ललितपुरस्थित सप्तपाताल पोखरीका पहरेदार पूर्ण स्थापितलाई जीवनमा अब यत्ति चाहना छ — सप्तपाताल पोखरीको काम चाँडोभन्दा चाँडो सकियोस्। अनि एकचोटि आफ्नै आँखाले टन्न पानी भरिएको सप्तपातालमा पहिलेजस्तै माछा पौडिरहेको हेरेर जान पाइयोस्!
७८ वर्षीय पूर्ण उनै व्यक्ति हुन् जसले अतिक्रमणमा परेर मासिएको सप्तपाताल पोखरी ब्युँताउन करिब १५ वर्ष कानुनी लडाइँ लडे।
सप्तपाताल त्यही पोखरी हो जुन लगनखेल बसपार्कनिर अशोक स्तूपसँगै छ। कुनै बेला दुई सय रोपनीभन्दा ठूलो पोखरी समय क्रममा चारैतिरबाट मिचिएर डेढ–दुई रोपनी मात्र बच्यो। बचेको अंशमा पनि पानी थोपै रहेन, घाँसघारी र फोहोरको डुंगुरले छपक्कै छोप्यो।
मान्छेको सम्झनाबाट समेत हराउँदै गएको त्यही पोखरीलाई पुरानै स्वरूपमा फर्काउने अभियानमा लागेका हुन् पूर्ण।
पोखरी मिच्ने र मास्ने अनेक समूहमध्ये नमूना मच्छिन्द्र स्कुलले १४ रोपनी अतिक्रमण गरेको थियो। पूर्णले सप्तपातालको त्यो जग्गा पोखरीलाई नै फर्काउन २०६१ सालमा सर्वोच्च अदालतमा मुद्दा हाले। सर्वोच्चले २०७६ असार २३ गते अतिक्रमणमा परेको जग्गा पोखरीकै नाममा फिर्ता गर्न आदेश दियो।
र, त्यही आदेशअनुसार अहिले सप्तपाताल पुरानै स्वरूपमा फर्काउन पुनर्निर्माण भइरहेको छ।
सबभन्दा महत्वपूर्ण कुरा त, पूर्णले कानुनी लडाइँ लडेर १४ रोपनी जग्गा फिर्ता ल्याएपछि ललितपुरका मेयर चिरिबाबु महर्जनले सेनासँग समन्वय गरेर थप ३२ रोपनी फर्काएका छन्। लगनखेलस्थित सेनाको राजदल गणले पोखरीको ठूलो हिस्सा ओगटेको थियो।
सेनाले आफ्नो पर्खाल भत्काएर सप्तपातालको जग्गा फिर्ता गरेपछि ४५ रोपनीभन्दा बढी क्षेत्रफलमा पुनर्निर्माणको काम हुँदैछ।
पोखरी पुनर्निर्माण र त्यसका लागि पानी आपूर्ति गर्न टीकाभैरवदेखि लगनखेलसम्मको राजकुलो ब्युँताउने काममा ललितपुर महानगरले लगानी गर्दैछ।
मेयर महर्जनले भन्दै आएका पनि छन् — सप्तपाताल पोखरी पुनर्निर्माण गर्नु मेरो मुख्य प्राथमिकता हो।
केही दिनअघि पूर्णकै नाममा गोदावरीमा उनका छोराहरूले खोलेको 'पूर्ण म्युजियम रिसोर्ट' मा 'परम्परागत पोखरी संरक्षण' विषयगत कार्यक्रम भएको थियो। त्यसमा पोखरी संरक्षण र जीर्णोद्धारमा लामो समयदेखि अध्ययन–अनुसन्धान गरेका व्यक्तिहरूले ललितपुरका मेयरको सहभागितामा आफ्ना अनुसन्धात्मक प्रस्तुति दिए।
परम्परागत तरिकाले पोखरी निर्माण गर्न अहिलेको चुनौती के हो? के टीकाभैरव राजकुलो ब्युँताएर सप्तपातालसम्म ल्याउन सम्भव छ? के कस्ता कठिनाइ छन्?
यस्ता यावत प्रश्नको जवाफअघि आउनुहोस्, पहिले हामी टीकाभैरव राजकुलोबारे चर्चा गरौं।
किम्बदन्तीअनुसार चापागाउँकी देसार परिवारकी बाला मैँ (बालकुमारी) को टीकाभैरवसँग प्रेम विवाह भएको हुन्छ। एकदिन बाला मैँ उदास हुन्छिन्। त्यसको कारणबारे भैरवले सोधीखोजी गर्छन्।
बाला मैँ भन्छिन्, 'मेरो माइती चापागाउँमा पानीको साह्रै दुःख भएर बालीनाली सप्रिएको छैन।'
उनको उदासीको कारण सुनेपछि भैरवले त्यहाँसम्म पानी पुर्याउने अठोट गरे। उनले बाला मैँलाई एउटा तःकु (लामो बिँड भएको कुटो) दिएर भने, 'ल, यो कुटो घिसार्दै तिमी आफ्नो माइती जाऊ।'
जसै बाला मैँ कुटो घिसार्दै अघि लागिन्, एउटा कालो कुकुरले उसलाई पछ्याउन थाल्यो। अनि कुकुरको पछिपछि पानीको धारा बग्न थाल्यो। बाला मैँ जुनजुन बाटो हिँडिन्, त्यहाँ पानी बग्न थालेकाले वादे अर्थात् चापागाउँमा घरको छेउछाउबाटै पानी बग्न थाल्यो। यसरी नै टीकाभैरव राजकुलो निर्माण भएको किम्बदन्ती छ।
काठमाडौं सभ्यताको पानी प्रणाली र सांस्कृतिक परम्परामा गहिरो अध्ययन गरेका साथै 'हिति प्रणाली' किताबका लेखक पद्मसुन्दर जोशीका अनुसार टीकाभैरव प्रणालीको निर्माण कहिले भएको भन्ने यकिन प्रमाण छैन। तर यो लिच्छविकालमै बनिसकेको भन्न मिल्ने प्रशस्त आधार छन्।
लिच्छविकालमै बनेको ललितपुरको मीननाथ मन्दिरअगाडि भेटिएको जयदेव द्वितीयको ईश्वी सम्वत् ७२४ को शिलापत्रमा त्यस भेगमा वनदुर्ग (वनको किल्ला) बाट तिलमक (कुलो) मार्फत पानी ल्याई वितरण गरिएको तथ्य उल्लेख छ।
'भौगोलिक रूपमा हेर्दा ललितपुरको पुरानो बस्तीको दक्षिणमा चापागाउँ ननाघी पानी पठाउन मिल्ने वनदुर्ग नभएकाले उक्त वनदुर्ग टीकाभैरव हुनुपर्छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ,' उनले भने।
अंशुवर्माको 'लेले शिलापत्र' मा पनि प्रणाली गोष्ठीबारे गरिएको व्यवस्थाले सो समयमै यस्ता प्रणाली सामान्य भइसकेको अनुमान गर्न सकिन्छ। ईश्वी सम्वत् ६९७ को सुनागुथिको भृंगेश्वर महादेवको मन्दिर परिसरमा भेटिएको जयदेवको शिलापत्रमा पोखरी, हिति प्रणाली र तिलमक (राजकुलोको पुरानो नाम) को उल्लेख गरिनु र थेच्वमुनिको सुनागुथि बस्तीमा यी पूर्वाधारहरू रहनुले यहाँ राजकुलो पुगिसकेको थाहा हुने जोशी बताउँछन्।
टीकाभैरवबाट सुरू हुने राजकुलो चापागाउँ, थेच्व, सुनागुथि, ध्वोंलाहिति हुँदै लगनखेल आइपुग्छ। पछिल्लोपटक २०१९ सालमा यसको जीर्णोद्धार भएको थियो। भारत सरकारको सहयोगमा गरिएको जीर्णोद्धारमा लेले मुहानमा बाँध बाँधेर पक्की मुहान बनाइएको थियो।
पछि चक्रपथ निर्माण गर्दा उक्त राजकुलो थुनियो। त्यति बेला ह्युमपाइप प्रयोग गरेर पाटनसम्मै राजकुलो जीवित राख्न सकिन्थ्यो। तर निर्णयकर्ता र सहरी योजनाकारहरूले राजकुलोको महत्व बुझेनन्।
अहिले टीकाभैरवदेखि ध्वोंलाहितिसम्म राजकुलो बाँकी छ। २०७५–७६ सालमा सडक विभागले चापागाउँ जाने बाटो चौडा गर्दा यहाँको राजकुलोलाई ह्युमपाइपमा जोडेको थियो।
अब कुरा गरौं टीकाभैरवदेखि ध्वोंलाहितिसम्मको राजकुलोको अवस्थाबारे।
जोशीका अनुसार अहिलेसम्म टीकाभैरवदेखि चारघरे भन्ने ठाउँसम्म राजकुलोको अवस्था राम्रो छ। चारघरेबाट तल आउँदा चाहिँ आधुनिकीकरणले गर्दा समस्या सुरू हुन थालेको छ।
पहिलो समस्या हो, अव्यवस्थित रूपमा भएको जमिन प्लटिङ। राजकुलोको डिलैबाट पर्खाल लगाएर जग्गा प्लटिङ गरिएको छ। भविष्यमा त्यहाँ घर बनेपछि ढल पनि त्यही आउने सम्भावना भएको जोशी बताउँछन्।
'पहिला त बाटोभन्दा बढी राजकुलोलाई प्राथमिकता दिइएको थियो। अहिले घरहरू टनाटन बने,' उदाहरण दिँदै उनले भने, 'ताहाखेलबाट प्यांग गाउँसम्म आउने हो भने त्यस्तो भइसकेको देख्न सक्छौं। प्यांग गाउँको बसस्टपनजिकै राजकुलो छ। त्यहाँ भएभरको फोहोर फालिन्छ।'
राजकुलो दूषित बनाउने क्रमकै कुरा गर्दा चापागाउँसम्म आइपुग्दा राजकुलो देखिँदै देखिँदैन। त्यहाँ ह्युमपाइप राखेर ढलको निकास राखिएको छ। राजकुलो जोगाउन फोहोरमैला र ढल व्यवस्थापन सँगसँगै लानुपर्ने उनी बताउँछन्।
बज्रबाराही जाने ठाउँसम्म राजकुलोमाथि मजाले ढलान बनाउने काम भइसकेको छ। थेच्वमा विभिन्न परियोजनाले विभिन्न संरचना बनाएका छन्। ध्वोंलाहितिसम्म आइपुग्दा त राजकुलोको नामनिसान छैन। सप्तपाताल ब्युँताउन डेढ दशक मुद्दा लडेजसरी राजकुलोलाई पनि राष्ट्रिय सम्पदा घोषणा गर्ने हो भने यसको संरक्षण र सम्वर्द्धन गर्न सकिने उनी बताउँछन्।
पद्मसुन्दर जोशीकै नेतृत्वमा टीकाभैरव राजकुलोमा काम गरिरहेकी 'इको कन्सर्न' संस्थाकी चारूमति नकर्मीका अनुसार टीकाभैरवदेखि ललितपुरसम्म राजकुलो ल्याउन जति चुनौतीपूर्ण छ, पानीको गुणस्तर कायम राख्न उत्तिकै समस्या छ।
'राजकुलोको मूल भएको ठाउँ वरिपरि खेतीपातीमा प्रयोग भएको रासायनिक मल मिसिएर आउने चुनौती छ,' उनले भनिन्, 'नजिकैका डेरी र अरू कारखानाले फोहोर तथा पानी सिधै राजकुलोमा फालेका छन्। नजिकैका बस्तीको फोहोर पनि त्यहीँ मिसाइन्छ।'
राजकुलोको पानी कस्तो छ भनेर गुणस्तर मापन गर्न उनीहरूले टीकाभैरव मुहान र चिबाहाः गेट नजिकैको पानीको नमूना लिएका थिए। नतिजा हेर्दा टीकाभैरवको पानी राम्रै अवस्थामा थियो। चिबाहाः गेटसम्म आइपुग्दा भने गुणस्तर निकै खस्किसकेको थियो।
टीकाभैरव राजकुलोमा पानी ल्याउन काठमाडौं उपत्यका खानेपानी संस्था (केयुकेएल) को बाटो रोजिएको छ। पहिले पनि राजकुलोको बाटो त्यही थियो। पानी ल्याउन सकिने भनेर पहिचान गरिएका सम्भावित बाटामध्ये यो नै सबभन्दा छोटो हो। राजकुलो ल्याउन बाटोमा बिछ्याइएको अप्टिकल फाइबर, पाइप, केबल लगायत भने बाधा हुन्। त्यसलाई पनि मध्यनजर गर्ने उनीहरूको योजना छ।
चिबहाः गेटबाट आएको पानी खुमलटारमा बनाइएको वाटर ट्रिटमेन्ट प्लान्टमा शुद्धीकरण गरिसकेपछि चक्रपथ हुँदै लगनखेल ल्याउने तयारी हुँदैछ। यसको दूरी ३.५५ किलोमिटर छ।
पहिले टीकाभैरव राजकुलो नढाकी खुला रूपमा पानी लगिएको थियो। अहिले त त्यस्तो सम्भव छैन। त्यसैले पाइपबाटै लैजाने तयारी हुँदैछ। यो पाइप डबल-लेन सडकको बीचबाट जानेछ। यसरी राजकुलोको बाटो बनाउँदै लगनखेलसम्म पानी ल्याउँदा २ करोड ७९ लाख रूपैयाँ हाराहारी खर्च अनुमान भएको नकर्मीले बताइन्।
यसरी राजकुलोको बाटो बनाउँदै सप्तपातालसम्म पानी ल्याउन सके पानी आपूर्तिका सम्बन्धमा नयाँ ढोका खुल्ने पद्मसुन्दर जोशी बताउँछन्।
यसले पाटनका अरू पोखरी र हितिमा पनि पानी पठाउन मद्दत गर्छ।
राजकुलो, पोखरी र हितिको सम्बन्ध कस्तो छ भने राजकुलोबाट पोखरी भरिएपछि यसले रिचार्जको काम गर्छ। पोखरीबाट पानी रिचार्ज भएर यसले हाम्रो जमिनमुनिको पानीको सतह कायम राख्छ। यसले हितिमा पानी प्रवाह बढाउँछ। टीकाभैरवबाट सप्तपातालसम्म पानी पुर्याउने हो भने पाटन क्षेत्रका अन्य पोखरी र हितिमा पनि पानी पुर्याउन सकिने देखिन्छ।
'पाटनको प्रयाग पोखरी झन् यस्तो ठाउँमा बसेको छ जहाँबाट तीनतिर पानी पठाउन सकिने व्यवस्था छ,' जोशीले भने, 'त्यसका लागि पहिले त सप्तपातालमै पानी पुर्याउनु पर्यो। यो सम्भव छ। हामीले लगभग ७० प्रतिशत काम गरिसकेका छौं।'
पानी ल्याए पनि परम्परागत शैलीमा पोखरी बनाउनु सजिलो काम होइन। हामीले परम्परागत पोखरी निर्माणको ज्ञानलाई लगभग बिर्सिनै लागेको समय छ। त्यसैले पोखरी निर्माणलाई वैज्ञानिक तवरबाट पनि हेर्न पर्ने जोशीले बताए।
जोशीकै नेतृत्वमा अनुसन्धाता ऋषभराज जोशीले नेवाः समुदायले पोखरी निर्माणमा प्रयोग गर्ने माटोबारे अध्ययन गरेका थिए। त्यस्तो माटोलाई विशेषगरी कँचा र गथिचा भनेर वर्गीकरण गरिएको छ।
विज्ञहरूका अनुसार, कँचाले उर्वरक (फर्टिलाइजर) रूपमा काम गर्छ र वनस्पतिका लागि राम्रो हुन्छ। यसको काम पानी थामेर बग्न नदिने पनि हो। गथिचाले पनि पानी थाम्छ, उर्वरकका रूपमा भने काम गर्दैन। गथिचा प्रयोग गर्यो भने लेउ नलाग्ने मानिन्छ। पोखरीमा लेउ लाग्यो भने पानी सोसिन्छ र चाँडै सुक्छ।
काठमाडौंको रानीपोखरी बनाउँदा कँचाको साटो गथिचा प्रयोग गरेको भए लेउ लाग्ने समस्या हुँदैन थियो भनेर धेरैले भन्दै आएका छन्।
यी कुराहरूलाई वैज्ञानिक हिसाबले पनि हेर्नुपर्ने ऋषभ बताउँछन्। यसबारे उनैले सानो परीक्षण पनि गरेका थिए। उनको परीक्षणले गथिचा पानी थाम्न र लेउ लाग्न नदिने कँचाभन्दा उपयुक्त देखाएको थियो। त्यसैले पोखरी बनाउने क्रममा माटो विषयमा थप ध्यानाकर्षण आवश्यक रहेको उनी बताउँछन्। दुवै किसिमको माटो मिलाएर प्रयोग गर्दा कस्तो हुन्छ भन्ने विषयमा पनि परीक्षण गरिनुपर्ने उनले बताए।
भक्तपुरका भाजुपोखरी, सिद्धपोखरी लगायत विभिन्न पोखरी निर्माणमा नेतृत्व लिएका कृष्णप्रसाद डुमरूकै नेतृत्वमा काठमाडौंको रानीपोखरी र ललितपुरको न्हु पोखरी बनेको थियो। उनले पनि पोखरी निर्माणमा माटोको विषयमा संवेदनशील हुनुपर्ने बताए।
'परम्परागत हिसाबले पोखरी बनाउने भनेपछि हाम्रा पुर्खाले कसरी बनाएका थिए भन्ने बुझ्नुपर्छ। माटो कसरी छानेर पोखरीमा हालेका थिए भन्ने जान्न जरूरी छ,' उनले भने, 'यसरी परम्परागत शैलीमा बनाउने काम ढिला होला तर नतिजा राम्रो हुन्छ।'
सप्तपाताल पोखरीमा हाल महानगरले तीनवटा परियोजना काम गर्दैछ। मेयर महर्जनका अनुसार एउटा परियोजनाअन्तर्गत करिब ४५ रोपनी जग्गामा पारदर्शी पर्खाल लगाउने काम भइसकेको छ। त्यसैगरी पोखरीसँगैको पक्की सडक भत्काएर खुला छाड्ने योजना छ। विकल्पमा अर्को बाटो बनाउने तयारी छ।
दोस्रो चरणमा पोखरीमा कमल फूल फुलाउने तयारी छ। त्यसका लागि पोखरीमा करिब ५० लाख लिटर पानी चाहिन्छ। त्यति धेरै पानी ल्याउन राजकुलोबाट मात्र सम्भव भएको मेयर महर्जन बताउँछन्। त्यसैले टीकाभैरव राजकुलोमा काम गरिरहेका पद्मसुन्दर जोशीको टोलीले अनुमान गरेको २ करोड ७९ लाख रूपैयाँको साटो बजेटमा ३ करोड रूपैयाँ सप्तपाताल निर्माणलाई छुट्ट्याउने उनले बताए।
टीकाभैरव राजकुलो र सप्तपाताल पोखरी ब्युताँउन गोदावरी नगरपालिकाका मेयर पनि सकारात्मक रहेको उनले बताए।
'यो काम हाम्रो कार्यकालमा जसरी पनि सक्ने योजना छ। अब हामी फेरि मेयर बन्न पाउँदैनौं। त्यसैले हाम्रो कार्यकालमा पोखरी बनाउन सकिएन भने धेरै गाह्रो पर्न सक्छ,' मेयर महर्जनले भने।