रौतहटका तोपिन्द्र महराले काठमाडौंको सडकमा बसेर पुराना जुत्ताचप्पल मर्मत गरेको बीस वर्ष भयो। काठमाडौं आउँदा ३५ वर्षका थिए, अहिले ५५ का भए।
उनको गाउँमा खेतीपाती छ। आफ्नै खेतीमा काम गरेर पनि दुई छाक खान पुग्छ। तर सबै खर्च त्यसले मात्रै चल्दैन।
तोपिन्द्रको बिहे पन्ध्र वर्षकै उमेरमा बिहे भयो। आठ सन्तान जन्मे, पाँच छोरी र तीन छोरा।
'खेतीले मात्र घरव्यवहार धान्न मुस्किल भएपछि दैनिक कमाइ गर्ने उद्देश्यले काठमाडौं आएँ,' उनले भने, 'पढेको छैन, खेती गर्नेबाहेक जानेको काम केही थिएन।'
यति ठूलो सहरमा कुनै न कुनै काम कसो नपाइएला भन्ने उनलाई लागेको थियो। उनका एक जना भतिज काठमाडौंमै बस्थे। उनीबाट सहयोग पाउने आशा थियो।
कामको टुंगो नलागुन्जेल भतिजले आडभरोसा दिए। डेरा खोजिदिए। काम भने पाउन मुस्किल भयो।
केही काम नपाएपछि तोपन्द्र जुत्ताचप्पल मर्मतको काम गर्ने टुंगोमा पुगे।
'मलाई जसरी पनि काम गर्नु थियो। पुरानो जुत्ताचप्पल सिउने मान्छेहरूबाट काम सिकेँ,' तोपिन्द्रले भने, 'चाहिने सामान किनेर ल्याएँ अनि छातामुनि बसेर काम गर्न थालेँ।'
सुरूमा उनी काठमाडौंको टेकु सडक किनारामा बसेर जुत्ताचप्पल मर्मत गरे। काम त थाले तर सोचे जस्तो सजिलो किन हुन्थ्यो! बाटोको धुलोधुवाँले हैरान बनायो। योभन्दा बढी हैरानी काम लगाउने मान्छेहरूको व्यवहार देखेर भयो।
'कति मान्छेहरू जुत्ता सिउन लगाएर पैसामा किचकिच गर्थे। थोरै दिन खोज्ने हुँदा रहेछन्। कसैले त आधा मात्रै दिन्थे,' उनले भने, 'मान्छेहरू हेपेर बोल्दा रहेछन्। कहिलेकाहीँ त यस्तो काम छाडेर घर नै फर्किऊँ जस्तो हुन्थ्यो।'
दैनिक सास्ती त छँदै थियो। तर एक दिन कष्टले हद पार गर्यो। उनी लुटिए।
दिनभरि काम गरेर थकित भएका उनी डेरा जान हिँड्दै थिए। बाटामा तीन-चार जना केटाले च्याप्प समाते। दिनभरिको कमाइ लुटे।
झमक्क साँझ परेको थियो। केटा कस्ता थिए, कता भागे, तोपिन्द्रले केही पनि मेलो पाएनन्। यसै पनि उनी काठमाडौंका लागि नयाँ थिए, कुन गल्ली कता पुग्छ भन्ने थाहा पाउँदैन थिए।
प्रहरीमा उजुरी गर्न पनि मेसो पाएनन्। उजुरी कसका विरूद्ध गर्नु! लुटेराको हुलिया नै थाहा पाएनन्। त्यसपछि उनी सचेत भए, अलिक उज्यालैमा फर्किन थाले।
उनका लागि काठमाडौंमा सबैभन्दा दुःख लाग्ने कुरा मान्छेहरूको हेपाहा व्यवहार नै हो। धेरै जसोले त लवज सुनेर भारतीयजस्तो ठान्छन्।
'हाम्रो बोलाइ (लवज) फरक छ। यताका मान्छेको जस्तो छैन। अनि नेपाली नै होइन जस्तो गर्छन्। पैसा धेरै भनिस् भन्छन्, इन्डिया (भारत) बाट आएर ठूलो कुरा गर्छस् भन्छन्,' तोपिन्द्रले भने, 'यस्तो गाली सुन्दा मन दुख्छ। तर आजकाल वास्ता गर्न छाडेँ। मलाई कामको मतलब छ। असल मान्छे पनि आउँछन्, तिनलाई सम्झेर मन बुझाउँछु।'
काठमाडौंको सडकमा बसेर बिताएका दुई दशकमा उनले थुप्रै अड्चनहरू खेपेका छन्।
पहिलो वर्षको कुरा हो। उनी खेतीका लागि घर गएका थिए। एक महिनापछि फर्किँदा त उनी बसेको ठाउँमा अर्कै मान्छे आएर बसेको रहेछ।
तोपिन्द्र अलमल्ल परे। आफूले काम गरिरहेको ठाउँ अर्कैको भयो, अब के गर्ने? कता बस्ने?
उनी त्यहाँ बसेका अर्का व्यक्तिसँग गफ गर्न गए। कामको कुरा सोधे।
तर यो मेरो ठाउँ हो, छोडदिनु भन्न सकेनन्।
'त्यो मान्छे पनि नयाँ रहेछ। त्यहीँ बसेर काम थालेको रहेछ। नयाँ मान्छेलाई कति दुःख हुन्छ भन्ने त मलाई थाहा छँदै थियो,' उनले भने, 'उसलाई मेरो ठाउँ छोड्, अन्तै जा भन्न सकिनँ। मैले नै अर्को ठाँउ खोजेँ।'
बीस वर्षमा उनले हजारौं मान्छेका जुत्ताचप्पल मर्मत गरे। ती मान्छेले कयौं जोर जुत्ताचप्पल फेरे होलान्। सामानको भाउ कहाँबाट कहाँ पुगिसक्यो। आँखै अगाडि बडेमानका घर बने। बसेको बाटो फराकिलो भयो।
यसबीच उनको कपाल फुलेर सेताम्मे भयो। आँखाका लोती तल झरे, गालाको छाला चाउरी पर्यो। सिमेन्टको चिसो भुइँमा बस्दाबस्दा शरीर करकर खान थालेको छ। दम बढ्न थालेको छ। दिनभरिको कामले शरीर थाकेको हुन्छ तर निद्रा पर्न कम भएको छ। घरमा भएकी श्रीमतीको यादले पनि सताउँछ।
तोपिन्द्रले एकै सासमा यी सबै घटना र दृश्यहरू स्मरण गरे।
उनी सडकमा बसेकै अवधिमा यति धेरै परिवर्तन भए पनि उनको आर्थिक जीवन जहाँको तहीँ छ। ऋणको भारले अझ कठिन हुँदै छ।
तोपिन्द्र अब घर फर्किन चाहन्छन् तर निर्णय गर्न सकेका छैनन्।
अब त दैनिक जीविकानिम्ति जुत्ताचप्पल सिलाउनु पनि छैन। खेतीले नै पुग्छ। पाँचै जना छोरीको बिहे भइसक्यो। तैपनि काठमाडौंको सडकमा धुँवाधूलो सहँदै जुत्ताचप्पल मर्मत गर्नु उनको बाध्यता भएको छ। पाँच वटी छोरीको बिहेमा दाइजो दिँदा लागेको ऋणको भारीले थिचेको छ।
दाइजो लिनु–दिनु कानुनविपरीत हो भन्ने उनलाई थाहा छैन।
'मैले एउटा पनि अक्षर चिनेको छैन। छोरीको ससुरालबाट मागेको दाइजो दिनैपर्छ। गाउँमा सबैले दिएको हुन्छ। दाइजो नदिए छोरीलाई सुख हुँदैन,' तोपिन्द्रले भने, 'कानुनले के भन्छ मलाई थाहा छैन। छोरीको खुसीका लागि हो। हाम्रोतिर त दाइजो दिने चलन छ।'
उनले दुई जना छोरीलाई १० कक्षासम्म पढाए। तीन जनाले अक्षर चिन्नेभन्दा माथि पढ्न पाएनन्।
'दाइजो दिने–लिने कुरा पक्का भएपछिमात्रै बिहेको अन्तिम टुंगो हुन्छ,' उनले भने।
उनका छोरी माग्न आउनेहरूले पनि पहिले दाइजोकै कुरा गरे। दुबै पक्षबीच छलफल भयो। केटापक्षले माग थोरै घटाए, तोपिन्द्रले केही बढाए। पाँचै जना छोरीको बिहे यसरी नै टुंगो लाग्यो।
'हाम्रोतिर त केटीको कुराभन्दा पहिले दाइजोको कुरा हुन्छ। केटी मन परे पनि दाइजोमा चित्त बुझेन भने बिहे हुँदैन,' उनले भने, 'ऋण खोजेर भए पनि दाइजो दिनुपर्छ। मैले पनि ऋण लिएँ। महिनैपिच्छे ब्याज तिर्छु भनेपछि ऋण पाएँ।'
उनका अनुसार पाँच जना छोरीको बिहेमा दाइजोमा मात्रै पन्ध्र लाख रूपैयाँ खर्च भयो। बिहेको अरू खर्च अलग्गै छ। दाइजोको १५ लाख सबै ऋण हो, यसमा हालसम्म दुई लाख रूपैयाँ मात्र तिरेका छन्। महिनैपिच्छे ब्याज बुझाउँछन्।
'ऋण लिएपछि तिर्नै पर्छ। तिर्छु भनेको समयमै नतिर्दा अर्कोपटक पाइँदैन। छोराहरूको पनि पेसा छैन। मैले नकमाई हुँदैन,' उनले भने।
तोपिन्द्र बिहान चाँडै खाना खाएर काममा बस्छन्। दिनमा सरदर १५ सय रूपैयाँसम्म कमाइ हुन्छ। घरभाडा, खाना र अन्य खर्च गरेर बचेको पैसाले ऋण तिर्दै छन्।
जेठो छोराको बिहे भएको छ। उनले आफ्नो परिवार चलाएका छन्। कान्छा छोरा जिन्स पाइन्ट सिउने काम सिक्दैछन्। बिस्तारै छोराहरूबाट मद्दत हुने आशा उनको छ।
'बुढी हिँड्न सक्दिन। बुढेसकालमा सँगै बस्न पाए हुन्थ्यो,' तोपिन्द्रले मनको बह सुनाए, 'माया लाग्छ नि, तर ऋण सम्झेर आतेस हुन्छ, घर सम्झेर भएन। ऋणले घर सम्झिन पनि दिँदैन।'
उनको मनमा कुरा खेलिबस्छ– यो ऋणबाट कहिले पार पाउँला! बुढीसँगै बस्ने दिन कहिले आउला! यही धुवाँधूलोमा जीवन जाने पो हो कि!