विभिन्न व्यक्तिहरूलाई अमेरिका पठाइदिने भन्दै झन्डै ९० लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
बबई गाउँपालिका–६ पञ्चकुलेका ३८ वर्षीय मोहनलाल बुढाथोकी पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीका अनुसार बुढाथोकीलाई विभिन्न व्यक्तिको उजुरीपछि मंसिर ३ गते पक्राउ गरिएको थियो।
तुलसीपुरका तीन जना व्यक्तिले आफूहरूलाई अमेरिका पठाइदिने भन्दै बुढाथोकीले ४५ लाख, २२ लाख र २० लाख ठगी गरेको जाहेरी दिएको हुँदा पक्राउ गर्नु परेको डिएसपी ठकुरीले बताए।
प्रहरी स्रोतका अनुसार विगत दुई हप्तादेखि प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेका बुढाथोकीमाथि अन्य विभिन्न व्यक्तिहरूले पनि ठगीको आरोप लगाएका छन्।
‘अमेरिका पठाइदिने भन्दै लगभग ३२ करोड जति ठगी गरेको भन्ने खबरहरू आएका छन्,’ एक प्रहरी अधिकारीले भने, ‘बुढाथोकी पक्राउ परेको खबरपछि प्रहरीमा फोन गरी आफू पनि ठगिएको भन्नेहरू बढ्दै गएका छन्।’
बुढाथोकीमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ। कात्तिक २ गते यिनै बुढाथोकीलाई एक समूहले बन्धक बनाई प्युठान पुर्याएको थियो।
तल्लो बाटो (अवैध मार्ग) बाट अमेरिका पठाइदिने भन्दै प्युठानका विभिन्न व्यक्तिको रकम ठगी गरिएका कारण त्यतिखेर पनि उनलाई एक जना पूर्व अध्यक्षसहितको समूहले दाङको अमेलियाबाट बन्धक बनाई प्युठान पुर्याएको थियो।
उनीसँगै बन्धक बनाइएका अर्का व्यक्तिलाई उक्त समूहले भालुवाङमै छोडेर गएको हुँदा उनकै सूचनाका आधारमा पुगेको प्रहरीले मध्यराति बुढाथोकीलाई उद्धार गरी बन्धक बनाउने समूहसहित जिल्ला ल्याएको थियो। तर, बुढाथोकी र उनका परिवारका सदस्य कसैले पनि बन्धक बनाउने समूहका विरूद्ध उजुरी दिन नमाने पछि सबै छुटेका थिए।