी, कृषी ,पशु शाखालगायत पालिका अन्तर्गतका सबै संघ संस्था आफ्नै भवनबाट सेवा दिने गरी काम भइ रहेको र त्यो करिब अन्तिम चरणमा पुगेको मेयर खड्काले बताए ।
भाडामा तिर्नु पर्ने पैसा जोगिने र नगरको आफ्नो जग्गाको संरक्षणसमेत हुने उनले बताए।
भाडाबाटै सञ्चालन हुँदै आएका कृषी र पशु शाखाहरुले समेत आफ्नै भवनबाट सेवा सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले बताए। अब तुलसीपुरका सबै शाखा, स्वास्थ्य संस्थाहरु क्रमशः आफ्नै भवनबाट सेवा दिन सुरु गरिएको उनले बताए । कृषी शाखाले यसअघि मासिक ३३ हजार भाडा तिर्दै आएको थियो ।
कृषी शाखाका प्रमुख धनराज गौतमले मंसिरदेखि दोघरेमा आफ्नै भवनबाट सेवा सुरु गर्दा धेरै सजिलो अनुभूति भएको बताए ।
तुलसीपुरको स्वास्थ्य संस्थापनि अब छिट्टै भाडा मुक्त बन्ने प्रक्रियामा छ । हाल वडा नम्बर ५ र ६ बाहेकका सम्पूर्ण स्वास्थ्य संस्थाहरू आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको स्वास्थ्य शाखाका प्रमुख ओमप्रकाश न्यौपानले जानकारी दिए । निकट भविश्यमा उनीहरुलाई पनि सकभर आफ्नै भवनवाट सेवा दिने गरी काम हुने जानकारी दिए।