रेमिटेन्स ल्याउनेको कथा
सुन्दर भविष्यका लागि ऊर्जाशील वर्तमान साट्न वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या ठूलो छ। वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकअनुसार दैनिक दुई हजार हाराहारी युवा कामको खोजीमा परदेश पुगिरहेका छन्। अहिलेसम्म ४० लाखभन्दा धेरै वैदेशिक रोजगारीमा गएको श्रम मन्त्रालयको अनुमान छ। तिनमा बाध्य भएर बिदेसिनुपर्ने नियति धेरैको छ। उनीहरूकै जीवनको उतारचढाव र परदेशको अनुभव हामी यो शृंखलामा प्रकाशन गर्नेछौं। आजको अंकमा १७ वर्षदेखि साउदीमा काम गरिरहेकी प्रनिशा अधिकारीको कथा —
झन्डै दुई दशकअघिको घटना हो। अघिल्लो दिनसम्म 'ठिकै छु' भनेका लमजुङका एक पुरूष भोलिपल्ट सुतेकै ठाउँमा मृत भेटिए। धन कमाउन मलेसिया गएका उनी रित्तो बाकसमा फर्किए।
अन्तिम संस्कार सकियो। लगत्तै उनकी कान्छी श्रीमती माइत हानिइन्। घरमा जेठी श्रीमती प्रनिशा अधिकारी, साना छोराहरू र वृद्ध आमाबा मात्र भए।
त्यसयता दिनहुँजसो दैलो ढकढक्याउन साहु आउन थाले। मलेसिया जाँदा ती पुरूषले सयकडा तीन प्रतिशत ब्याजमा ऋण लिएका थिए। उनी उतै बितेपछि साहुले 'कहिले तिर्छौ? कसरी तिर्छौ?' भनेर प्रश्न तेर्स्याइरहन्थे। घरजग्गा बेचेर भए पनि मिलाउनुपर्छ भन्दै कर गर्न थाले।
उजाडिएको घरमा दिनहरू अझ अँध्यारा र अमिला भए!
हुन त श्रीमान हुँदा पनि उनको कमाइको भर प्रनिशालाई थिएन। उनी कमाइ जति जम्मै कान्छी श्रीमतीलाई पठाउँथे।
श्रीमान बितेपछि ऋणको बोझ भने प्रनिशामाथि थुप्रियो।
'बूढाले दोस्रो बिहे गर्नुअघि नयाँ घर बनाएका थियौं। त्यसको ऋण पनि बाँकी थियो। अर्की बिहे गर्दा खाएको, डुलेको, घुमेको सबै गर्दा लगभग चार लाख ऋण थियो। छोराहरू सानै थिए। आमाबाको उमेर पाक्दै थियो। भएको घरजग्गा साहुलाई दिएर कहाँ बस्ने? के खाने? अनि मैले पनि विदेश जाने निधो गरेँ,' प्रनिशाले भनिन्।
'त्यति बेला विदेश गएका महिलाबारे खासै राम्रो कुरो सुनिन्थेन। कतिपयले त विदेश गएपछि त्यहाँका पुरूषसँग शारीरिक सम्पर्क राख्नुपर्छ भन्ने पनि सुनाउँथे। तर बाध्यतामा जस्तो जोखिम पनि मोलिँदो रहेछ। विदेशमा त्यस्तो घटना भए बरू म कहिल्यै नेपाल फर्किन्न, तर आफ्नो जिम्मेवारी पूरा गर्न जस्तै घटना भोग्नुपरे पनि जान्छु भन्ने सोचेर आएँ,' प्रनिशाले हामीसँगको भिडिओ कुराकानीमा भनिन्, 'तर नेपालमा जुन हल्ला सुनिन्छ नि, यहाँ त्यस्तो केही नहुने रहेछ। छोरा मान्छेसँग त्यस्तो सम्बन्धको त के कुरा, अनुहार नै देखाउनु पर्दैन रहेछ।'
प्रनिशा घरेलु कामदारका रूपमा साउदी अरब गएको १७ वर्ष भयो। उनी सन् २००७ मा त्यहाँ गएकी हुन्।
परदेसिँदा उनी २३ वर्षकी थिइन्। १४ वर्ष उमेरमा बिहे गरेकी उनका ठूला छोरा साढे ७ वर्ष र कान्छा छोरा साढे ६ वर्षका थिए। बाध्यतासामु हार खाँदै उनले काखेछोरा छाडेर उड्ने हिम्मत कसिन्।
'जन्माएर मात्र आमा नहुने रहेछ नि त, हुर्काउनुपर्यो, खानलाउन दिनुपर्यो, खुट्टा टेक्ने बनाउनुपर्यो। अहिलेसम्म जे-जति गरेँ, छोराहरूकै लागि गरेँ,' विगततर्फ बहकिँदै प्रनिशाले भनिन्, 'आमा भएपछि हर परिस्थितिमा लड्ने सकिने रैछ। जस्तोसुकै दुःखपीडा भोग्न सकिने रैछ। आमा भएकै कारण यत्रो हिम्मत गरेर म साउदी आएँ।'
'आफ्नो देश छाडेर परदेश पुगेपछिको भोगाइ कस्तो रह्यो?' हामीले प्रनिशालाई सोध्यौं।
उनले त्यहाँको विमानस्थलमा ओर्लिएदेखिको घटना विस्तार लगाइन्।
पहिलोपटक अर्काको माटो टेकेकी प्रनिशाको मुटुमा डरै डरको ढ्यांग्रो बजिरहेको थियो। उनलाई विमानस्थलबाट सोझै एउटा कार्यालयमा लगियो। त्यहाँ लगेर प्रतीक्षा कक्षमा राखियो। उक्त कक्षमा कामदार खोज्दै रोजगारदाताहरू आउने रहेछन्। हेर्दा ठिकठाक लाग्यो भने छान्दा रहेछन्।
'केही बेर बसेपछि कार्यालयका मान्छेले तिमीलाई लिन 'कपिल' (साहु) आएको छ भने। तिम्रो कपिल यो हो है भनेर पनि चिनाइदिए। अनि त्यहाँबाट म कपिलको घर पुगेँ,' उनले सुनाउँदै गइन्।
कहिल्यै नसुनेको भाषा। सुरू सुरूमा एक शब्द बुझ्दिन थिइन्। उनीहरूले राम्रै बोलेका हुँदा हुन्, तैपनि प्रनिशालाई गाली गरेजस्तो लाग्थ्यो। लगभग तीन-चार महिनापछि बल्ल सहज मान्न थालिन्। बिस्तारै दैनिक बोलीचालीमा प्रयोग हुने भाषा बुझ्न र बोल्न सक्ने भइन्।
प्रनिशाले त्यो घरमा घरधन्दा र साना केटाकेटी हेर्ने काम गर्नुपर्थ्यो। ती केटाकेटी रूँदा उनलाई आफ्ना काखे छोराछोरीको यादले खुब निमोठ्थ्यो। मुटु चसक्क बिझ्थ्यो। जबर्जस्ती चित्त बुझाउँथिन्। र, आफ्नै छोराछोरी सम्झेर हेरचाह गर्थिन्।
'आफ्नै केटाकेटी हेर्न जतिको सजिलो चाहिँ थिएन। असाध्यै गाह्रो थियो। जुनसुकै बेला रोइरहने। केही कारण बच्चाहरू बिरामी परे भने साहुको गाली खानुपर्ने,' उनले भनिन्, 'काममा खुब पेलान हुन्थ्यो। तर म काम गरेरै कमाउन गएको थिएँ। त्यसैले जतिसुकै खट्न परे पनि कुनै गुनासो रहेन।'
बच्चा हेर्दा कहिलेकाहीँ साहुको गाली खानुपरे पनि अरू नराम्रो घटना बेहोर्नु नपरेको उनी बताउँछिन्। त्यो गालीलाई उनले कहिल्यै मनमा लिइनन्। भन्छिन्, 'बच्चा हेर्न पैसा तिरी तिरी मान्छे राखेको छ, अनि बच्चा लड्दावर्दा कराउनु त स्वाभाविकै हो। त्यस्तो बेला हामी आफ्नै दाजुभाइ, दिदीबहिनीलाई त कराउँछौं! उनीहरू कराए भन्दैमा नकारात्मक तरिकाले लिनु हुँदैन।'
प्रनिशाले त्यो घरमा ३ वर्ष ६ महिना काम गरिन्, अनि छुट्टी लिएर नेपाल फर्किइन्। फर्किँदा उनको बोलीमा अरबी लवज मिसिन थालिसकेको थियो।
केही समय नेपाल बसेपछि उनी फेरि साउदी गइन्। उनलाई पुराना साहु-साहुनीले फर्केर आफूकहीँ काम गर्न भनेका थिए। तर प्रनिशालाई त्यहाँ काम गर्न मन लागेन। उनले त्यसको कारण पनि सुनाइन्।
'दुर्भाग्यवश बच्चाहरू लडेर केही भइहाल्यो भने मृत्युदण्ड दिइन्छ भन्ने सुनेको थिएँ। त्यही भएर बच्चा भएको ठाउँमा जान मन लागेन,' उनले भनिन्।
प्रनिशा दोस्रोपटक पनि घरायसी कामदारकै रूपमा साउदी गएकी थिइन्, तर केटाकेटी नभएको घरमा।
उनी अहिले पनि त्यही घरमा काम गरिरहेकी छन्। साउदीको हायलस्थित माथाब भन्ने ठाउँमा रहेको यो घरमा प्रनिशाले काम गर्न थालेको दशक नाघिसक्यो। हामीसँग पहिलोपटक कुरा गर्दा उनी घ्यूको बट्टा ओसार्दै थिइन्।
'एकछिन है मिस, यहाँ साहुनी बूढीमाउले कहिले के माग्छन्, कहिले के,' मोबाइल स्क्रिनमा घ्यूको बट्टा देखाउँदै उनले भनिन्, 'मागेपछि लग्न परिहाल्यो।'
उनका अनुसार अहिले काम गर्ने घरमा खाना पकाउने, सरसफाइ गर्ने लगायत काम गर्नुपर्छ। घरमा दिनभरि प्राय: साहुनी र उनी मात्रै हुन्छन्। साहुनीका लागि खाना-नास्ता र चिया बनाउने काम गर्छिन्। बूढीआमाले 'खान्छु' भनेपछि खाना बनाउनुपर्छ। कहिलेकाहीँ साहुनीका छोराबुहारी पनि भेला हुन्छन्। आफन्त र नातागोता सबै जम्मा हुँदा अलि धेरैलाई खाना बनाउनुपर्छ।
यसबाहेक आफन्तहरूकहाँ केही कार्यक्रम हुँदा साहुनीलाई लिएर जाने र बजारमा किनमेल गर्ने पनि प्रनिशाकै जिम्मेवारीमा पर्छन्। अहिले उनले गाडी चलाउन पनि सिकिरहेकी छन्।
'यो घर त मलाई आफ्नैजस्तो लाग्न थालेको छ। साहुनी पनि आफ्नै आमाजस्तै लाग्छ,' उनले भनिन्, 'उहाँले पनि मलाई आफ्नै छोरीजस्तो मान्नुहुन्छ। उहाँका छोराबुहारीले पनि दिदीबहिनीजस्तो व्यवहार गर्छन्।'
कमाइ कस्तो छ त?
जबाफमा प्रनिशाले भनिन्, 'पैसाभन्दा यो परिवारबाट पाएको माया, इज्जत र सम्मान ठूलो कुरा हो। पैसाको कुरा चाहिँ अहिले नगरौं। जे होस्, ठिकै छ।'
एकछिन अडिएर उनले थपिन्, 'पैसा नै ठूलो कुरा होइन भनौं भने पैसाकै लागि काखे बच्चा छाडेर परदेश आइयो। १७ वर्षमा लगभग करोड त कमाएँ होला, जम्मा गर्न पो सकिएन!'
सुरूमा साउदी जाँदा उनको तलब महिनाको पाँच सय रियाल थियो। अहिले बढेको छ। तर यतिका वर्ष घोटिँदा पनि ठिकठिकै मात्र भएको उनी बताउँछिन्। ठ्याक्कै खुलाउन भने चाहिनन्।
प्रनिशालाई साउदीको घरव्यवहार नेपालकै जस्तो लाग्छ। पहिला छोरामान्छेले खाना खाइसकेर उठेपछि बल्ल छोरीमान्छेले खान्छन्। छोरामान्छेले खाएकै थालमा छोरीमान्छेले खाने चलन छ। त्यही चलनका कारण कतिपय नेपालीले जुठो खानुपरेको गुनासो गर्ने उनले बताइन्। तर सही तरिकाले काम गर्ने हो भने अरू अप्ठ्यारो खासै नभएको उनको भनाइ छ।
अनि यो घरमा चाहिँ गाली खानुपर्दैन?
हाम्रो यो प्रश्नमा उनले भनिन्, 'गालीकै कुरा गर्ने हो भने नेपालमा पनि त एक दिन खेतालाले राम्ररी काम गरेन भने गाली गरिन्छ। यहाँ त चौबीसै घन्टा सँगै बस्ने हो। एउटै परिवारजस्तो भएर बस्दा कहिलेकाहीँ गाली खानुपरे पनि नराम्रो मान्नु हुँदैन भन्छु म त।'
पछिल्लो १७ वर्षमा प्रनिशा चारपटक नेपाल आइसकिन्। फेरि बिदाको समय नजिकिएको छ। बिदापछि फर्किएर साउदी नै जाने उनको सोच छ।
केही समयअघि उनले सधैंका लागि नेपाल आउने योजना बनाएकी थिइन्। अब छोराहरूसँगै समय बिताउन मन लागेको कुरा त्यहाँकी साहुनी आमासँग गरेकी थिइन्। तर उनले अहिले नै आफूलाई छाडेर नजाऊ भन्दै हत्ते हालिन्।
'मलाई पनि आफ्नै आमाजस्तो माया लाग्छ, छाडेर जान मनै मान्दैन,' प्रनिशाले भनिन्, 'अब नेपाल बस्ने गरी कहिले फर्किने भनेर सोच्नै सकेको छैन।'
'पहिले बच्चाहरू साना थिए। सासू-ससुरा पनि छोरा गुमाएको पीडामा हुँदा त्यहाँ मेरो खाँचो थियो। तर त्यतिखेर बाध्यताले विदेश आउनुपर्यो। अहिले त छोराहरू पनि हुर्किसके। सासू-ससुरा पनि पीडाबाट बाहिर निस्किसक्नुभयो। त्यसैले घरको खासै चिन्ता छैन,' उनले भनिन्।
विदेशमा काम गर्दागर्दै प्रनिशाले आफ्ना दुवै छोरालाई स्वावलम्बी बनाएकी छन्। उनको ठूलो छोरा लमजुङमा गाडी चलाउँछन्। गाडी किन्न प्रनिशाले नै १२ लाख रूपैयाँ लगानी गरिदिएकी थिइन्। कान्छो छोरा कोरियामा काम गर्छन्। घरमा सासू-ससुरा र बुहारी छन्। जेठाजु पनि उनीहरूसँगै बस्छन्।
'अहिले सबथोक राम्रो छ। मान्छेले दुःख गर्न सक्नुपर्छ, जस्तो परिस्थितिमा पनि लड्न सक्नुपर्छ। ढिलोचाँडो सफलता त आइहाल्छ,' उनले भनिन्।
प्रनिशाका रोजगारदाता पनि बुझ्ने छन्। देश फर्कन्छु भन्दा समय समयमा बिदा पनि दिन्छन्।
बरू नेपाल सरकारले घरेलु काममा जान प्रतिबन्ध लगाएपछि बिदा लिएर नेपाल आउन नपाएको उनले बताइन्। नेपाल फर्केपछि फेरि जान नपाइने हो कि भन्ने उनलाई डर छ।
घरेलु काम गर्ने सबै जना हिंसामा नपर्ने र आफ्नोजस्तो सहृदयी रोजगारदाता पनि थुप्रै भएकाले सरकारले प्रतिबन्ध खुला गर्नुपर्ने प्रनिशाको भनाइ छ।
सरकारले मलेसिया तथा खाडीका विभिन्न ६ मुलुकमा घरेलु काममा जान प्रतिबन्ध लगाएको छ। २०७३ चैतमा तत्कालीन संसदको अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिले जोखिम देखाउँदै त्यस्तो प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो। त्यसयता श्रम स्वीकृति लिएर मलेसिया तथा खाडी मुलुकमा घरेलु काम गर्न नेपालीहरू गएका छैनन्। तर भारत वा विभिन्न तेस्रो मुलुकको बाटो हुँदै अवैध तरिकाबाट गएका घटना बेलाबेला आइरहन्छन्। यस्ता घटना बढेसँगै अधिकारकर्मीहरूले प्रतिबन्ध फुकुवा गर्नुपर्ने आवाज उठाउन थालेका छन्।
'नेपालमा हल्ला अलि बढी नै हुन्छ के! अरब देशमा त छोरीमान्छे बलात्कारमा परिहाल्छन् कि जस्तो गरिन्छ। तर यहाँका मान्छे पनि अल्लाह मान्छन्। सबै मान्छे नराम्रा हुँदैनन्। नेपालमा पनि सबै मान्छे राम्रा कहाँ छन् र?' उनले भनिन्, 'सरकारले प्रतिबन्ध लगाए पनि लुकिछिपी घरेलु काममा जान रोकिएको छैन। बरू खुला गरिदिए अनावश्यक अप्ठ्यारो कम हुन्थ्यो।'
पछिल्लो समय संसदको श्रम समितिले सम्बन्धित गन्तव्य मुलुकसँग घरेलु श्रमिकको सुरक्षा र हकहित ग्यारेन्टी हुने गरी छुट्टै सम्झौता गरेर पठाउनुपर्ने निर्देशन दिइसकेको छ। तर सरकारले यी मुलुकमा घरेलु श्रमिकसम्बन्धी सम्झौता गर्न सकेको छैन।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले घरेलु काममा गएका श्रमिक बिदामा फर्कन असहज भइरहेकाले त्यहाँ काम गरिरहेकाहरूले गन्तव्य देशस्थित दूतावासबाटै श्रम स्वीकृति लिन सक्ने बताएका छन्। यसले बिदामा घर फर्कन सहज हुने उनले बताए। घरेलु काममा रहेका नेपालीहरूको आँकडा भने सरकारसँग छैन।
'नेपाल जाऊँ पैसाको समस्या छँदैछ। फर्केर काम गर्न आउनैपर्छ। फेरि नयाँ काम सोचेजस्तो नहोला, कपिल (साहुहरू) पनि अहिलेजस्तो सजिलो नपाइएला कि भन्ने चिन्ता छ। यही चिन्ताले छुट्टीमा घर जान पाएको छैन। सरकारले केही खुकुलो पारिदिए हुन्थ्यो,' प्रनिशाले भनिन्।
***
यो शृंखलाका थप स्टोरी:
(तपाईंहरू पनि वैदेशिक रोजगारमा जानुभएको छ र आफ्नो अनुभव बाँड्न चाहनुहुन्छ भने [email protected] मा हामीलाई इमेल गर्नुहोस्। हामी मेसेन्जर, भाइबर, ह्वाट्सएप वा तपाईंलाई अनुकूल हुने माध्यमबाट भिडिओ कुराकानी गरेर तपाईंको अन्तर्वार्ता लिनेछौं र यो शृंखलामा प्रकाशन गर्नेछौं। परदेशमा पसिना बगाउँदै देशमा रेमिटेन्स पठाउँदाको तपाईंको अनुभव सुन्नु र अरूलाई सुनाउनु हाम्रो उद्देश्य हो।)