ललितपुर महानगरपालिकाले स्वास्थ्य शिविर सुरू गरेको छ।
महानगरबासी महिलामा देखापर्ने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने तथा फिस्टुलासम्बन्धी निःशुल्क स्वास्थ्य शिविर बुधबारदेखि सुरू भएको महानगरले जनाएको छ।
महानगरका फोकल पर्सन दाताराम अधिकारीका अनुसार वडा नम्बर १४ स्थित तिलेदेवलबाट शिविर सुरू गरेको छ। एक महिनाभित्र महानगरको २९ वटै वडामा शिविर हुनेछ।
'शिविरमा स्वास्थ्य परीक्षण गर्दा पोजेटिभ देखिएकालाई महानगरले उपचार गर्छ,' उनले भने, 'पाठेघरको मुखको क्यान्सरको परीक्षण पनि गरिन्छ।’
ललितपुर महानगर वडा नम्बर ९ का अध्यक्ष राजु महर्जनले महानगरबासी महिलाको स्वास्थ्यलाई प्राथमिकता राखेर शिविर चलाइएको बताए।
पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सरबाट धेरै महिला समस्यामा रहेको तथ्यांक रहेकोले न्यूनीकरणका लागि शिविर सञ्चालन गरिएको उनले बताए।
महानगरले गत आर्थिक वर्षमा ८ वटा वडामा एचपिभिडि एन ए विधिद्धारा १ हजार ३ सय महिलाको स्वास्थ्य परिक्षण गरेको थियो। उक्त परीक्षणमा झण्डै १४ प्रतिशतमा पोजेटिभ देखिएको थियो। उनीहरूको उपचार महानगरले गराइरहेको उनले बताए।
'स्वास्थ्य शिविरमा ३० देखि ६० वर्ष उमेर समूहका महिलाको स्वास्थ्य परिक्षण गर्न लागेका हौं,' उनले भने।
उक्त शिविरसँगै महानगरले स्वास्थ्य बीमा कार्यक्रम लागू गरी सेवा दिँदै आएको छ। ललितपुर महानगर वडा नम्बर १४ का अध्यक्ष अमृतजङ्ग महतले महानगरले भौतिक विकासलाई मात्रै प्राथमिकता नदिएर सामाजिक विकासलाई पनि उत्तिकै महत्व दिएको बताए।
नेपाल क्यान्सर केयर फाउन्डेसनका निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा सरिता घिमिरेका अनुसार पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण गर्नका लागि संसार भरिमै हालसम्म उपलब्ध विधिमध्ये एचपीभि डिइनए प्रभावकारी विधि हो।
जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेलले प्रत्येक १० जनामध्ये ७ जनालाई नसर्ने रोग लागेको तथ्यांक छ। महिलामा अन्य क्यान्सरको तुलनामा स्तन र पाठेघरको क्यान्सर धेरै देखिँदै आएको छ।