सोलुखुम्बुको हिमाली क्षेत्रमा भारी बोक्दै उकालो-ओह्रालो हिँड्दा अर्जुन कुलुङ राईसँग कुनै ठूलो सपना थिएन।
पर्यटकको भारी लुक्लाबाट नाम्चे र सगरमाथाको आधार शिविरमा समयमै पुर्याउँदा पनि असीम खुसी उत्पन्न हुन्थ्यो।
भारी बोकेरै उनको घरपरिवारको खर्च चल्थ्यो। परिवारका सबै सदस्य यही पेसामा थिए।
पन्ध्र वर्षको उमेरदेखि नै पर्यटकको भारी बोक्न थालेका उनलाई पैसा कमाउन योबाहेक अरू काम हुन्छ भन्ने पनि थाहा थिएन।
'बुबा र दाइहरू पर्यटकका भारी बोक्नुहुन्थ्यो। म पनि भारी बोक्छु र पैसा कमाउँछु भन्ने सोच्थेँ,' उनले भने, 'अरू ठाउँमा जाने र काम गर्ने कल्पना नै थिएन।'
यिनै अर्जुन २९ वर्षको उमेरमा आइपुग्दा अन्तर्राष्ट्रिय 'ट्रेल रनर' भएका छन्।
उनी विभिन्न मुलुकले आयोजना गरेका दौडमा सहभागी हुन्छन्। नेपालमा भएका केही अन्तर्राष्ट्रिय स्तरका दौडमा विजेता समेत भइसकेका छन्।
हालै आयोजित 'मञ्जुश्री ट्रेल रेस' का विजेता पनि बने उनी।
'मञ्जुश्री ट्रेल रेस नेपालकै पहिलो र लामो दुरीको दौड थियो। मैले एक सय माइलको दुरी ३१ घन्टा १० मिनेट ५७ सेकेन्डमा पार गरेर च्याम्पियन बनेँ,' अर्जुनले भने।
उक्त दौडमा नेपाली र विदेशी गरी १८ जना धावक सहभागी थिए।
उनी यसअघि सन् २०२१ र २०२२ मा पनि मञ्जुश्री ट्रेल रेस विजेता भएका थिए। गत वर्ष भने अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न गएकाले यसमा सहभागी हुन पाएनन्।
सोलुखुम्बुमा जन्मेका अर्जुन पाँच वर्षअघिसम्म भारी बोक्ने र दौडिने दुबै काम गर्दै थिए। कोरोना महामारी फैलिएपछि भारी बोक्ने काम रोकियो।
'पोर्टर (भरिया) आम्दानीको स्रोत हो। दौडबाट नाम र प्रतिष्ठा कमाउँदै छु,' उनी भन्छन्, 'पहिले भारी बोक्दा कसैले चिन्थेनन्। दौडिन थालेपछि अन्तर्राष्ट्रिय ट्रेल रनर भनेर चिनिएको छु।'
पहिलो पटक एभरेस्ट म्याराथनमा सहभागी भएर शीर्ष १० मा परेपछि उनको दौड यात्रा सुरू भएको हो। उनी कुनै प्रशिक्षणबिनै सहभागी भएका थिए। पोर्टर भएर आधार शिविर जाने क्रममा उनले नाम्चेमा उक्त म्याराथनको तालिम भइरहेको देखेका थिए। तालिममा नेपाली र विदेशी दुवै थिए। त्यस बेला अर्जुनलाई म्याराथनबारे जानकारी थिएन।
'तालिम भएको भन्ने थाहा पाएपछि मलाई पनि दौडिन मन लाग्यो,' उनले भने, 'शरीर बलियो थियो। उकालो ओरालोमा हिँड्ने र दौडिने बानी भएकाले म म्याराथनमा भाग लिन सक्छु भन्ने लाग्यो।'
यसपछि उनमा धावक बन्ने हुटहुटी बढेर आयो। म्याराथनमा सहभागी हुने प्रक्रियाबारे जानकारी लिए। तयारी सुरू गरे। नाम्चे र लुक्लाबाट सगरमाथा आधार शिविरसम्म पुग्ने क्रम बढाए।
उनी दिनभरि भारी बोकेरै दौडिन्थे। फुर्सद हुँदा अभ्यास गर्थे। पहिलोपटक सन् २०१३ मा उनी एभरेस्ट म्याराथनमा सहभागी भए। त्यो म्याराथनमा सगरमाथा आधार शिविरबाट गोरकक्षेप, लुक्ला, तिङबोचे हुँदै नाम्चे पुग्नुपर्थ्यो। करिब ६० किलोमिटर दौडिनुपर्थ्यो। उनी पहिलो सहभागितामै शीर्ष १० स्थानमा परे। अर्को वर्ष चौथो भए।
त्यो सफलताले उनमा जित्न सक्ने विश्वास पलायो।
'ती दुई प्रतियोगितामा असफल भएको भए दौडिने आत्मबल आउने थिएन होला,' प्रसन्न मुद्रामा उनले भने, 'दौडिँदा लगाउने जुत्ता, लुगा र अरू सामान भए त अझै राम्रो गर्न सक्छु भन्ने लाग्यो।'
त्यतिञ्जेलसम्म पनि अर्जुनले दौडको प्रशिक्षण लिएका थिएनन्। यसमै भविष्य बनाउने सपना देख्न थालेपछि प्रशिक्षण लिएर अगाडि बढ्ने योजना बनाएर काठमाडौं आए। आसपासका विभिन्न ट्रेलमा दौडिन सुरू गरे। त्यसबीच केही पारिवारिक समस्याले अलमल भयो। दौडिने अभ्यास रोकियो।
सन् २०१९ मा उनी तयारीका साथ एभरेस्ट म्याराथनमा सहभागी भए। दोस्रो स्थान हासिल गरे।
यसपछि उनी झनै हौसिए, 'च्याम्पियन' बन्ने अठोट लिए। त्यही बेला कोरोनाले लकडाउन भइदियो। प्रतियोगिता रोकियो।
अर्जुनको गुजारा नै पर्यटन क्षेत्र थियो, ठप्प भएपछि उनी अन्योलमा परे। अरू काम गर्ने सोचे, तर रोजीछाडी गर्ने अवस्था थिएन।
उनी डकर्मी भए।
'घरको गारो लगाउने, ढलान गर्ने, झ्यालको सिसा हाल्ने सबै काम गरेँ। ढलानको काम साह्रै गाह्रो हुँदो रहेछ,' उनले भने, 'परिवारका लागि कमाउनै पर्ने थियो। जे भेटियो, त्यही गरेँ।'
जे काम गरे पनि उनले दौडको अभ्यास छाडेनन्। काम र अभ्यासको सन्तुलन मिलाउँदै अघि बढे।
अब भने उनी ट्रेल रेसलाई नै निरन्तरता दिने योजनामा छन्। किनभने, दौडले उनलाई फराकिलो र नयाँ परिचय दिएको छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको गति बढेको छ।
करिब एक दशकमा अर्जुन नेपालमा कम्तीमा ४० वटा प्रतियोगितामा सहभागी भइसके। हाल आगामी जेठमा हुने एभरेस्ट म्याराथनको अभ्यासमा छन्।
उनी गत असारमा अस्ट्रियामा भएको 'वर्ल्ड माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिप (डब्लुएमटिआरसी)' मा सहभागी भए। पहिलोपटक अन्तर्राष्ट्रिय ट्रेल दौडमा सहभागी भएका अर्जुन पचासौं स्थानमा रहे। त्यसपछि स्पेनमा भएको डब्लुएमटिआरसीमा दौडे। त्यो बेला उनको मांसपेशीमा समस्या भयो तर दौड पूरा गरे।
'पोर्टर भएर धेरै वर्ष काम गरेँ। कोभिडपछि रेसमा मात्र छु,' उनी भन्छन्, 'यो एक दशकमा अन्तर्राष्ट्रिय ट्रेल रनरका रूपमा चिनिएको छु। यसबाट पाएको खुसीको शब्द नै छैन। ज्यानले सकुञ्जेल र खुसी मिलुञ्जेल प्रतियोगितामा दौडिन चाहन्छु।'