मधेस प्रदेशका मुख्यमन्त्री, मन्त्री, जनकपुरधामका मेयर सहितका टोली तिलकोत्सवमा सहभागी हुन र राम जानकी विवाह पञ्चमीमा जन्ती आउनका लागि निम्तो दिन भारतको उत्तर प्रदेशस्थित अयोध्या प्रस्थान गरेका छन्।
जानकी मन्दिरबाट तिलक (फलफूल, मिठाइ, लत्ताकपडा लगायतका सामान) र निमन्त्रणा पत्र बोकेर उनीहरू रक्सौल नाका हुँदै अयोध्या प्रस्थान गरेका हुन्।
पर्यटन प्रवर्द्धनको उद्देश्यसहित धार्मिक कार्यक्रममा सहभागी हुन मन्त्रिपरिषद बैठकको निर्णयअनुसार आफूहरू अयोध्या हिँडेको मुख्यमन्त्री सतिशकुमार सिंहले बताए।
उनका अनुसार आगामी मंसिर २१ गते भगवान राम र सीताको विवाहका लागि ५ सयको संख्यामा तिलक लिएर मुख्यमन्त्री, मन्त्री, जनकपुरधामका मेयर, विश्व हिन्दु परिषदका पदाधिकारी, जानकी मन्दिरका महन्त तथा स्थानीय सहित करिब पाँच सय जना अयोध्याका लागि प्रस्थान गरेका हुन्।
जनकपुरधामका मेयर, विश्व हिन्दु परिषदका पदाधिकारी, जानकी मन्दिरका महन्त तथा स्थानीयलाई मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार नै जानकी मन्दिरबाट बिदाइ गरेका थिए।
आइतबार मुख्यमन्त्री सिंह, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, वन तथा वातावरण मन्त्री त्रिभुवन साह, स्वास्थय तथा जनसंख्या मन्त्री सत्रुधन सिंह, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँ, श्रम तथा यातायात मन्त्री कौशल किशोर राय र महिला बालबालिका तथा सामाजिक न्याय समितिकी सभापति रुपा यादवले आइतबार वीरगञ्जमा यहीँ टोलीमा सहभागी भएर अयोध्या प्रस्थान गरेका हुन्।
सोमबार तिलकसहित जानकी मन्दिरको पत्र राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत रायलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री सिंहले बताए।
विवाह पञ्चमीको अवसरमा प्रत्येक पाँच वर्षमा अयोध्याबाट सन्त, महन्त सहितको विशेष जन्ती टोली जनकपुरस्थित जानकी मन्दिर आउने गर्छ।
जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासका अनुसार यसपालि दक्षिण भारत र अयोध्याबाट करिब पाँच सयको संख्यामा जन्ती आगामी मंसिर १७ गते महोत्तरीको मटिहानीमा प्रवेश गर्नेछन्। उनीहरू सात दिवसीय विवाहोत्सवअन्तर्गत आगामी २२ गते आयोजना हुने राम कलेवा विधिसम्म जनकपुरमा बस्नेछ।
मधेससहित देशभर पर्यटन प्रवर्द्धनका लागि विवाहपञ्चमी महोत्सवको निम्तोका लागि प्रदेश सरकारले अग्रसरता देखाएको मुख्यमन्त्री सिंहले बताए।
‘अयोध्यामा प्रत्येक दिन अढाइ/तीन लाख पर्यटक दर्शन गर्न आउँछन्। सीता बिना राम अधुरा रहेको भनाइ छ। त्यसैले त्यहाँ आउनेमध्ये कम्तीमा १०/२० प्रतशित पर्यटक पनि नेपाल आओस् भन्ने ध्येयले हामीले अग्रसरता देखाएका हौं,’ मुख्यमन्त्री सिंहले भने, ‘हामीले धार्मिक पर्यटक मात्रै भित्र्याउन सक्यौं भने पनि जनकपुर र पूरा नेपालकै अर्थतन्त्रमा बुमको स्थिति आउँछ।’
आगामी मंसिर ४ गते नेपाल फर्किने कार्यक्रम रहेको उनले बताए। मधेस प्रदेशका मुख्यमन्त्री सिंह देशबाहिर गएपछि नेकपा एमालेका संसदीय दलका नेता समेत रहेका सरोजकुमार यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको छ।