कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले कोशीको आमसञ्चार विधेयकमा देखिएको समस्याको समाधान खोज्न नेपाली कांग्रेस तयार रहेको बताएका छन्।
कांग्रे नेता कार्कीले पत्रकारिता क्षेत्र नियन्त्रण गर्ने वा कुण्ठित बनाउने कुनै पनि कानुन आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताएका हुन्।
कोशी आमसञ्चार विधेयकका सम्बन्धमा उठेका विवाद र सञ्चार क्षेत्रको मागप्रति कांग्रेस गम्भीर रहेको उल्लेख गर्दै नेता कार्कीले पत्रकारहरूसँगको छलफल र संवादबाटै समस्याको समाधान खोजिने बताएका हुन्।
सरोकारवाला पक्षको माग सम्बोधन गरेर मात्र विधेयक अघि बढाइने उनले बताएका छन्।
'कांग्रेस सधैं प्रेस स्वतन्त्रताको पक्षमा छ। पत्रकारितालाई बाँध्ने र कुण्ठित गर्ने सोचमा हाम्रो पार्टीमा कुनै दुबिधा छैन,' कार्कीले सामाजिक सन्जालमा लेखेका छन्, 'कोशी सञ्चार विधेयकबारे उठेका मतभेद र सञ्चार क्षेत्रको मागप्रति हामी गम्भीर छौं।'
उनले समस्या समाधानका लागि नेपाली कांग्रेसको ढोका सधैं खुला रहेको र जति धेरै संवाद भयो, उति नै राम्रो निष्कर्षमा पुग्न सकिने विश्वास व्यक्त गरे।
'श्रमजीवी पत्रकारहरूको श्रम नै खोसिने गरी कानुन बन्नु हुँदैन भन्नेमा हामी प्रस्ट छौं,' कार्कीले थपे, 'अप्ठ्यारो हुने गरी कानुन नबनाइनेमा सम्पूर्ण सञ्चार जगतलाई म विश्वास दिलाउन चाहन्छु।'
उनले विधेयकमा रहेका कतिपय विषयलाई सच्याउँदै जाने प्रतिबद्धता पनि जनाएका छन्।
कोशीमा समाचार प्रसारणपूर्व नै रोक लगाउने गरी, सञ्चार संस्थामा राजनीतिक नियुक्ति लिएर आउनेहरूमार्फत नियन्त्रण र दण्डित गर्ने गरी विधेयक पारित हुने तयारीमा छ।
कांग्रेस सत्ता साझेदार रहेको कोशीका सत्तारूढ सांसदहरू मुख्यमन्त्री हिक्मत कार्की र कांग्रेस नेता उद्धाव थापाको सहमतिमा यस्तो कानुन आउन लागेको बताउँछन्। थापा कांग्रेसमा कृष्णप्रसाद सिटौला पक्षका हुन् भने पूर्वमुख्यमन्त्री कार्की शेखर कोइराला पक्षका हुन्।