बुद्ध जन्मस्थल लुम्बिनीको प्रमुख आकर्षण हो विश्व शान्ति स्तूप।
लुम्बिनी गुरूयोजनाको उत्तरी क्षेत्रमा रहेको उक्त स्तूप निकै मनमोहक र आकर्षक रहेको छ। उक्त स्तूपमा भगवान् बुद्धको पवित्र अस्तु धातु स्तूपको गर्भ र गजुरमा प्रतिस्थापित गरिएकाले पनि शान्तिका अनुयायीको आस्था र पवित्र केन्द्र बनेको छ।
निप्पोजान म्याहोजी संस्थाका संस्थापक फुजी गुरूले उक्त स्तुप निर्माण गरेका हुन्। स्वर्गीय जापानी निचिडात्सु फुजी गुरूले विश्वभरि बनाएका ८० बढी विश्व शान्ति स्तूपमध्ये यो एक हो।
७ वर्ष लगाएर निर्माण गरिएको शान्ति स्तूप ४१ दशमलव ५ मिटर अग्लो र २० मिटर गोलाइको छ। त्यस्तै, स्तूपको आधार स्तम्भ ५९ मिटर गोलाइको छ। ९ सय मेट्रिक टन सिमेन्ट लागेको उक्त स्तूपमा २७ हजार स्क्वायर फुट मार्बल प्रयोग गरिएको छ। ०५० कात्तिक २८ मा स्व. गिरिजाप्रसाद कोइरालाले शिलान्यास गरिएको स्तूपको ०५८ कात्तिक १८ मा उनैले उद्घाटन गरेका थिए।
जापानमा दोस्रो विश्वयुद्ध ताका हिरोसिमा र नागासाकीमा आणविक अस्त्रको प्रहारद्वारा असंख्य मानवीय नरसंहार दर्दनाक दृश्यबाट भावविह्वल भई जापानका फुजी गुरूजी संसारभरि नै शान्ति स्तूपको निर्माण कार्य थालेका हुन्।
नरसंहारपछि शान्तिको विकल्प छैन भन्दै जापानी निचिडात्सु फुजी गुरू शान्तिको खोजीमा लागे। यही क्रममा उनी यहाँ आएर अग्लो विश्व शान्ति स्तूप निर्माण सुरू गरेका थिए।
तस्बिरहरू
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी