काठमाडौंमा एकै परिवारका तीन जना मृत भेटिएका छन्।
गोकर्णेश्वर नगरपालिका- ३ मा एउटै परिवारका तीन जना बिहीबार दिउँसो मृत भेटिएका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार ३३ वर्षीया सीता मोक्तान नगरकोटी, उनकी १५ वर्षीया छोरी अंशु मोक्तान र दुई महिनाका छोरा मृत भेटिएका हुन्।
स्रोतका अनुसार कात्तिक १६ गते कान्छा तामाङ आफ्नी श्रीमती र छोराछोरीहरू हराएको भन्दै नजिकैको प्रहरीकहाँ पुगेका थिए।
'छोराछोरी र श्रीमती घरमा नभएपछि नजिकै प्रहरीकोमा गएका रहेछन्,' स्रोतले भन्यो, 'घरमा श्रीमती नभएको खबर माइतीमा समेत गरेको रहेछ।'
कात्तिक १६ गते ढोका खोल्न खोज्दा नखुलेपछि कान्छाले बाहिरबाट ढोका लगाएर श्रीमती कतै गइन् भन्ने अनुमान गरे। यसअघि पनि विभिन्न समयमा घर झगडा हुने हुँदा कान्छाले श्रीमती चुकुल लगाएर कतै गएको भन्ने अनुमान लगाएका थिए। त्यसैले घटनाबारे बताउन उनी प्रहरीकोमा गए।
'कहिलेकाहीँ झगडा हुँदा श्रीमतीले सम्पत्ति मेरो नाममा गर्दे भनेर भन्ने गरेको रहेछ,' स्रोतले भन्यो, 'श्रीमती गएपछि मेरो सम्पत्ति के हुन्छ भनेर नजिकैको चौकीमा बुझ्न गएको रहेछ।'
अर्कातर्फ छोरी हराएको खबर पाएपछि शनिबार सीताकी आमा आएकी थिइन्। सोबेला घरबाट केही गन्ध आएता पनि उनीहरूले कुनै वास्ता नगरेको प्रहरीको भनाइ छ।
तर आज दिउँसो प्रहरी कान्छाको घरमा पुग्दा कोठा भित्रैबाट चुकुल लगाएको अवस्थामा तीन जना मृत फेला परेका हुन्। उनीहरूको शव पनि कुहिएको अवस्थामा भेटिएको स्रोतले बतायो।
'मृतकहरू फेला परेको कोठामा नजिकै मकल रहेछ,' स्रोतले भन्यो, 'घटनास्थल हेर्दा सबै झ्याल ढोका बन्द हुँदा मकल तातेर निस्सासिएर मृत्यु भएको हुन सक्छ।'
यस्तै, सीताका श्रीमान कान्छा नगरकोटीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
शव पोष्टमर्टमका लागि टिचिङ अस्पताल लगिएको प्रहरीले बताएको छ।