प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रेट्रोफिट भइरहेको सिंहदरबारको पश्चिम खण्डको काम छिटो सक्न निर्देशन दिएका छन्।
बिहीबार रेट्रोफिट भइरहेको भवनको स्थलगत अनुगमन गर्दै उनले काम चाँडै सक्न निर्देशन दिएका हुन्।
अनुगमन क्रममा प्रधानमन्त्री प्रचण्डले भूकम्पले क्षति पुर्याएको सिंहदरबारको रेट्रोफिटिङ सकेर पुनः पुरानै अवस्थामा निर्माण गर्नु सुखद भएको बताए।
'काम सन्तोषजक ढंगले अघि बढेको छ, अब बाँकी काम पनि तत्काल सम्पन्न गर्नुहोस्,' उनले भने।
केन्द्रीय आयोजना कार्यान्वयन एकाइ भवन र निर्माणमा संलग्न शर्मा न्यू टेक्निकल जेभीका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले पुनर्निर्माण सम्पन्न भएपश्चात देखिने बाहिरी र भित्री कक्षहरूको ‘थ्रिडी एनिमेसन’ को समेत अवलोकन गरेका थिए। प्रधानमन्त्री प्रचण्डले इन्जिनियर, प्राविधिक र पुनर्निर्माण कार्यमा संलग्न सबैलाई धन्यवाद दिए।
अनुगमन क्रममा सहरी विकासमन्त्री सीता गुरूङले रेट्रोफिटिङ सम्पन्न हुने चरणमा पुगेको बताउँदै इन्टेरियरको काम पनि अघि बढाउने गरी काम भइरहेको जानकारी दिइन्।
पुनर्निर्माण भइरहेको पश्चिम खण्डमा प्रधानमन्त्री र मुख्यसचिवको कार्यकक्ष रहने गरी गृहकार्य गरिएको पनि उनले जानकारी दिइन्।
सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन एकाइ भवनले सिंहदरबार पश्चिम खण्डको रेट्रोफिटिङ गरिरहेको छ।
२०७६ सालबाट सुरू भएको रेट्रोफिटिङ हाल ९५ प्रतिशत सम्पन्न भएको जनाइएको छ।