दाङ जिल्लाको बबई गाउँपालिका–७, मलई गाउँका बासिन्दा हुन् ४६ वर्षीय वीरबहादुर परियार र उनकी ४५ वर्षीया श्रीमती सावित्री। उनीहरू घरमा छिटुवा, डोको र डालो बुन्छन्।
वीरबहादुरले सानै उमेरमा बुवाबाट छिटुवा, डोको, डालो बुन्न सिके। नौ वर्षको उमेरदेखि बुवाका पछि लागेर दाङका बस्तीहरूमा ती सामान बोकेर बेच्न हिँडे। पैदलै दाङका समथर गाउँबस्ती र सहरी क्षेत्रमा पुग्थे।
बुवाको मृत्युपछि सामान बनाउन र डुलाउँदै बेच्न वीरबहादुर एक्लै भए। सावित्रीले सामान बोकेर सँगै हिँड्न साथ दिने विचार गरिन्। उनले आफ्नो विचार सुनाइन्। वीरबहादुर खुसी भए।
उनीहरू दुबै जना सामान बनाउने र बेच्ने काममा लागे। सावित्रीले चोया काढ्न, भाटा तिखार्न अनि छिटुवा र डोको बुन्न सिकिन्।
साना छोराछोरी घरमा आमाका साथमा छाडेर बेच्न हिँड्थे। कहिलेकाहीँ साता–दस दिनमा मात्र फर्किन्थे। आफ्ना सामान धानमा साट्थे, नगदमा बेच्थे।
वीरबहादुरले सावित्रीको प्रशंसा गर्दै भने, ‘काम सिकेपछि मभन्दा छिटो बुन्न सक्ने भई। आजकाल त कसले छिटो बुन्ने भनेर बाजी पो हुन्छ।’
दुई जना मिलेर एकै दिनमा १५ वटासम्म छिटुवा बुन्छन्। यसरी नै डोको डालो पनि बुन्छन्। दुबैलाई पुग्ने भारी भएपछि बोकेर बेच्न हिँड्छन्।
वीरबहादुर भन्छन्, ‘दुबै जना बराबरी काम गर्न जान्ने भएपछि सजिलो र रमाइलो भएको छ। कमाइ पनि ठिकै छ।’
एउटा छिटुवा साढे दुई सयदेखि तीन सय रुपैयाँसम्म बिक्री हुन्छ। खुरूखुरू काम गर्दा एक दिनमा एक जनाले आठ वटासम्म छिटुवा बुन्छन्। आफूले बनाएका सामान बेच्न वीरबहादुर र सावित्री निकै टाढासम्म पुग्छन्।
उनीहरू बाँस आफ्नै गाउँमा किन्छन्। बाँसको आकारप्रकार अनुसार दाम हुन्छ। सामान्यता साढे एक सयदेखि साढे दुई सय रुपैयाँसम्म पर्छ। त्यसको चोया काढेर छिटुवा, डोको र डालो बुन्छन्। सावित्रीका अनुसार एउटा बाँसबाट चार वटासम्म छिटुवा बन्छ।
वीरबहादुरले आफ्ना बुवाबाट चोयाका सामान बुन्न सिके, सावित्रीले श्रीमान वीरबहादुरबाट सिकिन्। सावित्रीले छिटुवा बुन्न थालेको १० वर्ष भयो। छिटुवा, डोको र डालो बुन्न सिकेर श्रीमानलाई काम सघाउन पाएकोमा सावित्री खुसी छिन्। दुई जनाको कामले कमाइ पनि ठिकै भएको छ।
‘यो छिटुवा नबुने कसरी बाँच्ने! के खाने! छोराछोरी कसरी पाल्ने!’ सावित्री भन्छिन्, ‘हामीले बाँसको यही कामबाट घरव्यवहार चलाएको छौं। सबै खर्च टरेको छ।’
परियार दम्पतीको आफ्नो जग्गा छैन। बाजेका पालादेखि नै चार कठ्ठाजति ऐलानी जग्गा भोगचलन गरेका छन्। त्यति जग्गामा गहुँ, मकै र तोरी उत्पादन हुन्छ। जनावरबाट जोगाउन सके त्यहाँको उत्पादन र आम्दानीले चार महिना खान पुग्छ।
वीरबहादुर स्कुल जान पाएनन्। बुवाले दिएको सीप उनको गुजाराको भरपर्दो माध्यम भयो। परिवारको सबै खर्च यसैबाट चलेको छ। आफूले नपढे पनि छोराछोरी पढाउँदै छन्।
उति बेलाको समाज, चरम गरिबी अनि विकट भौगोलिक अवस्थाका कारणले गर्दा उनले पढ्न पाएनन्।
‘उतिखेर (वीरबहादुरको बाल्यकालमा) अहिलेको जस्तो समाज थिएन। हामीजस्ता गरिब र दलितको अवस्था बेग्लै थियो,’ वीरबहादुरले भने, ‘पढेर के हुन्छ र! बरू काम सिक्दा खान पाइन्छ भन्ने कुरा हुन्थ्यो। नजिकमा स्कुल पनि थिएन।’
परियार दम्पतीका दुई छोरी र दुई छोरा छन्। एक छोरा र एक छोरीले बाह्र कक्षासम्मको पढाइ पूरा गरेका छन्। अर्की एक छोरीले आठ कक्षासम्म पढिन्। जोठा छोरा गत वर्ष चैतदेखि जाजरकोटमा वन रक्षकको जागिरमा छन्। कान्छा छोरा सात वर्ष उमेरका छन्, दुई कक्षामा पढ्छन्।
उनीहरूले छोराछोरीको पढाइ खर्च पनि बाँसका सामान बेचेरै जुटाए।
सावित्राले भनिन्, ‘हामी आमाबुवा जेजस्ता भए पनि डोकाडाला बुनेर दुई छोराछोरीलाई १२ कक्षासम्म पढायौं। हामी गरिबले यति गर्नु पनि ठूलै काम हो जस्तो लाग्छ।’
उनीहरूको गाउँमा दश कक्षासम्म मात्रै पढाइ हुने स्कुल छ। छोराछोरीले एघार र बाह्र कक्षा दाङमा भाडामा बसेर पढेका हुन्।
परियार दम्पती छोराछोरीलाई अझै पढाउन चाहन्छन् तर खर्च जुटाउन मुस्किल छ।
सावित्रा भन्छिन्, ‘छोराछोरीलाई अझै धेरै पढाउने मन छ तर हामीसँग पैसा छैन। हामीलाई चिन्ता परेको छ।’
मलई बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र हो। यहाँ निकुञ्जका जनावरको पिर छ। बँदेल र बाँदरले बालीमा क्षति पुर्याउँछन्। रातभरि टौवामा बरेर बाली जोगाउनुपर्छ।
टौवा भनेको जनावर आएको हेर्न बारीमा बनाइएको केही अग्लो संरचना हो। गाउँमा एक्लै हिँड्न पनि जंगली जनावरको डर हुन्छ।
‘कहिले त जति रखवाली गरे पनि हुँदैन। बाँदर र बँदेलको बथान आएर स्वा:हा पारिदिन्छन्। जति होहल्ला गरे पनि भाग्दैनन्। नजिक गए बँदेलले आक्रमण गर्ने डर हुन्छ,’ सावित्री भन्छिन्, ‘सरकारले बाघ पाल्न खोजेपछि हामीलाई गाह्रो भयो। आजसम्म त हाम्रो गाउँमा मान्छे खाएको छैन तर कुन दिन खाने हो भन्ने डर छ।’
मान्छे नमारे पनि कहिलेकाहीँ चौपाया मारेको उनले बताइन्। निकुञ्जका जनावरले दुःख दिएको हुँदा सरकारले आफ्नो गाउँ अर्को सुरक्षित ठाउँमा सारिदिए हुन्थ्यो भन्ने उनलाई लाग्छ।
जनावरको सास्ती मात्र होइन, निकुञ्जको सुरक्षार्थ खटिएका सेनाले समेत दुःख दिने गरेको उनको गुनासो छ।
उनका अनुसार गाउँका मानिस मलई खोलामा माछा मार्थे। आजकाल सेनाले माछा मार्न त के, एउटा ढुंगो समेत उठाउन दिँदैन। जंगल नजिकै छ तर गाउँलेले सानोतिनो काठ पनि पाउँदैनन्।
मलईका बासिन्दा वडा कार्यालय पुग्न दुई घण्टा हिँड्नु पर्छ। आउजाउमै चार घण्टा लाग्छ। कुनै सानो कामका लागि वडा कार्यालय जानुपर्यो भने सिंगो दिन माया मार्नुपर्छ।
सामाजिक सुरक्षा भत्ता लिन हापुरे पुग्नुपर्छ। गाडी चढेर हापुरे आउजाउ गर्न तीन सय रुपैयाँ भाडा लाग्छ।
दाङ जिल्लाको सबैभन्दा विकट मलई तुलसीपुर बजारबाट करिब ३० किलोमिटर पश्चिममा पर्छ। सार्वजनिक गाडीमा एकोहोरो भाडा २५० रुपैयाँ छ।
मलईमा मोबाइल फोनको कुनै पनि नेटवर्कले काम गर्दैन। रेडियो नेपाल राम्ररी सुनिन्छ।
स्थानीयवासीले १४ दिन श्रमदान गरेर गत वर्ष हिउँदमा आमखोलीबाट पानी ल्याए, घरघरमा खानेपानीको धारा पुर्याए। त्यसअघि उनीहरू मलई खोलाको पानी पिउँथे।
‘बाटो र पानीको सुविधा भएको छ तर जंगली जनावरको डरले गर्दा यो ठाउँमा बस्न नसकिने भइसक्यो,’ सावित्रीले गुनासो गरिन्, ‘सेनाले यो मलई खोलाका माछा मार्न त के एउटा ढुंगा पनि उठाउन दिँदैन। गरी खान गाह्रो भयो।’
सहरी क्षेत्रबाट दुर्गममा पर्ने भएकाले मलई गाउँले ‘दाङको कर्णाली’ उपनाम पाएको छ।