जिल्ला प्रहरी परिसर काठमाडौंले अहिले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको अनुसन्धान गरिरहेको छ।
प्रहरीले स्वर्णलक्ष्मीमा जोडिएका कुमार रम्तेललाई कास्कीबाट काठमाडौं ल्याएर बयान लिएर पुन: पोखरा लगेको छ।
अब पूर्वडिआइजी छविलाल जोशीलाई पनि कास्कीबाट काठमाडौं ल्याउने तयारी प्रहरीको छ। त्यसपछि मात्रै रवि लामिछानेलाई काठमाडौं ल्याइने प्रहरीको भनाइ छ।
गत आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले जोशी र लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
सरकारी वकिलको कार्यालय काठमाडौंमा आइतबार रम्तेलको बयान लिइएको थियो। कार्यालय स्रोतका अनुसार बिहान साढे १० बजेदेखि करिब पौने ४ बजेसम्म उनको बयान भएको थियो।
उनले स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा भने इन्कारी बयान दिएका छन्।
‘उनले गोर्खा मिडिया समस्या परेको भन्ने थाहा पाएर पनि जिबी राईको सहयोगको लागि बसेको भनेर बयान दिएका छन्। जिबी पुरानै साथी हुन्, दु:ख परेका बेलामा साथी भएकाले सदस्यका रूपमा बसेको भनेर भनेका छन्,’ स्रोतले भन्यो, ‘स्वर्णलक्ष्मीको रकम अपचलनमा आफ्नो संलग्नता नरहेको उनको दाबी रह्यो।’
बयान सकेर उनलाई पोखरा पठाइसकेको छ।
प्रहरीको उच्च स्रोतका अनुसार अब पूर्वडिआइजी जोशीलाई काठमाडौं ल्याउने तयारी छ। उनलाई बिहीबारसम्म काठमाडौं ल्याउने प्रहरीको तयारी छ।
‘छविलाल जोशीलाई बिहीबारसम्म काठमाडौं ल्याउने तयारी छ। त्यसपछि रवि लामिछानेलाई ल्याउने तयारी छ,’ स्रोतले भन्यो।
जोशी र लामिछानेविरूद्ध सहकारी रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ।
उनीहरू दुवैलाई बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलनमा बयानका लागि रूपन्देही लगिएको थियो। त्यहाँ बयान सकेर उनीहरूलाई पोखराकै हिरासतमा राखिएको छ।
स्वर्णलक्ष्मी सहकारीमा दुई अर्ब ७४ करोड रुपैयाँ अपचलन भएको पीडितहरूको दाबी छ।
जिबी राई र रवि लामिछानेका नाममा २०७८ पुस १ मा ‘इको सेभेन सिटर भ्यान’ किन्न भन्दै ४६ लाख ८८ हजार लगेको खुलेको छ। भ्यान किन्न भनेर लगेको कर्जामध्ये २९ लाख ५२ हजार ४ सय ३६ रुपैयाँ तिर्न बाँकी देखिएको छ।
२०७८ साउन ४ मा पनि सोही सहकारीबाट गोर्खा मिडिया अध्यक्ष राई र प्रबन्ध निर्देशक लामिछानेले ‘फोर ह्विलर’ गाडी किन्न ४६ लाख ९८ हजार कर्जा लगेको देखिएको छ।
गाडी किन्दा लिएको ऋणमध्ये ३२ लाख २१ हजार ६ सय ३३ रुपैयाँ ५१ पैसा तिर्न बाँकी देखिन्छ।
यो पनि: सहकारी ठगी प्रकरण: काठमाडौं जिल्ला अदालतबाट रवि लामिछाने र छविलालविरूद्ध पक्राउ पुर्जी