हाम्रा सम्पदा र मौलिक पुराना घरहरू आफैंमा सिंगो संग्रहालय हुन्। कला संग्रहालय पुग्नु र तिनका कलाकृति हेर्नुमा त्यति धेरै अन्तर नहोला!
भक्तपुरको दधिकोटमा रहेको दक्षिणबाराही इँटा उद्योगमा विभिन्न मन्दिरका लागि बनाइएका सयौं प्रकारका इँटा छन्। तिनलाई हेरेर फर्किएपछि हामीलाई त्यस्तै अनुभव भयो!
हाम्रा पुर्खाले आफ्नो सीप र दक्षता इँटामै पनि कति राम्ररी देखाउन सकेका!
यहाँ भट्टामा सामान्य र एकनासे मात्र नभई विभिन्न डिजाइन र कलाकृति भएका इँटा पाइन्छन्। कुनैमा चराको बुट्टा, कुनैमा सिंह, कुनैमा अष्टमंगल, कुनैमा बुद्ध, कुनैमा फूल, कुनैमा नागकन्या लगायत बुट्टा कुँदिएका छन्। आकार पनि ठूला–साना, कलाकृतिअनुसार विभिन्न नापका बन्छन्।
यो उद्योग सञ्चालनमा आएको करिब साढे तीन दशक भयो। सञ्चालक हुन् हिराकाजी महर्जन। उनी सुरूमा आफ्नो पुर्ख्यौली काम खेतीकिसानी गर्थे। खेतबाट उब्जनी भएको आलु, गहुँ, धान लगायतले जीविका चलेकै थियो। तैपनि दिमागमा प्रश्न आउँथ्यो, 'खेतको मात्र काम गरेर त कहिले घर व्यवहार मिलाउनु? यसले कहिले उकासिनु?'
आफ्नो यही सोच उनले परिवारमा व्यक्त गर्न सकेका थिएनन्। पुर्ख्यौली काम गर्दिनँ भन्दा बुबाको चित्त दुख्ला भन्ने डर थियो।
एकदिन भने आँट बटुलेर भने, 'बुवा म यो काम नगर्ने, मलाई अरू काम सिक्न मन छ।'
बुबाले उनको कुरामा समर्थन जनाए, 'ल ठीक छ। यो काम म आफैं गर्छु। आवश्यक परेका बेला भने बोलाउँछु।'
त्यति बेला हिराकाजी किशोर उमेरकै थिए। सुरूमा उनले चालकको काम गरे। ट्रक चलाएर कहिले काठमाडौं त कहिले वीरगन्ज र तराईका अन्य ठाउँ पुग्थे। ट्रकमा इँटा बोकेका बेला उनलाई यसमै चासो बढ्यो। चार जनासँग मिलेर २०३८ सालमा उनले इमाडोलमा इँटाको काम थाले।
दुई–तीन वर्ष इँटा व्यवसाय राम्रै चल्यो, पछि मन्दी भयो। सबैले यसबाट हात झिके। तर हिराकाजीको जीवनमा इँटाको काम नशाजस्तो चढिसकेको थियो। उनले धापाखेलमा अर्को भट्टा खोले। त्यो पनि केही वर्षपछि राम्ररी चल्न छाड्यो।
उनी फेरि पनि हच्केनन्। ०४६ सालमा दधिकोटमा दक्षिणबाराही इँटा उद्योग खोले। यसपछि भने उनले भट्टा बन्द गर्नुपरेन। हिराकाजीसँगै उनका दाइ तीर्थलाल र भाइ विक्की पनि यो काममा आबद्ध छन्।
दक्षिणबाराही उद्योगबाट सुरूमा घर बनाउने साधारण इँटा नै बन्थ्यो। एकदिन पुरातत्व विभागका अधिकारीले सुझाएपछि प्राचीन शैलीका इँटा बनाउन थाले।
तीस वर्षअघि उनका दाइ तीर्थलाल पुरातत्व विभागमा काम गर्थे। दाइका साथीहरू हिराकाजीका पनि दाइ/साथीजस्तै थिए।
एकदिन पुरातत्व विभागका तत्कालीन निर्देशक रमेशजंग थापाले हिराकाजीलाई भनेछन्, 'तिमी घर बनाउने सामान्य इँटा मात्र नभई विभिन्न कलाकृति भएका प्राचीन शैलीका इँटा पनि बनाउन थाल। यसले तिमीलाई भविष्यमा धेरै फाइदा हुन्छ।'
चासो राख्नेबित्तिकै हिराकाजीलाई प्राचीन इँटा बनाउने प्रस्ताव पनि आयो। उनलाई गोरखा दरबारका लागि बुट्टेदार इँटा बनाउनु थियो। कहिले नगरेको काम गर्न मन भएर मात्र पुग्दैन, आँट चाहिन्छ। उनको आँट बनिदिए साथी नारायणबहादुर महर्जन।
नारायणबहादुर कलाका हरेक कुरामा पोख्त छन्। बाजा बजाउँछन्, गीत गाउँछन्, मूर्ति पनि बनाउँछन्। उनले हिराकाजीका लागि इँटाका डिजाइन बनाइदिए। उनका डिजाइनकै आधारमा उनीहरूले पाँच फरक तरिकाले बनाइएका इँटाको नमूना परीक्षण गरे।
साँचोमा १५ दिन माटो राखेर इँटा बनाउन छाडे। कुनै इँटा चर्कियो, कुनै फुट्यो। मेहनत खेर गयो।
'भो! अब यस्तो इँटा नबनाउने,' हिराकाजीले यति बेला भने हार मानिसकेका थिए।
एक–दुई दिनमा फेरि उनको मन फिर्यो, 'एकपटक फेरि प्रयास गरेर हेरौं न!'
यसपटक पनि त्यसैगरी १५ दिनसम्म पाँचवटा इँटाको नमूना साँचोमा हालेर राखे। पाँचमध्ये एउटा इँटा राम्रो निस्कियो।
गर्छु भनेर कस्सिएपछि हुने रहेछ! उनमा ऊर्जा थपियो।
अब हिराकाजीलाई यस्ता इँटा कसरी बनाउनुपर्छ भन्ने पनि थाहा भयो।
'इँटा बनाउँदा सबै कुरा मिलाउनुपर्ने रहेछ। मानिसहरूको धारणा के छ भने साँचोमा माटो राखेपछि इँटा बन्छ, तर त्यसो हुँदैन। इँटा बन्न माटोमा विभिन्न गुण चाहिन्छ,' उनले भने, 'कालो, रातो लगायत दुई-तीनथरी माटो मिसाउनुपर्छ। त्यसमा बालुवा पनि हाल्नुपर्छ। त्यसपछि इँटा सुकाउन र पोल्न मिल्दो तापक्रम पनि चाहिन्छ।'
सुरूसुरूमा इँटा बनाउन यहाँ वरिपरिकै माटो प्रयोग गरिन्थ्यो। वरिपरिको माटो सक्किएपछि चित्रपुरबाट ल्याउन थालियो। समयसँगै त्यहाँ पनि घरहरू बन्न थाले। माटो नै माटो भएका खुला फाँट घरले भरिए। हिजोआज सतुंगलबाट माटो ल्याइन्छ। हिराकाजीलाई चिन्ता छ, बढ्दो सहरीकरणले भविष्यमा इँटा बनाउन माटो नै नपाइने पो हो कि!
'भक्तपुरमा माटो निकाल्ने ठाउँ नै छैन भन्दा हुन्छ। त्यहाँ अहिलेसम्म छ। त्यो पनि कतिन्जेललाई हो, थाहा छैन,' उनले भने, 'त्यसपछि माटोका लागि टाढा–टाढा पुग्नुपर्ने नि हुनसक्छ।
उनको इँटा भट्टा करिब सय रोपनीमा फैलिएको छ। सतुंगलमा पनि उनले इँटा भट्टा खोलेका छन् जुन चार सय रोपनीमा छ। त्यस्तै बुंगमतीमा पनि यसको शाखा छ जुन करिब दुई सय रोपनीमा छ। यी तीनै ठाउँ गरेर करिब १५ सय मानिसले रोजगारी पाएका छन्।
यी भट्टामा उत्पादन भएका इँटाबाट पाटन, बनेपा, भक्तपुर, कीर्तिपुर, काठमाडौं, धुलिखेल, गोरखा, लुम्बिनी लगायत विभिन्न ठाउँमा मठमन्दिर निर्माण भएका छन्। आफूले विभिन्न ठाउँका मन्दिरका लागि विभिन्न प्रकारका इँटा बनाए पनि त्यसको अभिलेख नराखेकामा भने हिराकाजीलाई थकथकी लाग्छ।
अहिलेसम्म सयौं प्रकारका इँटाका डिजाइन बनाइसके पनि त्यो उनको सम्झनामा मात्र सीमित छ। त्यसैले अब उनको भावी योजना तिनको राम्रो अभिलेख राख्नु हो। आफूले बनाएका इँटा हालिएका केही मठमन्दिरमा उनी बेलाबेला पुग्छन्। त्यहाँ पुग्दा अपनत्व महसुस हुन्छ।
मनमनै सोच्छन् र दंग पर्छन्, 'यहाँ त हाम्रो इँटा प्रयोग भएको छ।'
पछिल्लो समय हिराकाजी ललितपुरका दुईवटा मन्दिरमा काम गरिरहेका छन्। पाटनको नरसिंह मन्दिर र बुंगमतीको मच्छिन्द्रनाथको मन्दिर। दुवै मन्दिर शिखर शैलीका हुन्। दुवैमा करिब पाँच/पाँच सय प्रकारका इँटा प्रयोग भएका छन्।
इँटाकै जटिलताका कारण पाटनको नरसिंह मन्दिरको काम अहिलेसम्म सुरू हुन सकेको छैन।
हामीले यो मन्दिरका बारेमा 'दाजुको सम्झनामा भाइले बनाएका थिए सयौं प्रकारका इँटा भएको मन्दिर' भन्ने स्टोरी गरेका थियौं। मन्दिर निर्माणको जिम्मेवारी लिएको काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्टका निर्देशक रोहित रञ्जितकारले कुराकानी क्रममा हामीलाई भनेका थिए, 'दक्षिणबाराही एउटा मात्रै त्यस्तो ठाउँ हो जोसँग हामीले खोजेजस्तो इँटा बनाउने दक्षता छ।'
दक्षिणबाराहीकै इँटा प्रयोग भएको बुंगमतीको मच्छिन्द्रनाथ मन्दिर अहिले निर्माणको अन्तिम चरणमा छ। नरसिंह मन्दिरको तुलनामा यसका इँटा ठूला छन्। एउटा झ्याल पूरै इँटाले बनेको थियो। त्यो झ्याल नै ४४८ किलो भएको हिराकाजी बताउँछन्।
झ्याल बनाउँदा एक वर्ष त इँटा सुकाउनै लागेको थियो। हिराकाजीका अनुसार ठूला इँटा सुक्नै समय लाग्ने भएकाले पनि मन्दिर निर्माणमा ढिलासुस्ती हुन्छ।
कहिलेकाहीँ वर्षभरि इँटा सुकायो, अन्तिममा चर्किने र फुट्ने समस्या आइदिन्छ। मेहनत खेर जान्छ। अनि फेरि शून्यबाट काम थाल्नुपर्छ।
नरसिंह मन्दिरमा भने लामो समय सुकाउनुपर्ने इँटा छैन।
हिराकाजीका अनुसार शिखर शैलीका मन्दिरमा इँटाको धेरै विविधता हुन्छ। काठमाडौंको रानीपोखरीमा पनि हिराकाजीले बनाएका इँटा प्रयोग भएका थिए। त्यसमा केही ठूला इँटा लागे पनि धेरै प्रकारका नलागेको तर उनले बताए।
'अहिलेसम्म थुप्रै प्रकारका इँटा लागेको नरसिंह र बुंगमतीको मच्छिन्द्रनाथ मन्दिर नै हो,' उनले भने।
यसरी विभिन्न डिजाइनमा इँटा बनाउने प्रस्ताव आउँदा हिराकाजी चुनौतीसँगै रमाइलो अनुभव गर्छन्। नयाँ–नयाँ डिजाइनमा कसरी काम गर्ने भनेर उनी आफैं परीक्षण पनि गरिरहन्छन्। उनले बानेश्वरमा आफ्नै घरलाई पनि धेरै प्रकारका बुट्टेदार इँटा राखेर बनाएका छन्। हाल उनी माटोले बनाइएको बुट्टेदार थाममा काम गरिरहेका छन् जसलाई बनाउन उनले दुई वर्ष दिइसके।
काठमा त्यही काम गर्दा लाखौं पर्ने भएकाले काठैको बुट्टा नक्कल गरेर उनले इँटा बनाएका हुन्।
'पहिलेका मान्छेले यति धेरै प्रकारका कलात्मक इँटा नबनाएको भए त तपाईंहरूलाई सजिलो हुन्थ्यो नि?'
हाम्रो प्रश्नमा हिराकाजीले हाँस्दै भने, 'पहिलेको मान्छेमा आस्था थियो, कसरी आफूले राम्रो काम गर्ने भन्ने धारणा थियो। त्यही भएकाले इँटामा पनि कला प्रयोग गरे। उनीहरूले सजिलो काम गरिदिएको भए, अहिले ती मन्दिरको महत्व त्यति नहुन सक्थ्यो।'
उनले अगाडि भने, 'हामीलाई पनि एकैनासको इँटा बनाउँदा झर्कोलाग्दो हुन्थ्यो होला नि!'
अहिले वर्षा चलिरहेको छ। यो समयमा इँटा बन्दैन। पानीले माटो भिज्ने भएपछि इँटा बिग्रिन्छ। वर्षाको समयमा पनि काम गर्न पाए मठमन्दिरको इँटा बनाउने काम छिटो हुन्थ्यो भन्ने उनलाई लाग्छ। त्यसैले नजिकै उनले वर्षामा पनि काम गर्न मिल्ने टहरा बनाउँदैछन्।
आफ्नो जीवनको आधाभन्दा बढी उमेर इँटा बनाउने कामलाई नै दिएका हिराकाजी जीवनभर यसैमा रमाउन चाहन्छन्।
सुरूआती दिनका अप्ठ्यारा सम्झिँदै उनले भने, 'यस्तो काम कसरी गर्ने भनेर धेरै मान्छे आत्तिन्छन्। म पनि आत्तिएको थिएँ। तर गर्छु भनेर आँटेपछि भगवानले पनि साथ दिने रहेछन्। यो काम मठमन्दिरसँग जोडिने भएकाले मलाई भगवानसँग नजिक छु र उनको सेवा गरिरहेछु भन्ने पनि महसुस हुन्छ।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी