उनकी छोरीले आफ्नो झोलाबाट एउटा सानो चिर्कटो झिकिन् र आमालाई दिइन्, आमाले मलाई।
त्यो थियो जिल्ला प्रशासन कार्यालयले दिएको पर्चा। त्यसमा उनीहरू आठ हजार रूपैयाँ धरौटीमा छुटेको कुरा मात्र उल्लेख थियो। यसपालि भने मुद्दाको पर्चामा उनको वास्तविक नाम तोकिएको छ।
वर्षौंदेखि सरकारी मिसिलमा उनलाई चिन्ने अर्कै नाउँ थियो, छ। त्यो मिसिलमा सरकारले उनलाई नाम दिएको थियो —सिस्ने हिमाल!
यसपालि आफूविरूद्ध त्यही सरकारले लगाएको अभद्र व्यवहारको अभियोग सहन गाह्रो भएको उनी बताउँछिन्।
'सरकार त हामी जस्ता गरिबलाई हेर्न होइन रहेछ,' उनले भनिन्, 'हामीलाई त हरेक चोकमा डन्डा समाएर बसेका पुलिस देखेर बहुत डर लाग्छ अनि म बाटो तर्केर हिँड्छु।'
यो अभियोगसम्म डोर्याउने आफ्नै कथाले विचलित छिन् सिस्ने हिमाल। उनी एक्लै छैनन्, उनकी २२ वर्षीया छोरी पनि छिन्। तिनै छोरीलाई 'वैरी' का आँखाबाट जोगाउन रूकुमबाट उनी राजधानी आएकी थिइन्।
राजधानीमा हन्डर खाएका पाँच वर्षपछि उनले आफ्नी छोरीलाई सुरक्षाकर्मीबाटै बचाउन सकिनन्। उनले ११ दिन हिरासत बसेर आएको कुरा सुनाएपछि घटनाको तथ्य बुझ्न म सम्बन्धित जिल्ला प्रशासन कार्यालय गएँ जहाँ प्रहरीले उनीविरूद्ध सार्वजनिक अपराध अन्तर्गतको अभद्र व्यवहारसम्बन्धी कसुर दर्ज गरेको छ। प्रहरीलाई मुख छोडेको अभियोगमा यो मुद्दा लगाइएको रहेछ।
उनीहरूले मुख छोडेकै थिए? छोडेकै भए पनि किन छोड्नुपरेको थियो?
त्यसको लामो कथा जान्नुअघि प्रहरीले उठाएको प्रतिवेदनकै आधारमा सरकारी वकिलले लगाएको अभियोगपत्रमा के छ हेरौं।
अभियोगपत्रमा लेखिएअनुसार, असार १ गते बेलुका ५ बजेको समयमा राजधानीको एउटा मुख्य सडकमा आमाछोरी हिँडिरहेका थिए। ड्युटीमा खटिएका प्रहरीलाई उनीहरूमाथि शंका लाग्यो। टोलीले दुवैलाई नियन्त्रणमा लियो। त्यसरी नियन्त्रणमा लिएपछि प्रहरी टोलीमाथि आमाछोरीले मुख छोडेर गाली गरे।
प्रहरीले उठाएको प्रतिवेदनमा पनि यही बेहोरा छ।
'सडकमा शंकास्पद गतिविधि गर्दै हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई सोधपुछ गर्दा उल्टै ड्युटीमा रहेका प्रहरी टोली उपर अश्लील शब्द प्रयोग गरी गालीगलौज गरी अभद्र व्यवहार गरेको हुँदा पक्राउ गरी दाखिला गरेका छौं,' प्रहरी प्रतिवेदनमा पनि भनिएको छ।
प्रहरीको प्रतिवेदन र सरकारी वकिलको अभियोगपत्रमा उनीहरू कस्तो खालको गतिविधि गर्दै हिँडेका थिए जसले गर्दा प्रहरीलाई शंका लाग्यो भन्नेबारे एक शब्द उल्लेख छैन।
उनीहरूले कसैलाई बाटो हिँड्न दिएका थिएनन् कि, कसैलाई हैरान बनाएका थिए कि, कसैको पिछा गरिरहेका थिए कि, कसैलाई तथानाम गाली गर्दै थिए कि, त्यस्तो के गरेका थिए र पुलिसलाई शंका लाग्यो? यसको कुनै विवरण अभियोगपत्रमा छैन।
प्रहरीले सोधपुछ गर्न पाउँछ तर अभियोगपत्र वा प्रहरीको प्रतिवेदनअनुसार नै भन्ने हो भने पनि सामान्य सोधपुछ गर्दागर्दै उनीहरूले मुख छोडेका छैनन्। प्रहरी प्रतिवेदनमै नियन्त्रणमा लिएर सोधपुछ गर्दा अश्लील गाली गरेको भनिएको छ। के प्रहरीलाई शंका लाग्दैमा कसैलाई पक्राउ गर्न वा नियन्त्रणमा लिन पाइन्छ?
यो प्रश्न हामीले एक सरकारी वकिललाई नै सोध्यौं।
उनले भने- पाइन्नँ।
पक्राउ गर्न त कसैले कुनै कसुर गरिरेहेको, गर्न लागेको वा गरिसकेको भन्ने स्पष्ट आधार हुनुपर्छ।
'पक्राउ गरिसकेपछि पनि शंकास्पद गतिविधि भनेको के हो भनेर स्पष्ट खुलाउनुपर्छ,' उनले भने, 'शंका लाग्दैमा सजिलै बाटोमा हिँडिरहेको मान्छेलाई पक्राउ गरेर जति दिन मन लाग्छ त्यति दिन थुन्न पाइने कानुन हामीकहाँ छैन।'
सरकारी वकिलको अभियोगपत्रमा पनि प्रहरीलाई अश्लील गाली गरेको स्वीकार गर्दै बयान गरेकाले प्रहरीको आरोप पुष्टि हुने उल्लेख छ। उनीहरूको बयानमा 'आफूलाई एक्कासि नियन्त्रणमा लिएपछि भनाभन हुँदा आवेगमा आएर मुख छोडेको' उल्लेख छ।
सामान्य सोधपुछ गर्नेबित्तिकै सुरूमै उनीहरूले प्रहरीलाई मुख छोडेको भए त गल्ती भयो। उनीहरूले 'गल्ती गर्नु' अघि नै प्रहरीले उनीहरूलाई नियन्त्रणमा किन लियो भन्ने प्रश्नको जवाफ अभियोगपत्रमा देखिँदैन। असार १ गते नियन्त्रणमा लिएको प्रहरीले जरूरी पक्राउ पुर्जी असार ३ गते काटेको छ। पक्राउ गरेको पनि २४ घन्टाभित्र अदालत वा मुद्दा हेर्ने अधिकारीको अनुमति लिइसक्नुपर्ने कानुनी व्यवस्था प्रहरीले पालना गरेको छैन।
पक्राउ गरेको ११ दिनमा, असार ११ गते अभद्र व्यवहार अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा मुद्दा चलाइएको छ। थुनछेक आदेश गर्दै प्रशासनले ८ हजार रूपैयाँ धरौटीमा आमाछोरीलाई छोडेको छ।
'हामीलाई त आठ हजार जुटाउन पनि कति गाह्रो भएको थियो। दुवै हिरासतमा थियौं। आफ्नो कोही मान्छे यहाँ छैन। एकजना प्रहरीले नै मलाई मैले काम गर्ने ठाउँसम्म लगिदिइन्। मैले त्यहाँ एक महिनाको तलब मागेर ल्याएर तिरेको हो,' सिस्ने हिमालले भनिन्।
सरकारी वकिलको अभियोगपत्रमा उनलाई मुलुकी अपराध संहिताको दफा ११८ अनुसारको कसुर गरेकाले एक वर्षसम्म कैद, दस हजार रूपैयाँ जरिवाना वा दुवै सजाय गर्न माग गरिएको छ। उक्त दफामा अभद्र व्यवहार गर्न नहुने भनिएको छ। उनीहरूले प्रहरीलाई अभद्र व्यवहार गरेकोमा क्षतिपूर्ति समेत भराउन माग गरिएको छ।
सिस्ने हिमालसँग भने प्रहरी र सरकारी वकिल मिलेर लगाएको यो अभियोगको कुनै प्रतिलिपि छैन। आफूलाई सरकारले कति समयको कैद कति जरिवाना र कति क्षतिपूर्ति भराउन माग गरेको छ भन्ने उनलाई थाहा पनि छैन।
'उनीहरूले कागजमा के के लेखेका छन्, थाहा छैन। मुद्दै झुटो हालेका छन्, मलाई कागज के दिन्थे,' उनले भनिन्।
उनले हामीलाई अर्कै घटना सुनाइन्।
छोरीले काम गरेको ठाउँबाट पैसा नपाएपछि उनी प्रहरीकहाँ उजुरी दिन भन्दै गएकी रहिछन्। प्रहरीले उनको कुरा सुनेजस्तो उनलाई लागेन।
'यहाँ कसैले नसुने गुनासो सुनाउन हेडक्वार्टरमा जान पाइन्छ' भनेर उनलाई कसैले भनेको थियो। उनी नक्सालस्थित प्रहरी हेडक्वार्टरमा गुनासो लिएर गइन्। आफ्नो कुरा सुनेपछि हेडक्वार्टर (उनलाई थाहा छैन हेडक्वार्टरमा कसले उनको गुनासो सुनेको थियो) ले 'त्यहीँ जानू काम हुन्छ' भन्दै फर्कायो।
जब उनी पहिलेकै प्रहरी कार्यालय पुगिन्, त्यहाँका प्रमुख अंगुर जिसीले 'मेराविरूद्ध उजुरी दिन हेडक्वार्टर जाने?' भन्दै थर्काए।
'डिएसपी अंगुर जिसीले मलाई तथानाम भने। उनले गाली गर्न थालेकै बेला मैले मोबाइल झिकेर भिडिओ खिच्न थालेकी थिएँ। त्यसबेलै हामी आमाछोरीलाई समातेर भित्र हालेका हुन्,' उनले भनिन्, 'उनीहरूले मेरो मोबाइल खोसेको बेला तानातान भएको थियो। त्यसपछि उनीहरूले अभद्र व्यवहारको मुद्दा लगाएका छन् भन्ने थाहा छ। मुद्दामा के के लेखेका छन्, थाहा छैन।'
उनले यो घटना विवरण सरकारी वकिललाई सुनाएकी थिइन्। काठमाडौंका जिल्ला सरकारी वकिल दिनेश भट्टराईले पनि आमाछोरी लिएर आएका प्रहरीलाई आफूले के मुद्दा हो भनेर सोध्दा 'डिएसपी साहेबको भिडिओ खिच्न लागेकाले पक्राउ गरेको' भनेको बताए।
'डिएसपी साहेबको भिडिओ खिचेपछि पक्राउ गरेको भनेका थिए। उनीहरूले पछि के लेखेर ल्याए भन्ने कुरा त मैले अहिले बिर्सिएँ,' उनले भने, 'मैले त प्रहरीलाई यति सामान्य कुरामा धेरै थुनामा नराख्नू, छिटो छोड्नू भनेको थिएँ।'
हामीले डिएसपी अंगुर जिसीलाई पनि सोध्यौं। उनले 'लामो कहानी छ' भन्दै घटना सुनाए।
'छोरीले काम गरेको ठाउँबाट पैसा नपाएको, उल्टै चोरी आरोप लगाएको भन्दै आमाछोरी हामीकहाँ आउनुभएको थियो। प्रहरीले भोलिपल्टै ती नानीले काम गर्ने ठाउँको मान्छेलाई बोलाएछन्। आमाछोरीभन्दा पहिल्यै ती मान्छे आएका थिए। उनीहरू आएर फोटो देखाउँदै चोरी भएको सुनाए। त्यसपछि आमाछोरी नै सँगै बसेर कुरा गर्न चाहनुभएनछ। तिमीहरू केही गर्दैनौ, मैले यहाँबाट न्याय पाउन्न भनेर हिँड्नुभएछ। सिधै हेडक्वार्टर जानुभएछ। मलाई हेडक्वार्टरबाट फोन आयो। त्यसपछि उहाँ फर्केर मेरोमा आउनुभयो। म बोलिरहँदा मेरो भिडिओ खिच्नुभएको रहेछ। मैले भिडिओ खिच्न पाइन्न भनेँ। तर उहाँले मान्नुभएन र हंगामा मच्चाउनुभयो। प्रहरीले मोबाइल खोसेर भिडिओ डिलिट गर्न खोज्दा उहाँले महिला प्रहरीको लुगै च्यातिदिनुभयो।'
उनको कुरा सुनेपछि हामीले सौध्यौं — तपाईंहरूले जिल्ला प्रशासन कार्यालयमा दायर गरेको मुद्दामा किन यो घटना विवरण छैन त? किन बाटोमा हिँड्दा हिँड्दै पक्राउ परेको भन्ने उल्लेख छ?
'त्यो त हामीबाट गल्ती भयो। मैले पछि यहाँ स्टाफहरूलाई पनि गाली गरेँ,' उनले भने।
सिस्ने हिमालका अनुसार उनकी छोरीले जुन ठाउँमा काम गर्थिन् त्यहाँबाट डेढ महिनासम्म पैसा पाएकी थिइनन्। उनीहरूको घरमा खानेकुरा भइराख्दैन। पैसा हुँदा किनेर खाने हो, नहुँदा भोकै। एकदिन उनकी छोरीले काम गर्ने ठाउँबाट म्याद गुज्रिएको दुइटा चाउचाउ झिकिछन्। त्यही देखेर काम गर्ने ठाउँका मान्छेले तलब नदिई निकालेछन्।
उनकी छोरीले भनिन्, 'मलाई भोक लागेको थियो। त्यति। त मेरो पनि गल्ती भयो।'
एकछिन टोलाइन् र फेरि भनिन्, 'मलाई असाध्यै भोक लागेको थियो। अनि मैले मिति गुज्रेर फालिएकामध्ये दुइटा चाउचाउ झिकेँ। मिति गुज्रेका चाउचाउ फ्याल्ने नै त हो, फ्याल्नुभन्दा म खान्छु भन्ने लाग्यो। उनीहरूले थाहा पाए। अनि मलाई घेराबन्दी गरे। अरू पनि सामान चोरेको भन्ने आरोप लगाए। वरिपरि घेरेर मलाई कागजमा साइन गर्न लगाए। जे मैले चोरेकै थिइनँ, ती पनि चोरेको भन्दै मैले साइन गरेँ।'
'मिति गुज्रेको दुइटा वाइवाइ चाउचाउ मैले झिकेको वा चोरेको, जे भए पनि हो। अरू होइन। यही कुरा प्रहरीलाई भन्न हामी आफैं गएका थियौं। तर प्रहरीले हाम्रोभन्दा उनीहरूकै कुरा सुनेपछि आमाले यहाँ हाम्रो कुरा सुन्दैनन् हेडक्वार्टर जाऔं भन्नुभयो।'
यो घटना छोरीले सुनाएपछि सिस्ने हिमालले भनिन् — बरू तिनै मिति गुज्रेका चाउचाउ चोरेकै मुद्दा लगाएको भए हुन्थ्यो नि! हामीले काम गरेको पैसा पनि त दिएको छैन!
आफ्नो पहिलो मुद्दामा न्याय कुर्दा कुर्दै हैरान परेका बेला प्रहरीले लगाएको यस्तो मुद्दाले आफू दिक्क भएको उनले बताइन्, 'म त पहिलेकै मुद्दाले हैरान छु। छोरीलाई केही नभए हुन्थ्यो। जेलबाट आएदेखि मेरी छोरी टोलाएको टोलायै छ। घरीघरी आत्तिन्छे।'
उनी पाँच वर्षअघि यिनै छोरीलाई जोगाउन भन्दै रूकुमबाट काठमाडौं आएकी थिइन्। यहाँ नै किन आएकी भने उनको मुद्दा यहाँको अदालतमा विचाराधीन थियो। अहिले पनि उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। पाँच वर्षअघि उच्च अदालतले उनकै पक्षमा फैसला गरे पनि हार्नेहरू सर्वोच्च गए। मुद्दा सर्वोच्च पुगेको चार वर्ष भइसक्यो।
हुन त सरकारी वकिलले नै उनको मुद्दा लडिदिन्थ्यो। उनलाई अदालत आइरहनुपर्ने थिएन। तर हरेक पेसीमा उनी आफैं आउँछिन्। आफ्नो मुद्दा लडिदिने सरकारी वकिललाई त उनले कहिल्यै चिनिनन्। अहिले पनि चिन्दिनन्। तर उनको मुद्दा लड्न ल्याक भन्ने संस्थाका प्रोबोनो (निःशुल्क मुद्दा लडिदिने) वकिललाई भने उनले चिन्छिन्। उनीहरूलाई खबर गर्छिन्। अदालत आउँछिन्। दिनभरिजसो अदालतमा बस्छिन्।
साँझ अर्को पेसीको खबर लिएर उनी डेरा फर्किन्छन्। २०७६ सालमै सर्वोच्च आइपुगेको यो मुद्दा झन्डै तीन वर्ष त फाँटमै थन्कियो। झगडिया (मुद्दाका दुवै पक्ष) झिकाउने आदेश गर्न समेत दुई वर्ष लाग्यो। त्यो दुई वर्षपछि पनि उनी हरेक दुई महिनामा सर्वोच्च पुगेर खबर लिन्थिन्। झगडिया झिकाउने आदेशपछि पेसी चढेको उनको मुद्दा एउटा इजलासदेखि अर्को इजलासमा झुलेको झुल्यै छ।
'अब अर्को पेसी भदौ २५ मा छ भनेर अचेल म गएकी छैन,' उनले भनिन्।
उनी धेरै वर्षअघि सिरियामा बेचिएकी थिइन्।
विदेशमा काम गर्न भन्दै पुर्याइएकी उनले सिरिया पुगेपछि बल्ल आफू बेचिएको थाहा पाएकी थिइन्। त्यसपछि अनेक जुक्ति लगाएर, धेरै हन्डर खाँदै फर्किइन्। फर्केर आएपछि उनी उजुरी लिएर आफ्नै जिल्लाको प्रहरीमा गइन्। उनको कुरा प्रहरीले सुनेन। प्रमाण सहितको जाहेरी दर्ता गर्न समेत उनले चार महिनासम्म प्रहरीसँग लड्नुपरेको थियो।
उजुरी नलिएपछि उनले आफ्नो जिल्लाका प्रहरी प्रमुखलाई भनेकी थिइन् — तपाईं केही गर्नुहुन्छ कि मलाई बेच्नेलाई मै केही गरौं? दिनदिनै यहाँ धाउनुभन्दा बरू यतै जेल बस्न सजिलो हुने देखेँ मैले!
त्यसपछि बल्ल प्रहरीले उजुरी लियो। बल्लबल्ल जाहेरी दर्ता गरेको पुलिसले अनुसन्धान सकेपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भयो। अदालतमा मुद्दा गएपछि गाउँमा टिक्न सक्ने अवस्था भएन। अदालतले तीन वर्षपछि फैसला गर्यो। फैसला आउँदा उनी काठमाडौं आइसकेकी थिइन्।
उनलाई अदालतले गरेको त्यो फैसला चित्त बुझेन। आफूलाई बेच्नेमध्ये श्याम डंगोललाई मात्र मात्र कैद भएको थियो। ज्ञानेन्द्र चनरा, सुनिता मुरमुरलाई सफाइ दियो। बेचविखनमा संलग्न टोपलाल अधिकारी र भक्ते परियारलाई भने सरकारी वकिलले मुद्दा चलाएको पनि रहेनछ।
त्यसपछि मुद्दा उच्च अदालत गयो।
उच्च अदालतल पाटनले भने उनलाई बेच्नेहरूलाई कडाभन्दा कडा सजाय गर्यो। बीस वर्ष कैद सजाय भयो। सरकारी वकिलले मुद्दा नचलाएका तर बेचविखनमा संलग्न अरू दुई जनालाई खोज्न आदेश दियो। टोपलाल र भक्ते परियारलाई मुद्दा नचलाउने सरकारी वकिललाई कारबाही गर्न भन्यो। सिस्ने हिमाललाई ६ लाख रूपैयाँ क्षतिपूर्ति दिन पनि फैसलाले भनेको थियो।
आफू काठमाडौं आएको दुई वर्षपछि यस्तो फैसला सुनेर उनी खुसी भएकी थिइन्। यी पाँच वर्षमा मैले उनलाई खुसी देखेको त्यही एकपटक हो। न्याय पाएको खुसीमा उनी आफ्नो ओठ गालासम्म तन्काएरै हाँसेकी थिइन्।
अहिले फेरि उनको मुद्दा सर्वोच्च पुग्यो। मुद्दा अदालतमा झुलिरहेको छ, काठमाडौंमा उनी!
यो काठमाडौंमा उनलाई धेरै केही चाहिएको छैन, खोजेको मात्र न्याय हो।
'त्यही मुद्दाका लागि त यत्रो दुःख पाएर पनि काठमाडौंमा बस्या हो म,' उनी बेला बेला भन्छिन्, 'मलाई न्याय चाहिएको हो। त्यति भए पुग्छ। सबै प्रमाण त मैले नै ल्याएर दिएकै छ। राम्रोसँग हेर्छन् कि हेर्दैनन् न्यायाधीशले प्रमाण? हेरे भने मैले मुद्दा जित्छु।'
यो सहरमा उनी कसैको सहारामा बसेकी होइनन्। न्याय पाउँछु कि भन्ने एउटा आशाको त्यान्द्रोमा समातेर उनले काठमाडौंमा दैनिकी गुजार्छिन्। मुद्दा सरेको सर्यै गर्दा, काम नपाइँदा, छोरीको पिरले सताउँदा, पाइएको काममा पनि मान्छेहरूको हेपाइ सहनुपर्दा उनलाई यो काठमाडौंदेखि दिक्क लाग्छ।
कहिले कहिले उनलाई पनि थकाइ लाग्दो हो, अनि भन्छिन्, 'म यो सहर छोडेर इन्डिया जान्छु। मुद्दासुद्दा जे सुकै होस्।'
फेरि उनी सम्हालिन्छिन्। न्याय पाएपछि वर्षौंदेखिको सबभन्दा ठूलो पीडाबाट मुक्त हुनेछु भनेर मनले उनलाई सम्झाउँदो हो। उनको मुद्दा सर्वोच्चमा जानु र कोरोना महामारी सुरू हुनु एकैसाथ भएको थियो। धन्न उनले त्यति बेला छोरीलाई एउटा गैरसरकारी संस्थाले चलाएको होस्टलमा राखेकी थिइन्। आफू एक्लै बस्थिन्। कुनै कार्यालयमा सरसफाइ कर्मचारी थिइन्। दिनहरू केही सहज भएका थिए। तर कोरोना लागेसँगै काम बन्द भयो।
काम नभएपछि उनको हातमुख जोर्ने बाटो बन्द भयो। एकदिन उनलाई घरभेटीले पनि निकालिदिए।
'त्यसपछि म आफ्नो किर्पे ब्यागमा सामान उठाएर भद्रकाली मन्दिर आइपुगेँ। दिनभरि त तलै बसेँ। राती डर लाग्यो र रूखमा चढेर बसेँ,' उनले भनिन्।
त्यसपछि उनले कहिले मानवसेवा आश्रम, कहिले गाउँकै बहिनीको कोठा, कहिले काम गर्ने घरको एउटा कुनामा दिन काटिन्। कोरोना सकिएपछि छोरीको होस्टल बसाइ सकियो। दुई वर्षयता उनीहरू एउटा सानो कोठा भाडामा लिएर बस्छन्।
महिनाको १२ हजार रूपैयाँ आउने जागिर पनि प्रहरीले थुनेपछि छुटी हाल्यो। छोरीले बल्लबल्ल पाएको जागिर त झन् पहिल्यै छुटेको थियो। अहिले सिस्ने हिमालले एउटा घरमा सरसफाइको काम पाएको बताइन्।
'कहिले एक छाक त कहिले आधा पेट खाएर पनि बाँचिदो रहेछ,' उनी भन्छिन्, 'धेरै दुख पाएँ मैले। यही छोरीलाई केही नहोस् भन्ने थियो। अब त उसका पनि दुःखका दिन सुरू भए।'
पढ्नुहोस् सिस्ने हिमालको कथा
'उनीहरूले मलाई बेचेका थिए!'
'मैले त्यहाँबाट (सिरियाबाट) फर्की आउँदा मजस्तै बेचिएका अरू केटीहरूसँग बाचा गरेकी थिएँ, तिमीहरूलाई जसरी पनि निकाल्छु भनेर, त्यो बाचा अधुरै हुने भयो,' चार वर्षअघि उनले भनेकी थिइन्, 'आफ्नै न्यायका लागि लड्न मलाई यति गाह्रो छ!'
उनका आँखा फेरि छल्किए।
यही छल्किएका आँसुमा लुकेको थियो, उनको 'डार्क स्टोरी'।
उनको कथा उनकै बिहेको दिनबाट सुरू हुन्छ।
उन्नाइस वर्षअघि उनको गाउँमा एक जना केटीको बिहे हुने भयो। बिहेको अघिल्लो रात ती केटी भागिन्।
बेहुली लिन आएको जन्ती यसै फर्काउन हुन्न भन्ने मान्यता उनको गाउँमा पनि थियो। ठूलाबडाले उनलाई पो बेहुली बनाउने निर्णय गरे। उनलाई कसैले एकफेर पनि सोध्न जरूरी ठानेनन्। लतार्दै-घिसार्दै जग्गेमा बसाले।
उनको बिहे भयो।
नेपालको कानुनले त्यसलाई 'जबर्जस्ती बिहे' भन्छ। यो कुरा उनका आमाबाबुलाई थाहा थिएन। उनलाई पनि थिएन। तर उनलाई आफूमाथि अन्याय भएको महसुस भने भयो रे। प्रतिकार गर्न उनीसँग रूनुको विकल्प थिएन। आँसुले उनका आमाबा र दाजुलाई पगालेन।
बिहे गरेको केही समयपछि उनका पति भारत गए। यता उनकी छोरी जन्मिइन्। बाबु छोरी हेर्न पनि आएनन्। एक वर्षकी छोरी लिएर उनी ससुराका साथ पति भएको ठाउँ गइन्।
उनले त्यसपछि थाहा पाइन्, पतिले अर्कै बिहे गरेका रहेछन्। उनलाई बसिरहेको ठाउँमै छाडेर उनी दोस्री पत्नीसँग गए। त्यसयता न उनले खोज्दै गइन्, न पति भेट्न आए।
उनले त्यहीँ एउटा औषधि कम्पनीमा काम पाइन्। राम्रो तलब थियो। छोरीसँग उनका दिन सुख्खले बित्न थाले। छोरी १३ वर्षकी हुँदासम्म उनी त्यहीँ बसिन्।
बस्ने ठाउँ नजिकै एक जना मान्छेले सानी केटी बलात्कार गर्यो। उनी बेस्मारी डराइन्। आफ्नी छोरीलाई पनि कसैले यस्तै गरिदियो भने! उनी यस्तो कल्पनाले मात्रले थरथरी भएकी थिइन्।
उनको घरमा एउटा कुकुर थियो। उनी र उनकी छोरीलाई कसैले छुनसम्म हुन्नथ्यो, कुकुरले झम्टिहाल्थ्यो। त्यो कुकुरको सहारामा उनी आफूलाई सुरक्षित महशुस गर्थिन्।
एकदिन अचानक त्यो कुकुर मर्यो। कसैले उसलाई विष हालेको खाना दिएछ। उनी झन् आत्तिइन्। त्यो घटनाको अर्को मिनेटमै उनले फैसला गरिन्- म आफ्नै देश, आफ्नै गाउँ फर्किन्छु।
गाउँमा आफन्तकै वरिपरि छोरी सुरक्षित हुर्केली भन्ठानेर उनले झोला कसिन्। बैंकमा ७/८ लाख रूपैयाँ थियो। झिकिन्। भारू १० हजार भने त्यहीँ छाडिन्।
गाउँ त आइन्, तर गाउँमा दु:खले उनलाई पर्खेर बसेको रहेछ।
उनले छोरीको भर्ना पाइनन्। जन्मदर्ता गर्न नगरपालिका गइन्। बिहेदर्ता देखाइन्। सचिवले उनको नागरिकता मागे। बनाएकै थिइनन्। सचिवले नागरिकता र छोरीको जन्मदर्ता दुवैका लागि पतिका घरको अभिभावक ल्याउन भने।
'बिहे गरेपछि पतिकै नामबाट नागरिकता लिनुपर्ने रहेछ, आमाबाबुको नामले नहुने,' उनले भनिन्, 'आफ्नो बूढा थिएन। सासूससुरासँग सम्बन्धै टुटेजस्तो थियो। मलाई एकदम गाह्रो भयो।'
उनी आफ्नी जेठानीकहाँ गइन्। उनले के मान्थिन् र, उल्टै सुनाइन्, 'अहिले जन्मदर्ता बनाइदियो भने पछि अंश माग्छे, म जान्नँ।'
उनलाई पतिको आस थिएन, न त घरको सम्पत्तिको लोभ। आमाछोरीलाई दैनिक गुजारा टर्ने टन्न पैसा थियो। त्यसमाथि उनले काम गर्ने सोच बनाइसकेकी थिइन्। तर, राज्यले उनलाई पति वा उनको घरका व्यक्तिको सनाखतबिना चिन्दैनथ्यो।
जिल्ला प्रशासन कार्यालयमा उनले दिएको नागरिकताको निवेदनमाथि मुचुल्का उठिसकेको थियो। कार्यालयले उनकी नन्दलाई डाक्यो। उनले पनि सनाखत गर्न मानिनन्।
एक जना सरकारी कर्मचारीले उनलाई सल्लाह दिए, 'अंश मुद्दा लड्नुहोस्। बिहे दर्ताका आधारमा अंश पाइन्छ। अदालतले नै उसकी श्रीमती भनेर अंश दिलाएपछि त्यही फैसलाका आधारमा सिडिओले नागरिकता दिन्छ।'
उनले त्यसै गरिन्।
पतिको नामबाट नागरिकता लिन जिल्ला अदालतमा अंश मुद्दा हालिन्। मुद्दा टुंगो लाग्न तीन वर्ष लाग्यो। भारतबाट ल्याएको रकममध्ये तीन/चार लाख त मुद्दा लड्ने वकिलहरूलाई नै बुझाइन्।
फैसला उनको पक्षमै भयो। अंशमा पाएको जग्गामा एउटा सानो झुपडी अड्याउन पनि पुग्दैनथ्यो। मुद्दा लड्दा उनले हाम्रो देशको न्याय प्रणालीबारे थोरबहुत जान्न भने पाइन्।
'न्यायाधीशले त न्याय गर्छ, तर मुद्दा लेख्ने लेखनदासले गडबड पार्दो रहेछ,' उनले भनिन्, 'न्यायाधीशले कागज हेरेर फैसला गर्ने हो। कागजमा गडबडी भयो भने न्यायमा गडबडी हुने रहेछ।'
उनलाई जति अंश पाए पनि केही गुनासो थिएन। किनभने, त्यही एक टुक्रा जमिनले उनलाई नागरिकता दिलाउँथ्यो। छोरीको जन्मदर्ता बन्थ्यो। उनले स्कुलसँग हारगुहार गरेर जन्मदर्ताबिनै छोरीलाई स्कुलमा भर्ना गरेकी थिइन्।
फैसला भए पनि जग्गा आफ्नो नाममा ल्याउन उस्तै सकस भयो। सरकारी कर्मचारीलाई कागजी प्रक्रियाले मात्र नपुग्ने रहेछ भन्ने पनि उनले थाहा पाइन्।
'एउटा बियर भए पनि खुवाउनैपर्ने, उल्टै हलानो फलानो भन्ने,' उनी अहिले पनि झोक्किइन् ती कर्मचारी सम्झेर।
जति गर्दा पनि जग्गा आफ्नो नाममा नआएपछि उनले अदालतमै गएर कर्मचारीलाई थर्काइन्, 'बिहान बेलुकाको गर्जो टार्न पर्ने मान्छे मुद्दा लड्दै हिँड्न कसरी भ्याइन्छ?'
ती कर्मचारी उनीसँग झर्किए।
उनले त्यसपछि भने गाली नै गरिन्, 'तिमीहरू घुस नभई काम नगर्ने, अझ ठूलो स्वर गर्ने?'
त्यहाँ एक जना पत्रकार पनि रहेछन्। उनको र कर्मचारीको सवालजवाफ सुनेपछि एफएममा समाचार बज्यो। उनले त्यसको पत्तै पाएकी थिइनन्। रेडियोमा पनि सुन्न पाइनन्।
आफू पहिलोपटक समाचार बनेको कुरा मलाई सुनाउँदा पनि उनको अनुहार उज्यालियो। ओठ विस्तारै तन्केर मुस्कान नाच्यो।
'म कसैलाई पिर्दैन, गाउँमा गएर सोध्नुस्, सबैले मलाई कति तारिफ गर्छन्, तर गल्ती गर्नेलाई मैले पानीमुनि गए पनि नछोड्ने हो,' उनले दृढतासाथ भनिन्।
त्यसरी अंश र नागरिकता लिएपछि उनी ढुक्कले बसेकी थिइन्। त्यसको दुई वर्षमै विदेश जाने चक्करमा फसिन्।
ठूलोबुबाकी छोरीले एकदिन उनलाई 'विदेश गएर पैसा कमाऊ अनि घर बनाएपछि मात्र तिमीहरूको भविष्य राम्रो हुन्छ' भन्दै सल्लाह दिइन्।
ती ठूलोबुबाकी छोरी रेणु पनि विदेशमै थिइन्। भतिजीले यस्तो पैसा कमाउँछ भन्ने उदाहरण सुनेपछि उनलाई लोभ लाग्यो। त्यो लोभको केन्द्रमा थियो- छोरी र आफू बस्ने सानो घर।
मुद्दा सकिएको दुई वर्ष बितिसकेको थियो। उनकी भतिजी विदेशबाट आइन्। भतिजीको बिहे आफ्नै काका ससुराका छोरा ज्ञानेन्द्रसँग भएको थियो।
भतिजीले विदेशबारे कुरा गरे। उनी जाउँ की नजाउँको दुबिधामै थिइन्। एक मनले भविष्य कल्पिन्थ्यो, गैहालुँजस्तो हुन्थ्यो। अर्को मनले छोरी एक्लै पर्छे भन्ने सोच्थ्यो र ह्या होस् भन्ने हुन्थ्यो।
आखिरमा छोरीकै लागि भविष्य कल्पिने मनले जित्यो। भतिजी र देवर दुवैको सल्लाहमा कम्पनीमा काम गर्न विदेश जाने निर्णय गरिन्।
पासपोर्ट बनाउने र उतै विदेशको काम खोज्ने भनेर उनीहरू काठमाडौं आए। पार्सपोर्ट बनाएको दिन ज्ञानेन्द्रले भने, 'आज विदेश बस्दाको एक जना साथीसँग मेरो भेट भयो नि।'
भोलिपल्ट उनले ती साथीलाई उनीसँग भेटघाट गराए। श्यामलाल डंगोल भन्ने ती व्यक्तिले सिरियाबाट कामदारको अफर आएको बताए।
'म भारत बस्दा कम्पनीमा काम गरेकी थिएँ। अब पनि गए त कम्पनीमै जाने घरेलु काममा नजाने!' सिस्ने चुलीको सर्त थियो।
'५०० डलर पाइन्छ,' डंगोलले भने।
'दबाई फ्याक्टरीमा काम पाइने भए मात्र जान्छु नभए जान्न,' उनले दोहोर्याइन्।
'यी दुवै जनाको फ्यामिली भिसा हुन्छ,' डंगोलले ज्ञानेन्द्रका पति-पत्नीलाई देखाउँदै भने र उनलाई सम्झाए, 'तीन जना एउटै कम्पनीमा काम गर्ने हो। एउटै घरमा पनि बस्न सक्नुहुन्छ।'
उनलाई केही ढुक्क भयो। आफ्नै भतिजी र देवरसँगै विदेशमा बस्न पाए अलि सुरक्षा त हुन्थ्यो!
पन्ध्र दिनपछि आउनू अनि विदेश उड्ने भन्दै डंगोल बिदा भए।
उनी त्यसपछि घर भइन्। भतिजी र उनका पति ज्ञानेन्द्रले एक सातापछि गाउँ आउँछौं भन्दै उनलाई एक्लै पठाए।
उनले घर गएर पैसाको जोहो गरिन्। छोरीलाई सम्झाइन्। आफ्नी आमालाई छोरीसँग बस्न मनाइन्। गाउँका इष्टमित्रलाई छोरी अप्ठेरोमा पर्दा हेरिदिन भनिन्।
'मलाई यही विदेशको चक्करले पो बर्बाद बनायो। गाउँका मान्छेले त एकदम कदर गर्थे,' उनले भनिन्, 'मान्छे आज छ, हिँड्दा हिँड्दै छैन, त्यस्तो ठाउँमा मलाई पठाएका।'
सिरिया जान घरबाट निस्केको दिन उनको मन एकदम छटपटिएको थियो। अहिले सम्झिँदा दुर्घटनाको पूर्वाभाष थियो कि भन्ने लाग्छ। तर, छोरी र घर छोड्नुको पीर होला भनेर त्यतिखेर टारिदिएकी थिइन्।
झिसमिसेमै उनलाई तल गाडी चढाउन ठूल्दाइका छोरा आएका थिए। हिँड्ने बेला उनले भने, 'चिन्दै नचिनेको ठाउँमा त नगए हुने हो दिदी।'
उनी अरूको अगाडि कहिल्यै रून्न थिइन्। त्यो दिन हिक्का र आँसु एकैचोटि छुटे। सायद आँसुको मूल फुट्नु थियो। काठमाडौं आएपछि उनले पैसा गनेर भतिजीलाई दिइन्, भनिन्, 'हेर म अरू कसैको विश्वासमा हैन, तिमी दुवैले भनेर हिँडेको हो। भोलि केही भयो भने जिम्मेवार पनि तिमीहरू नै हो।'
डंगोल, उनी, उनकी भतिजी र ज्ञानेन्द्र चारै जना जहाज चढ्न त्रिभुवन विमानस्थल गए। त्यहाँ भित्र कुर्ने ठाउँमा पुगेपछि उनको मन झस्कियो। किनभने, त्यो विदेश जाने जहाज थिएन।
उनीहरू विराटनगर झरे। त्यहाँ ट्याक्सी लिएर आइपुगेकी सुनितालाई डंगोलले आफ्नी श्रीमती भन्दै भेटाए। अनि ट्याक्सी चढेर काँकडभिट्टा गए।
उनले फेरि डंगोललाई भनिन्, 'ओ भाइ, तिमीले मलाई तलमाथि गर्यौ भने मैले छोड्ने वाला छैन। तीन लाख दिएँ, अरू पैसा म दिन्न।'
'के कुरा गरेको भाउजू, म छैन र?' जवाफ ज्ञानेन्द्रले दिए।
देवरको कुराले उनी थोरै ढुक्क मात्र के भएकी थिइन्, ड्राइभरले भनेको सुनिन्, 'ह्या मैले त कति कटाएँ कटाएँ यसरी।'
उनको मन फेरि चिसो भयो।
काँकडभिट्टामा रहेको नेपाल-भारत सीमामा एउटा मानिस उभिएको थियो। त्यो प्रहरी भने थिएन। उसले ट्याक्सी रोक्यो। डंगोलले झ्यालबाट हात निकालेर केही पैसा त्यो मान्छेको हातमा थमायो।
उसले भन्यो, 'छिटो जाऊ।'
'दलालीले मात्र हैन नि, सिमानामा बस्नेले पनि हामीलाई बेच्न सघाउँदा रहेछन्, कसैगरी त्यसले रोकेको भए मैले हामी कहाँ जान लागेको भन्दिन्थेँ,' उनले त्यो दिन बिर्सेकी छैनन्, '२०७१ वैशाख १ गते काँकडभिट्टाबाट मलाई सिमाना कटाइएको थियो।'
'त्यो मान्छे त सिमा कुर्न बसेको थियो। आउनेजानेको सुरक्षाका लागि बसेको त्यसले हामीलाई सोधपुछ गर्न किन रोकेन भनेर बाटोभरी किचकिच गरेँ। उनीहरूले सम्झाइरहे,' उनले भनिन्।
सिमाना कटेर अर्को कुनै ठाउँ पुगेपछि कलकत्ताका लागि डंगोलले रेलको टिकेट काटे।
उनलाई कलकत्ताको एउटा घरको फ्ल्याटमा लगेर राखियो, जहाँ अरू ५०/६० जना केटी थिए। कोही तीन महिना त कोही दुई महिनादेखि बसेका रहेछन्। उनी भने त्यहाँ पाँच दिन बसिन्।
भतिजी र उनका पति ज्ञानेन्द्र अन्तै बस्न गए। जोडी भएकाले उनीहरूलाई छुट्टै कोठामा बसालेको डंगोलले बताएका थिए।
त्यहीँ आए, भक्ते परियार र टोपलाल अधिकारी। भक्ते परियारले उनलाई नआत्तिन सम्झाएका थिए। उनले भारतमा काम गरेको अनुभव बताउँदै त्यस्तै काम पाए मात्र जाने, नभए नजाने कुरा दोहोर्याइन्। भारतीय कम्पनीमा काम गर्दाको परिचयपत्र देखाइन्। भक्ते परियारले त्यसको फोटो खिचे र उता पठाइदिने बाचा गरे।
ज्ञानेन्द्र नजाने भए। उनी फेरि आत्तिइन्। उनको मनमा पसेको चिसो घटेन, झन् बढ्यो। रेणु भने जाने भइन्। ज्ञानेन्द्र एक-दुईदिनपछि आउँछन् भनेर परियारले नै सम्झाए।
उनले दुबईसम्म एउटा फ्लाइट र त्यहाँबाट सिरियासम्म अर्को फ्लाइटको टिकट व्यवस्था गरिदिए। सँगै जानेमा उनीसहित अरू पाँच केटी थिए।
टिकट दिएपछि सम्झाए, 'दुबई पुगेपछि यो टिकट च्यात्नू, सिरिया पुगेपछि त्यो।'
बोर्डिङ पास दिने बेला एयरपोर्टको कर्मचारीले उनलाई सोधिन्, 'तिमी साँच्चै घुम्न जान लाग्या हो? कि कुनै चक्करमा फसेकी त छैनौ?'
उनले हिन्दी बुझ्थिन्, तत्काल फर्काउन भने गाह्रो हुन्थ्यो। कर्मचारीलाई जवाफ दिनै लाग्दा अरू केटीहरूले 'हाम्रो साथी हो' भन्दै उनलाई तानेर लगे।
ती केटीहरू चिटिक्क परेका थिए। उनकी भतिजी पनि राम्रै लुगामा थिइन्। सायद उनको लवाइ र निरीह अनुहार देखेर कर्मचारीले सोधेकी थिइन्।
दुबई पुगेपछि सबैले टिकट च्याते। उनले च्यातेझैं गरिन्, तर च्यातिनन्। डस्टबिन नजिक गइन् र आफ्नै गोजीमा लुकाइन्। त्यहाँ अर्का मान्छे आएर उनीहरूलाई सिरिया उडाए।
अब त उनलाई नराम्रो नै हुन्छ भन्ने पूरा विश्वास थियो। दुबईमा तीन-चार घन्टा बसेपछि उनीहरू फेरि जहाज चढे। राति ८/९ बजे सिरिया झरे।
एउटा मान्छे लिन आयो। अब भने नेपाली र हिन्दी चल्दैनथ्यो। सिरियाको भाषा उनी बुझ्दैनथिन्। भतिजी रेणुले बुझ्थिन्।
त्यो मान्छेले केही कुरा गरेको थियो। रेणुले त्यो मान्छेले भनेको कुरा उनलाई बुझाइदिइन्, 'आन्टी हामीलाई त कम्पनीमा भनेर घरको काममा पो हालेको रहेछ। मेरो लोग्नेलाई पनि फसायो।'
सक्ने भए उनी त्यो मान्छेलाई गाडी फनक्क फर्काउन लगाउँथिन्।
उनीहरू पाँचमध्ये चार जनालाई मात्र गाडीमा लिएको थियो। एक जनालाई भने एयरपोर्टमै छाड्यो।
'नाम त बिर्सें, ऊ थरूनी थिई,' उनले भनिन्, 'म अहिले पनि उसलाई सम्झेर कहालिन्छु।'
ड्राइभरले उनीहरूलाई त्यहाँबाट अस्पताल लग्यो। त्यसपछि अफिस, जहाँ खिला बिक नाम गरेकी नेपाली केटी थिइन्। उनको घर पूर्वको उर्लाबारी थियो रे। नेपाली र अरबी जानेकी उनैले रहेछ दोभाषेको काम गर्ने।
अफिस पुगेर खाना खाएपछि त्यहाँको एक कर्मचारीले सबैलाई राखेर सम्झायो। उसले जे-जे भन्यो, खिलाले त्यो-त्यो नेपालीमा बुझाइदिन्थिन्।
'म कम्पनीमा गर्ने भए मात्र गर्छु, नभए गर्दिनँ,' उनले भनिन्, 'घरको काम गर्ने भए वापस जान्छु।'
खिलाले उल्थ्याइदिइन्।
त्यो मान्छे केही बोलेन, उसको निधार मात्र खुम्चियो। जुरूक्क उठेर उनलाई झ्याम्मै हान्यो। नजिकै रहेको कुर्ची उनीतिर हुत्याइदियो। यति गरेपछि शान्त भयो र भन्यो, 'हामीले तिमीहरूलाई मगाएकै घरको काम गर्न हो। यो कुरा तिमीहरूको मान्छेलाई हामीले प्रस्ट भनेका थियौं। तिमीहरूलाई त हामीले ७ हजार डलरमा किनेको हो।'
उनको शरीरका नसा सप्पै एकैचोटि फुले र तन्किए। मुटु पनि फुल्यो।
'त्यो सुनेपछि मैले केही सुन्न र केही सोच्न पनि सकिनँ,' उनले आफू बेचिएको थाहा पाउँदाको अनुभूति कहिन्।
उनका आँखा फेरि फिरफिर गरे। आँसु भरिए। ओठ थरथराए।
त्यो अफिसमा उनीहरू ५/६ दिन बसेछन्। उनीहरूलाई लस्करै राखिन्थ्यो। केही मान्छे आउँथे, सरर्र हेर्थे।
'जस्तो हामी दोकानमा समान किन्न जान्छौं नि, त्यसैगरी उनीहरू आउँथे, हेर्थे, जसलाई जुन केटी मनपर्यो उसले त्यही उठाउने रहेछ,' उनले भनिन्, 'हामी पाँचमध्ये सबभन्दा पहिले मेरी भतिजी रेणुलाई लग्यो।'
त्यो अफिसले उनीहरूलाई एक जनाको सात हजार डलरका दरले किनेको रहेछ। उसले पनि अर्कैलाई बेच्ने रहेछ। त्यो अफिस दमाकश भन्ने ठाउँमा रहेको उनले बताइन्।
मैले गुगल म्यापमा त्यो सहर देखाइदिएँ।
'यति राम्रो थियो र त्यो सहर?' उनले नक्सा हेर्दै भनिन्, 'मलाई त निकै उजाड लाग्थ्यो।'
त्यतिबेला सिरिया गृहयुद्धले ग्रस्त थियो, विश्वकै सबैभन्दा डर लाग्दो मुलुक भनेर चिनिन्थ्यो। बम पड्केका आवाजहरू जतिखेरै आइरहन्थे। हिँड्दा हिँड्दैको मानिस कतिखेर बमले उडाउने हो पत्तै नहुने देशमा उनलाई पुराइएको थियो।
उनीहरूलाई त्यहाँ बाहिरबाट चाबी लगाएर कोठामा थुन्दो रहेछ। भित्ताबाहेक केही देखिन्नथ्यो, झ्याल पनि थिएन।
पाँच दिनपछि एउटा नयाँ ड्राइभरले उनलाई गाडीमा राख्यो। उनको पासपोर्ट एयरपोर्टमा लिन आएको ड्राइभरसँग थियो। उसले नयाँ ड्राइभरलाई दियो।
उनीहरू बिहान अफिसबाट हिँडेका थिए। साँझ अर्कै सहरको एउटा ठूलो घरमा पुगे।
त्यो घरमा ठूलो परिवार थियो। एकजोडी बूढाबूढी थिए। बूढी निकै मोटी थिई। उनीहरूका सन्तान पनि त्यहीँ थिए।
'काम थियो दिनभर घर सफा गर्ने। बूढाबूढीको ज्यान मालिस गर्ने। र, राति केटामान्छेको कोठामा सुत्न जानुपर्ने,' उनले भनिन्, 'खाना दिनभरीमा एउटा रोटी पाइन्थ्यो, त्यसले भोक मर्दैनथ्यो। उनीहरू त मिठोमिठो खान्थे।'
काम थोरै पनि बिग्रियो भने सिधै कुटाइ खानुपर्थ्यो। त्यो बूढीको मनमा अलिकति पनि दया थिएन। उनीहरूकी जेठीछोरी पनि त्यहाँ बस्थी, जसको नाम हया थियो। उसले मात्र अलिकति माया गर्थी। त्यत्ति माया पनि उनका लागि अँध्यारो सुरूङमा उज्यालोको झिल्को थियो, जुन उनी अहिले पनि सम्झिरहन्छिन्।
एक महिनापछि उनले काम गरेको पैसा मागिन्। त्यहाँबाट अफिसमा फोन लगाइदिए। किनेको जिनिसलाई कसैले किन पैसा देओस्!
त्यो घरमा उनले एउटा मोबाइलमा राख्ने सिमकार्ड भेटेकी थिइन्। त्यत्ति हो।
तीन महिनासम्म निरन्तर भोको पेटमा काम र यौनशोषणले उनी बिरामी परिन्। चल्नै नसक्ने भएपछि त्यो परिवारका मान्छेले उनलाई अफिस फर्काइदिए।
अफिसमा उनलाई थुनेर राखियो। त्यहाँ नयाँ-पुराना, अरू पनि केटी थिए, उनीजस्तै निरीह! उनीहरूलाई एकअर्कासँग बोल्न पनि दिइन्नथ्यो।
उनले त्यो अफिसमा पनि खानाभन्दा ज्यादा कुटाइ नै खाइन्। केही सोध्यो कि जवाफमा पहिले पिटाइ भेट्थिन्।
'त्यो उर्लाबारीकी केटीले टाउकोमा कुट्दा लागेको चोटले मैले कान कम सुन्न थालेँ,' उनले भनिन्, 'सुरूमा त आँसु झर्थे, पछि आँसु पनि सुक्ने रहेछ। बरू उनीहरूले पिट्दा रगत बग्थ्यो, यस्तो पिट्थ्यो धुकधुकी पनि रहन दिँदैन!'
उनी त्यहाँ बसुञ्जेल थप ४० जना केटी नेपालबाट सिरिया पुगे।
उनी अफिस फर्केको केही दिनपछि रेणु पनि अफिसमै आइन्। उनी पनि त्यहाँ बस्न नसकेको बताउँथिन्। उनले त कम्तिमा भाषा बुझ्थिन्। उनले सिम किनिछन् र घरमा सम्पर्क गरेर पैसा पठाइदिन भनिछन्।
जाने बेला रेणुले आफ्नो सिम उनलाई दिइन्। उनीसँगको सिम आफूले लिइन्। उनीसँग एउटा फोन सेट थियो यहीँबाट लगेको, जुन उनले लुकाएर राखेकी थिइन्।
रेणुको सिममा पनि धेरै समय फोन आएन। अब त उनलाई मर्ने कुरा सम्झिँदा सजिलो हुन थालेको थियो। छोरी सम्झ्यो भने चाहिँ गाह्रो हुन्थ्यो।
बाँच्ने आस मरिसकेपछिको एक रात उनको मोबाइल बज्यो। फोनमा बहिनीको आवाज!
सुकिसकेका आँखा फेरि रसाए। उनी रोइरहिन्, लामो समय।
बहिनीले भनिन्, 'पीर नगर्नू, म त्यहाँ आएर भए पनि तँलाई फर्काउँछु।'
बल्ल उनको बोली फुट्यो, 'तँ नआउनू यहाँ, यो त नर्क हो, बरू म यहीँ बस्छु।'
नभन्दै एकदिन बहिनीले उनले अंशमा पाएको जग्गा बेचेर, चन्दासमेत उठाएर करिब २ लाख पठाइदिइन्।
अफिसका मान्छेले भने 'घर जाने कुरा निकालिस् भने तेरो भिसा थपेर यही राख्छु' भन्दै धम्क्याए। उनीसँगै कोठामा थुनिएका अरू केटीको हालत उस्तै खराब थियो। उनीहरू लुकेर सासैसासले मात्र कुरा गर्थे। एकअर्कालाई ढाडस दिन्थे। कसैका त पैसा पठाउने आफन्त पनि थिएनन्। सबै गरिब थिए।
एक सिर्जना नाम गरेकी केटी थिइन्। आफ्नी छोरी छाडेर आएकी। बहिनीको घरमा छाडेकी छोरीलाई कसैले केही गरिदियो कि भन्ने पीरले उनको आधा ज्यान सकिएको थियो।
फर्किनु अघिल्लो दिन राति उनी रितु भन्ने केटीसँगै सुतेकी थिइन्। उनीहरू रातभरी सासैसासले कुरा गरे।
'रितुले त्यो श्यामेलाई भनेर मलाई निकाल्नू है भनेकी थिई। मैले हुन्छ भनेर बाचा गरेकी थिएँ,' उनले सम्झिइन्।
हुन त उनलाई त्यहाँ बसुन्जेल पिट्ने खिलाले पनि हिँड्ने बेला दलाललाई नछोड्नू है भनेको उनलाई याद छ। उनलाई सबभन्दा बढी पिट्ने मान्छेले भन्थ्यो रे, 'यसलाई कुटेकोमा मलाई अल्लाहले माफ गर्दैन होला।'
दमाकसका यी सबै सम्झना लिएर फर्केकी उनी अहिले पनि त्यहाँ आफूलाई दु:ख दिएका मान्छे सम्झिरहन्छिन्। उनलाई नुहाइदिने एकजना मानिस थियो, जसले उनको लामो कपाल काटिदिएको थियो। त्यही कपाल पनि उनले झोलामा कसेर ल्याएकी थिइन्।
'त्यो रात जसरी बिहान मैले कहिल्यै कुरेकी छैन,' उनले भनिन्, 'प्लेनमा बसेपछि बल्ल मैले राम्ररी सास फेरेँ।'
फर्किंदा उनलाई दुबईबाट मुम्बई हुँदै दिल्ली ल्याइयो।
दिल्ली एयरपोर्टमा टोपलाल अधिकारी लिन आए। त्यहीँको गाउँजस्तो ठाउँमा लगे। कलकत्तामा जस्तै एउटा घरको फ्ल्याटमा लगेका थिए। त्यहाँ पनि धेरै नेपाली केटी थिए। सायद उनलाई जस्तै बेच्न ठिक्क पारिएका।
फ्ल्याटमा पुगेपछि उनले आफ्नो झोलाबाट जाँदा-आउँदाका सप्पै टिकट र मोबाइल आफ्नो सुरुवालको खल्तीमा सुटुक्क राखिन्। ती कुराले एकदिन आफू बेचिएको पुष्टि हुनेछ भन्ने उनलाई थाहा थियो।
भोलिपल्टै उनलाई टोपलालले नेपालगन्जमा ज्ञानेन्द्रकी श्रीमती रेणुको जिम्मा लगाए। आउनेबित्तिकै उनी सकी-नसकी माइती नेपाल गइन्। आफू बेचिएर फर्केको बताइन्। सिरियामा लगेर क-कसले आफूलाई बेचे र अरूलाई पनि बेच्ने गर्छन् भनिदिइन्। दिल्ली र कलकत्ताबारे सुनाइन्। अनि आफ्नो गाउँ फर्किन्।
फर्केको भोलि-पर्सिपल्टै उनी प्रहरीकहाँ गइन्। प्रहरीले उनका कुरा एउटा कानले सुनेर अर्को कानले उडाइदिए। चार महिना धाउँदा पनि उनको जाहेरी लिएन।
जिल्लाको महिला सञ्जाल र मानवअधिकारवादीको सहयोग पाएपछि भने उनको जाहेरी प्रहरीले दर्ता गर्यो।
असोजमा उनी सिरियाबाट फर्केकी थिइन्, फागुनमा प्रहरीले जाहेरी लियो।
जाहेरीमा उनले आफ्ना देवर ज्ञानेन्द्र, उनका साथी श्याम डंगोल, डंगोल पत्नी सुनिता, भक्ते परियार र टोपलाल अधिकारीले आफूलाई बेचेको उल्लेख गरेकी थिइन्।
प्रहरीमा जाहेरी परे पनि उनीहरू खुलमखुल्ला घुमिरहेका थिए। ज्ञानेन्द्र र उनका परिवारले त धम्क्याउनसमेत थाले। एकदिन उनको झोँकले सीमा नाघ्यो। डिएसपीलाई भनिन्, 'तपाईंले पक्रिने भए पक्रिनू, नभए त्यसलाई मैले नै केही गर्छु, यहाँ धाइरहनुभन्दा यतै जेल राख्नु मलाई।'
जाहेरी दिएको एक वर्षपछि बल्ल ज्ञानेन्द्रलाई प्रहरीले पक्रियो। ज्ञानेन्द्रकै बयानका आधारमा डंगोल र उनकी पत्नी पनि पक्राउ परे। उनी काठमाडौंबाट बेचिएकीले सरकारी वकिलले जिल्ला अदालत काठमाडौंमा मुद्दा हाल्यो।
उनीहरूलाई पक्रिएपछि उनलाई झन् गाह्रो भयो। कहिले ज्ञानेन्द्रका परिवार घर घेरा हाल्न आउँथे। कहिले बाटो छेकेर धम्क्याउँथे। कहिले मुद्दा फिर्ता लिइदेऊ, पैसा दिन्छु भन्दै फकाउँथे।
'जिल्ला अदालतमा बकपत्र गर्न काठमाडौं आउँदा त मलाई २५ लाख दिने भनेका थिए,' उनले भनिन्, 'मैले मानिनँ। जिल्ला अदालतकै आँगनमा मलाई घेरा हालेका थिए। डर भने मलाई कत्ति नलाग्ने, अरूका लागि त म सिधासाधा छु, पापीहरूलाई छोड्दिन। म मरिन (मरिकन) फर्क्या हो नि म्याम।'
आफ्नै दाजुले समेत मुद्दा फिर्ता लिएर २५ लाख लिन दबाब दिएको उनले बताइन्। तर उनले टेरिनन्।
अदालतले सुनिता र ज्ञानेन्द्रलाई साधारण तारेखमा छाड्यो। भक्ते परियार र टोपलाललाई भने प्रहरीले नै समाउन सकेको थिएन सरकारी वकिलले नै उनीहरूलाई उन्मुक्ति दिएको थियो।
उनीहरूलाई छाडेपछि फेरि धम्की दिन थाले। उनी कत्ति नडराएपछि ज्ञानेन्द्रको समूहले छोरीलाई बर्बाद पारिदिने धम्की दिए। त्यो धम्कीले भने उनको मुटु हल्लायो।
मुटु मात्र के, उनले टेकेको धरती नै हल्लिएजस्तो भो।
त्यसपछि गाउँ बसिरहन उनलाई सुरक्षित लागेन। हतार-हतार छोरी च्यापेर किर्पे ब्यागमा केही सामान हालेर उनी काठमाडौं पसिन्।
सिस्ने हिमाल यी पाँच वर्ष आफ्नी छोरीसँग काठमाडौंमै छिन्। कहिले यता, कहिले उता भौंतारिँदै। लगभग 'पाटीको बास' जस्तै भएर कानुनी लडाइँ लडिरहेकी!