सन् १९९९, २५ वर्षअघि। काठमाडौंको जीवन्त र कोलाहलपूर्ण सहरबाट शान्त बेलायतका सहरहरू डुल्दा अत्तालिएका थिए ओजेश सिंह।
भाषा फरक, संस्कृति फरक!
खाना फरक, रहनसहन फरक!
उनी दोधारमा थिए, 'यो कहाँ आइपुगेँ म?'
भर्खर जन्मिएको बच्चा जस्तो नौलो मानेर सहरलाई नियालिरहे।
केही दिनसम्म सामाजिक-सांस्कृतिक सद्मा जस्तै भयो उनलाई।
'तातो खाना खान नपाउने, स्यान्डविच लगायत सबै चिसा खानेकुरा। त्यहाँको तौरतरिका पनि केही नजानेको। मैले यतिका वर्षसम्म सिकेको ज्ञान र अनुभव केही काम नलाग्ने रहेछ जस्तो लाग्न थाल्यो। त्यहाँको समाजमा भिज्न मलाई निकै गाह्रो भयो,' ओजेशले सुनाए।
त्यति बेला जम्मा १९ वर्षका थिए उनी। त्यहाँ बस्दा, अन्य नेपाली साथीसंगाती भेट्दै जाँदा उनले के थाहा पाए भने, आफ्नो पहिचानको अन्योलमा उनी एक्ला थिएनन्। बेलायत आएका थुप्रै नेपाली उनीजस्तै थिए।
त्यस्तै अन्योलमा परेका नेवाः समुदाय मिलेर सन् २००० मा 'पासा पुचः गुठी, युके' स्थापना भयो। ओजेश त्यसका संस्थापक सदस्य भए। यो संस्थाले त्यति बेलादेखि नेपालमा नेवाः समुदायले मनाउने चाडपर्व, बोल्ने नेपाल भाषा, खाने खानेकुरा लगायत प्रवर्द्धन गर्दै आएको छ। नेपालमा रहेका नेपालीहरूलाई दुःखसुख पर्दा साथ र सहयोग पनि दिइरहेको छ।
'कतिपय मानिस विदेश पुगेपछि एक्ला हुन्छन् र उनीहरूलाई मानसिक चिन्ता थपिन्छ। उनीहरू बाहिरिया जस्तो महसुस गर्न थाल्छन्। यस्तो महसुस भइरहँदा सुखदुःख बाँड्न सक्ने आफ्नो समुदाय छ भन्ने आभास निकै महत्त्वपूर्ण हुन्छ,' पासा पुचः गुठी खोल्नुको कारण बताउँदै ओजेशले भने।
ओजेशले हालै 'लन्डन लाखे' नामक बाल पुस्तक निकालेका छन्।
यसको सार उनकै बेलायत अनुभव र पासा पुचः बनाउनुको उद्धेश्यसँग जोडिएको देखिन्छ। किताबले वैदेशिक रोजगार, मानसिक स्वास्थ्य, पहिचानको विश्वव्यापी समस्या, संस्कृति लगायत विषय उठाएको छ।
उनी भन्छन्, 'हामी सबै लाखेजस्तै हुन्छौं। कति समय हराउँछौं अनि आफ्नो साथीहरू भेट्दा एकदम खुसी हुन्छौ। रमाइलो गर्छौं अनि लाखेजस्तै नाच्छौं। वा, भनौं हाम्रो मन नाच्छ। लन्डन लाखेको सार पनि त्यही हो।'
केटाकेटीले बुझ्ने सरल अंग्रेजी र नेपाल भाषामा लेखिएको 'लन्डन लाखे' को इलुस्ट्रेसन (चित्रहरू) बेलायतमै बस्ने सहनशील डंगोलले बनाएका हुन्।
यो किताबको संक्षिप्त कक्षा यस्तो छ —
सन् १९६० तिर। काठमाडौंको मरूहितिमा हलुचा नामक एक सिकर्मी हुन्छन् जो आफ्नो परिवारसँग खुसीसाथ बसिरहेका हुन्छन्। तर जब नयाँ फर्निचर कम्पनी खुल्छ, उनको खुसीमा बज्रपात सुरू हुन थाल्छ। उनले आफ्ना ग्राहकहरू गुमाउन थाल्छन्।
त्यसपछि कामको खोजीमा उनी वैदेशिक यात्रामा जाने सोच्छन्। सन् सत्तरी दशकमा विदेश भनेर खाडी मुलुक जाने चलन थिएन। धेरै मान्छे बेलायत जान्थे। उनी उच्च ब्याजमा पैसा सापटी मागेर बेलायत जान्छन्।
बेलायत पुगेको पहिलो चरणमा भाषाको समस्याले हलुचालाई सास्ती दिन्छ। यही कारण उनले राम्रो काम पाउँदैनन्। एकपछि अर्को कामबाट निकालिन्छन्। साथीहरू पनि कोही नभएपछि उनी एक्लो हुन्छन्। घर सम्झिएर न्यास्रिन्छन्। बिस्तारै उनलाई मानसिक चिन्ता थपिन्छ।
वर्षौंसम्म हलुचा काम नपाएर सहरमा भोकै बरालिएर हिँड्छन्। कपाल जिंग्रिङ्ग, नङ लामा हुन्छन्। एक दिन सहरमा बरालिँदै गर्दा उनको आँखा पासा पुचः गुठी लेखिएको ब्यानरमा अडिन्छ। आफूले चिन्ने अक्षर पढेर उनी खुसी हुन्छन्। भित्र जाँदा नेपाल भाषामा नाचगान चलिरहेको हुन्छ। बाजागाजा घन्किइरहेको हुन्छ। हराएको कुरा भेटिएझैं उनी लाखेजस्तै नाच्न थाल्छन्।
त्यहाँ पुगेपछि हलुचाले आफूले चिन्ने मान्छेहरू भेट्छन् र उनको मानसिक स्वास्थ्य सुधार हुँदै जान्छ। बेलायतमा म्हः पूजा मनाइँदा उनी लाखे बनेर नाच्न थाल्छन्।
लन्डन लाखे किताबमा जस्तै, ओजेशहरू पनि म्हः पूजा मनाउँछन्, लाखे नचाउँछन्।
'हामीले पासा पुचः बनाएपछि मनाएको पहिलो पर्व नै म्हः पूजा हो। त्यो बेला हामी लाखे पनि नचाउँछौं। तर नेपालमा मनाइने म्हः पूजाकै दिन होइन, त्यो नजिकको सोमबार मिलाएर मनाउँछौं,' ओजेशले भने, 'बेलायतमा धेरैजसो नेवारहरूको रेस्टुरेन्ट व्यवसाय छ। त्यसैले विकेन्ड (सप्ताहन्त) मा एकदम व्यस्त हुने भएकाले सोमबार छानेका हौं।'
ओजेशका अनुसार २०-२५ वर्ष अघिसम्म धेरै नेपालीहरू रेस्टुरेन्ट कामका लागि बेलायत जान्थे। कतिपय ब्रिटिस आर्मीका रूपमा गए। शरणार्थी बनेर जानेहरू पनि थिए। ओजेशका बुबा पनि बेलायतमा रेस्टुरेन्ट व्यवसाय गर्थे।
ओजेशलाई सानैदेखि पाइलट बन्न मन भए पनि हजुरआमाले धेरै चिन्ता गरेर नपढ्न भनिरहिन्। त्यसैले आइएससी सकेर उनी एरोस्पेस इञ्जिनियरिङ पढ्न बेलायत गए। काठमाडौं वसन्तपुरको मरू हितिमा हुर्किए पनि उनलाई नेपाल भाषा राम्ररी बोल्न आउँदैन थियो। उनले बेलायतको पासा पुचः गुठीमा आबद्ध भएपछि नै नेपाल भाषा सिकेका हुन्।
*'मेरो हजुरआमालाई खस नेपाली बोल्न आउँदैन थियो तर जबरजस्ती बोल्नुहुन्थ्यो,' २५ वर्षअघिको काठमाडौं वर्णन गर्दै ओजेशले भने, 'हामीलाई पनि स्कुलमा अरूले नजिस्क्याऊन् भनेर सिकाउनुभएन। अरूले बोलेको सुनिरहेकाले बुझ्थेँ तर बोल्न आउँदैन थियो। बेलायतमा दुई-तीन वर्षमा सिकेँ।'
गुठीमा आबद्ध भएको सुरूआती दिनमा ओजेश गितार बजाउने र गीत गाउने गर्थे। कार्यक्रम गर्न सहयोगहरू बटुल्थे। सदस्यबाट सुरूआत गरेका उनी सन् २००४ मा जेनरल सेक्रेटरी हुँदै २०२० मा अध्यक्ष नै भए। गुठीले निकालेको 'लन्डन लाखे' पहिलो बाल साहित्यको किताब हो।
ओजेशलाई पहिलेदेखि नै लेख्नमा रूचि थियो। लन्डनबाट प्रकाशित हुने म्यागजिनहरूमा फुर्सद निकालेर लेखिरहेका हुन्थे। कतिपय म्यागजिन उनकै अगुवाइमा प्रकाशन पनि भएका छन्।
काठमाडौंमा बाल्यकाल बिताएका उनले लाखे, भैरव, गथामुगः लगायत पात्रको कथा खुब सुनेका थिए। जात्राहरूमा उनीहरूको भूमिका निर्वाह गर्ने पात्रहरू देखेका थिए। कपाल जिंग्रिङ्ग, लामा नङ, भयंकर लाखे देख्दा उनी डराउँथे। लाखेले झ्यालिञ्चा लखेटिरहेको देख्दा मानिसहरूलाई पनि त्यसरी नै लखेट्छ होला भनेर डर लाग्थ्यो।
बेलायत पुगेपछि बल्ल उनले लाखेलाई रमाइलो पात्रका रूपमा देख्ने मौका पाए। अनि यसैलाई आफ्नो किताबको पात्र बनाउने सोचे।
'बेलायतको लाखेमा नेपालको जस्तो मिथिकल कथा छैन। उसको हाउभाउ र लुगा मिल्दैन। हामीले हाम्रो जात्रापर्वको सम्झनाका रूपमा मात्र मनाएका हौं,' उनले भने।
कुनै कथा-किम्बदन्ती बिना लन्डनमा देखाइने लाखे नाचलाई ओजेशले 'लन्डन लाखे' किताबमार्फत कथा दिने प्रयास गरेका हुन्।
'कथा भनेको कुनै कालखन्डमा मानिसले नै बनाएको कुरा हो। मैले पनि लन्डन लाखेको कथा बनाउन खोजेको हुँ,' उनले भने, 'त्यो कथालाई लन्डनको समसामयिक परिवेश र हाम्रै कथासँग जोडेको छु। त्यो कथा हामी नेपालीलाई मात्र होइन, वैदेशिक रोजगारीमा जाने हरेकलाई लागू हुन्छ। नेपालमा लाखेका डरलाग्दा कथा सुनेकालाई त यो कथा पढेपछि लाखे हामीजस्तै सामान्य मानिस रहेछन् भन्ने लाग्न सक्छ।'
उनले थप भने, 'लाखेमा मानिसमा जस्तै राम्रा र नराम्रा दुवै गुण हुन्छन्। यसमा भएको पात्र हलुचाको नराम्रो गुण भनेको लन्डन पुगेपछि उसले चाँडै हार मान्छ। तर समुदायको सहयोग पाएपछि उ ठीक हुन्छ।'
अहिले लाखेलाई विकृतिका रूपमा प्रयोग गरेको विषयमा नेवाः समुदायले विरोध गर्दै आएको छ। आफूले त्यो विकृतिलाई बढावा नदिएको, बरू नेपालमा बस्ने मानिसलाई लन्डन लाखेको कथा बेग्लै भनेर बताउन खोजेको ओजेशले बताए।
'वास्तविक लाखेको भावनाप्रति हामी संवेदनशील छौं। नेपालको लाखे र बेलायतको लाखे बिलकुलै फरक हो। हामीले प्रवर्द्धन वा नक्कल वा संस्कृतिको अनादर गरेको, केही पनि होइन,' उनले भने, 'बेलायतको लाखे म्हः पूजामा उत्सवका रूपमा निस्किन्छ र त्यो किन निस्किन्छ भन्ने महत्त्वपूर्ण छ। हामी बाहिर बस्ने नेपालीले जात्रापर्वहरू मनाउँछौं। यी सबै हाम्रो जीवनका अंग हुन् र हामीलाई बाँच्नका लागि चाहिन्छ। हामी हराउँदा वा मानसिक चिन्तामा पर्दा त्यसबाट बाहिर निस्कने माध्यम हुन्।'
उनले लन्डन लाखेको कथा भन्न बालबालिकाको किताब नै किन रोजे त?
ओजेशका अनुसार बेलायतमा हुर्किएका नेपाली बालबालिकालाई नेपाल केन्द्रित किताब खासै छैनन्। उनीहरू अंग्रेजी कथा र आख्यान पढ्दै हुर्किएका हुन्छन्। लन्डनको लाखेको कथा उनीहरूले पनि पढून् भन्ने उनको उद्देश्य हो।
'बेलायतको पासा पुचःले नेवारी परम्पराबारे जानकारी दिन खोजिरहेको छ। येँया (इन्द्रजात्रा), म्हः पूजा कसरी मनाउँछ लगायतबारे बुझाउन खोजिरहेका छौं। परम्परालाई निरन्तरता दिने भनेकै नयाँ पुस्ताले हो,' ओजेशले भने, 'बेलायतमा हुर्किएका धेरै नेपाली केटाकेटीले नेपालको भाषा, संस्कृति देखे, सुने र जानेका हुन्छन्। विदेशमा यो सबै कसरी भयो भन्नेबारे उनीहरूको खुलदुली मेटाउन पनि यस्ता कथा चाहिन्छन्।'
लन्डन लाखेकै शृंखलाका रूपमा अन्य मिथिकल पात्रको पनि बेलायतमा आधारित कथा निकाल्ने ओजेशको अबको योजना छ। त्योसँगै दशकर्म (नेवाः बौद्ध समुदायमा प्रचलित जन्मदेखि मृत्युसम्मका संस्कार) को अनुसन्धानमूलक किताब पनि निकाल्ने सोचमा छन्।
अहिले त उनी पहिलो किताब लन्डन लाखेकै प्रतिक्रियामा रमाइरहेका छन्। कतिले त उनलाई नै लन्डन लाखे भनेर सम्बोधन गर्न थालेका छन्।
'यो किताबले यति राम्रो प्रतिक्रिया पाउँला भन्ने सोचेकै थिइनँ। झन् किताबकै नामले मानिसहरूले बोलाउँदा म निकै खुसी छु,' उनले भने।
*यसअघि अन्यथा हुन गएकामा सम्पादन गरिएको छ।