काठमाडौं उपत्यकासहित देशका केही भूभागमा हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, गण्डकी, बागमती प्रदेशका पहाडी भूभागमा अतिरिक्त काठमाडौं उपत्यकामा वर्षा भएको महाशाखाले जनाएको छ।
पछिल्लो ६ घन्टामा इलामको जीतपुरमा सबैभन्दा बढी अर्थात् २१.८ मिलिमिटर पानी परेको छ।
काठमाडौंको बुढानीलकण्ठ केन्द्रमा पछिल्लो एक घन्टामा २.४ मिलिमिटर वर्षा मापन भएको छ।
सुन्दरीजल क्षेत्रमा पछिल्लो एक घन्टामा ४ मिलिमिटर वर्षा भएको महाशाखाले बताएको छ।
कास्की चोम्रोङ आसपास क्षेत्रमा पछिल्लो ६ घन्टाको अवधिमा १६.८ मिलिमिटर वर्षा भएको छ।
लम्जुङको राइनास स्टेसनमा ३.८ मिलिमिटर पानी परेको छ। म्याग्दीको तातोपानी क्षेत्रमा पछिल्लो ६ घन्टामा १२.८मिलिमिटर वर्षात् भएको मौसमविद् सरोज पुडासैनीले जानकारी दिए।
प्रि-मनसुन अवधिमा वर्षात् नहुँदा आगलागी र डढेलोका घटनामा बढोत्तरी आएको छ। खडेरीकै कारण मध्य पहाड तथा तराई भूभागमा पनि बालीनाली लगाउन समस्या भएको कृषकहरूले बताएका छन्।
पछिल्लो २४ घन्टामा ३६ जिल्लाका १ सय ११ स्थानमा डढेलो लागिरहेको छ। हल्का वर्षा भएसँगै गण्डकी र काठमाडौं उपत्यका आसपास लागिरहेको डढेलो नियन्त्रणमा आउने वन तथा भू-संरक्षण विभागले बताएको छ।