सुर्खेतको नदी किनारको शान्ति बिथोल्दै एउटा आवाज परपरसम्म आइरहेको थियो, ट्वाक–ट्वाक–ट्वाक।
ढुंगा फुटाल्दै गर्दा निक्लिएको कर्कश आवाज थियो त्यो।
किनारमा हिमा नाम गरेकी एउटी सानी बालिका थिइन्। करिब पाँच वर्षकी हुँदी हो। अमेरिकाकी म्यागी डोएनले पहिलोपटक जब उनलाई देखिन्, उनी धैलीमैली थिइन्। अनुहार, लुगा सबै धूलोले भरिएको थियो।
म्यागीले हेर्दाहेर्दै उनले फुटबल बराबर आकारको ढुंगा उचालेर गिटीको थुप्रोको बीचमा राखिन् र पटकपटक त्यसलाई हिर्काइन्। त्यसको आवाज परसम्म पुगिरह्यो, ट्वाक–ट्वाक–ट्वाक।
त्यो दृश्य र आवाजले धेरै पछिसम्म म्यागीको पिछा छाडेन। हिमाकै उमेरमा आफ्नो आरामदायी घरमा खेल्दै, रमाउँदै हुर्किएकी म्यागीलाई त्यो घटनाले सताइरह्यो।
अनि उनले निधो गरिन्, 'म हिमा र उनीजस्ता बालबालिकाका लागि केही न केही अवश्य गर्नेछु।'
सन् २००५, त्यति बेला म्यागी जम्मा १८ वर्षकी थिइन्। अमेरिकाको न्युजर्सीमा कक्षा १२ को पढाइ सकेर उनी एक साथीसँग भारत यात्रामा निस्किन्। त्यहाँ उनले रमनाज गार्डेन भन्ने संस्थामा काम गरिन् जहाँ नेपालबाट गएका शरणार्थी, बेचबिखन, दुर्व्यवहारमा परेका, जनयुद्ध भोगेका र परिवारबाट अलग भएका बालबालिका थिए।
त्यहाँ बस्दा र उनीहरूको रेखदेखमा समयमा बिताउँदा नै म्यागीको दिमागमा दुइटा प्रश्नले डेरा जमाउन थालेका थिए– के म उनीहरूको शिक्षक बन्नुपर्छ? वा न्युजर्सी फर्किएर कलेज भर्ना हुनुपर्छ?
त्यस प्रश्नको उत्तर फेला नपार्दै उनी रमनाज गार्डेनमा भेटिएकी नेपालकी सुनिता भन्ने साथीको पछि लागिन्। उनीसँगै लागेर सुदूरपश्चिम, कणार्लीको कालिकोट हिँडिन्। करिब म्यागीकै उमेरकी सुनिता सानैमा नेपालको कालिकोटबाट जनयुद्धकी शरणार्थी भएर भारत पुगेकी थिइन्। आठ वर्ष भइसकको थियो आफ्नो गाउँ नफर्किएको।
'मैले सुनितासँग कर्णाली यात्रा गरेँ। त्यो मेरा लागि यादगार यात्रा थियो,' गत साता आफ्नो किताब 'बिटवीन द माउन्टेन एन्ड स्काई' को दक्षिण एसियाली संस्करण सार्वजनिक गर्न काठमाडौं आएकी म्यागीले भनिन्, 'यहाँ आएपछि मैले कति बालबालिका देखेँ जो गरिबीमा बाचिँरहेका थिए। कति टुहुरा थिए त कति शिक्षाबाट बञ्चित थिए। उनीहरूलाई देखेपछि नेपालका लागि केही न केही गर्नुपर्छ भन्ने लाग्यो।'
उनले थप भनिन्, 'भारतको रमनाज गार्डेनमा नेपालबाट आएका धेरै बालबालिका थिए। मलाई के लाग्यो भने उनीहरू आफ्नै देशमा सुरक्षित हुन्छन्। जब उनीहरू अन्य मुलुक पुग्छन्, उनीहरूले आफ्नो अधिकार गुमाउँछन् जुन निकै डरलाग्दो हुन्छ। तर नेपाल आएपछि मैले नेपाली हुनु भनेको के हो र उनीहरु किन विदेश जान्छन् भन्ने देखेँ। अनि उनीहरूका लागि केही गर्नुपर्छ भन्ने ठानेँ।'
त्यही कारण म्यागीले सुनिताका अंकल पर्ने तोपबहादुर मल्लसँग मिलेर सुर्खेतमा स्कुल खोलिन्। सन् २००९ मा खुलेको उक्त स्कुलको नाम दुबैले मिलेर राखे 'कोपिला भ्याली स्कुल'।
स्कुल खोल्दा म्यागीले आफ्नो पढाइका लागि जम्मा गरेको सबै पैसा खर्च गरिन्। त्यतिले नपुगेर अमेरिकाको आफ्नो घर र छरछिमेकमा भएका पुराना सामग्री सेकेन्ड-ह्यान्डमा बेचिन्। बालबालिकाको स्याहारसुसार गर्ने काम गरिन्।
त्यसरी दुःख गरेर बनाएको यो स्कुलबाट करिब २२० जना बालबालिकाले शिक्षा–सुविधा लिइसकेका छन्। करिब पाँच सय विद्यार्थी स्कुलमा अझै अध्ययनरत छन्।
'हामी बालबालिकालाई नर्सरीदेखि कक्षा १२ सम्म स्कुलमा पढाउँछौं। त्यसपछि उनीहरूको भविष्यका लागि 'फ्युचर प्रोग्राम' भनेर परियोजनाहरू छन् जसमा विद्यार्थीलाई कलेज, सीपमूलक तालिम र जागिरका लागि पहल गर्छौं,' म्यागीले भनिन्, 'हामी उनीहरूलाई समाजको अगुवा र परिवर्तनकर्ता भएर आफ्नो समुदायलाई केही गरेको हेर्न चाहन्छौं।'
बालबालिकाको जीवन परिवर्तन गर्दै उनीहरूलाई परिवर्तनकर्ता बनाउने दौडमा म्यागीले आफ्नो पढाइलाई भने समय दिन पाइनन्। कक्षा १२ मै उनको पढाइले 'ब्रेक' लियो।
'म १२ कक्षा पढ्दै गर्दा नेपाल आएकी थिएँ। त्यसपछि मैले आफ्नो पढाइ पूरा गर्न पाइनँ। हाम्रो स्कुलका सह–संस्थापक तोपबहादुरले पनि सानैमा स्कुल छाडेका थिए। एक हिसाबले भन्दा हामी त्यति धेरै नपढेका मान्छेले स्कुल सञ्चालन गरिरहेका छौं,' उनले हाँस्दै भनिन्, 'हामीले त्यति नपढेको भए पनि हामीसँग राम्रा विज्ञहरू छन्।'
कोपिला स्कुलमा हिमाजस्तै ढुंगा फोडिरहेका, बस अनि बाटामा पैसा मागिरहेका, आमाबुवा नभएका टुहुरा बालबालिकालाई एउटै छानामुनि ल्याएर शिक्षा दिइएको छ। उनीहरूको सेवासुविधाका रूपमा हरेक दिन पोषिलो खानेकुरा, उपचार, स्वच्छ पानी लगायत व्यवस्था छ। विद्यार्थीलाई खेलकुद, संगीत, नाच, खाना पकाउने लगायत तालिम पनि दिइन्छ।
बालबालिकासँगै कोपिलाले अशिक्षित, दुर्व्यवहार र घरेलु हिसांमा परेका महिलालाई सीपमूलक तालिम दिएर रोजगार बनाएको छ। आफ्नै आँखासामु बालबालिका र महिलाहरूको जीवनमा परिवर्तन देखेकी म्यागीले 'ब्लिंकनाउ फाउन्डेसन' भनेर शाखा खोलेकी छन्।
यसरी डेढ दशकसम्म नेपाल र नेपालका बालबालिकाका लागि काम गर्दा म्यागीले चुनौतीहरू पनि सामना गरेकी छन्। कति कुरासँग लडेकी छन्, कतिलाई स्वीकार गरेकी छन्। त्यो भन्दा बढी आफैंलाई चिनेकी छन्।
'यो यात्रामा धेरैपटक मेरो मुटु टुट्यो, धेरैपटक मैले आफ्ना बालबालिका गुमाएँ। कतिपटक गल्ती गरेँ, त्यसलाई सुधार गर्दै सिकेँ,' उनले भनिन्, 'मैले सिकेको सबभन्दा ठूलो कुरा के हो भने मैले सबै कुरा परिवर्तन गर्न सक्दिनँ र परिवर्तन भएका सबै कुरालाई मैले रोक्न पनि सक्दिनँ।'
सानै उमेरमा नेपाल आउनु र केही गर्नुका राम्रा पक्षहरू थिए।
'म एकदम जवान हुनुको राम्रो पक्ष के थियो भने मसँग कुनै कुराको उत्तर थिएन। म एकदम सिकारू थिएँ। गर्दै जाऊँ, सबै ठीक हुन्छ भन्ने मलाई लाग्थ्यो। सबै असफलता, गल्ती समाधान गर्दै अघि बढेँ,' उनले भनिन्।
आफूले जीवनमा पाएका, गुमाएका, सामना गरेका सबै दुःखसुखका अनुभवलाई उनले आफ्नो किताब 'बिटवीन द माउन्टेन एन्ड द स्काई' मा समेट्ने प्रयास गरेकी छन्। आफ्नो जीवन अनुभव नेपाल आएदेखि डायरीमा लेख्न थालेकी म्यागीले कोरोना लकडाउनमा क्यानडामा आफ्नो श्रीमान, परिवार र छोरीसँग बस्दा किताब लेख्न थालेकी थिइन्।
त्यति बेला किताब लेख्दाको अनुभव साट्दै म्यागीले भनिन्, 'यो केटी (म्यागी) ले आफ्नो जीवनमा कति धेरै कुरा सहेकी रहिछ भन्ने कुरा मलाई किताब लेख्दै गर्दा महसुस भयो। यसले मलाई किताब लेख्न निकै सकस बनाएको थियो।'
त्यसमाथि उनी कति कुरा भन्ने र कति कुरा नभन्ने कुराले अलमलमा थिइन्।
'सबै कुरा नभनेर भन्नुपर्ने कुरा मलाई भन्नु थियो,' उनले भनिन्, 'मलाई आवाजबिहीनहरूको आवाज बन्नु थियो। त्यसका लागि म ती व्यक्तिका कथामा केन्द्रित हुन चाहन्थेँ जसको कथा भन्न जरूरी छ। मलाई थाहा थियो कि यो किताब नेपालीहरूले पनि पढ्नेछन्। त्यही भएकाले उनीहरूको कुरा सकारात्मक र न्यायपूर्ण तरिकाले भन्न चाहन्थेँ।'
गत वर्ष नै उत्तरी अमेरिकामा प्रकाशित भइसकेको यो किताबको दक्षिण एसियाली संस्करण 'किओटिज कोभ' नामक संस्थाबाट गत साता बजारमा आएको हो। यो किताब प्रविण अधिकारीको नेपाली अनुवादमा यसै वर्ष बजारमा आउन लागेको पनि म्यागीले बताइन्।
'म मेरा बच्चाहरूलाई यो किताब उपहार दिन चाहन्थेँ र मैले सबैलाई दिइसके पनि। सानाभन्दा पनि अलि ठूला बच्चाहरूलाई यो किताब प्रेरणादायी हुन्छ होला किनभने मेरोजस्तै अन्यौल र अनुभूतिबाट धेरै युवाहरू गुज्रिरहेका हुन्छन्,' उनले भनिन्, 'म कति कुराबाट गुज्रिएको छु भन्ने कुरा मलाई भन्नु थियो। एक हिसाबले किताब लेख्ने यो प्रक्रिया मेरा लागि ध्यानजस्तै भयो।'
उनले थप भनिन्, 'मसँग धेरै प्रश्नहरू थिए। मैले किताबमा धेरै उत्तरहरू भन्दा कसरी जीवन बाँच्ने भनेर प्रश्नहरू बढी गरेको छु जस्तो लाग्छ। त्यसको उत्तर सायद म समयसँगै भेट्दै जानेछु। सानो उमेरमा आफ्नो देश छाडेर नेपाल आउँदा कति गाह्रो र डरलाग्दो भयो भन्ने कुरा किताब पढेर थाहा पाउन सकिन्छ।'
किताबको नाम बिटवीन द माउन्टेन एन्ड द स्काई उनले बालबालिकाबाटै प्रेरित भएर राखेकी हुन्। नेपालमा रहँदा डाँडामा बसेर साना केटाकेटीले खुला आकाशमा चंगा उडारहेका उनले धेरैपटक देखेकी छन्। त्यससँगै उनले नेपाल हिमालहरूको देश भन्ने बुझेकी छन्। विभिन्न ठाउँ पुगेकी पनि छन्।
किताबभित्र पनि बिटवीन द माउन्टेन एन्ड स्काइ भन्ने पंक्ति प्रयोगमा ल्याएकी म्यागीलाई यसले आफ्नो जीवनको यात्रा पनि समेटेजस्तो महसुस हुन्छ।
आफ्नो जीवनको आधा उमेर नेपालका लागि बिताइसकेकी म्यागी आफू कर्णालीकी महिला हुँ भन्ने ठान्छिन्। उनलाई आफू कर्णालीको सबै ठाउँ पुगेजस्तो लाग्छ।
सुदूरपश्चिम र कर्णालीको जुम्ला, हुम्ला, कालिकोट, सुर्खेत, दैलेख, अछाम लगायत ठाउँको नाम लिँदै उनले भनिन्, 'मेरो संस्थामा आउने बच्चाहरू पनि कर्णालीतिरकै बढी छन्। म पूर्व भने पुगेको छैन।'
सुर्खेतमा कर्णालीको प्रायः सबै मानिस आउँछन्। त्यसैले त्यो बेला यहीँ आफ्नो संस्था खोल्न उनलाई उचित लागेको थियो।
'हामीले कालिकोटमा धेरै काम गरेका छौं। खासमा मलाई कालिकोटमा स्कुल बनाउन मन थियो। तर अन्तिम समयमा त्यो ठाउँ त्यति सुरक्षित हुन्न भन्ने भयो। हामीलाई इन्टरनेट, विद्युत लगायत सुविधा चाहिन्थ्यो। त्यसैले हामीले सुर्खेतमा बस्ने निर्णय गरेका हौं,' म्यागीले भनिन्, 'यो ठाउँ कर्णालीका मान्छेको पहुँचको हिसाबले पनि सजिलै छ।'
सुर्खेतकै एउटा इन्टरनेट क्याफेमा बसेर म्यागीले कुनै दिन गुगलमा 'लाइफ इन पोस्टवार नेपाल' अर्थात 'युद्धपछिको नेपालको जीवन' भनेर खोजेकी थिइन्। त्यसबाट भेटिएका नतिजाले उनलाई अशान्त बनाएको थियो।
उनले फेला पारेकी थिइन्— बीसमध्ये एक बच्चा अनाथ हुन्छन्। ६ वर्षमाथिका आधा महिला मात्र स्कुल गएका छन्। कर्णालीको करिब ६० प्रतिशत जनसंख्या गरिबीमा बाँचिरहेको छ।
त्यसले उनलाई कसरी एउटी सानी बालिकाले ढुंगा फुटाल्ने काम रोज्नुपर्यो भन्ने प्रश्नको उत्तर नजिक पुर्याएको थियो। ती सानी बालिकालाई म्यागीले पढाइन्। उनीजस्तै अनेकौं बालबालिकाको जीवन बदलिसकेकी म्यागीले सन् २०१५ मा 'सिएनएन हिरो अवार्ड' पाएकी छन्।
कोपिला भ्याली स्कुलमा फक्रिँदै गरेका साना केटाकेटी उनलाई 'म्यागी मम्' भनेर सम्बोधन गर्छन्। म्यागीले भने यो यात्रा आमा बन्नका लागि सुरू गरेकी थिइनन्। उनलाई त केबल नेपाली परिवारलाई बलियो बनाउनु थियो, महिलाहरूलाई बलियो बनाउनु थियो।
'मेरो उद्देश्य यस्तो नेपाल बनाउने थियो जहाँ बालबालिकालाई उनीहरूकै परिवारले माया र रेखदेख गरून्। दुर्भाग्यवश, मैले यहाँ धेरै परिवारबिहीन बालबालिका भेटेँ। जब एउटा बच्चाले आफ्नो आमाबुवा गुमाउँछ, उसले परिवारको सुरक्षा, सहायता, पहिचान सबै गुमाउँछ,' ३६ वर्षीया उनले भनिन्, 'त्यसलाई फर्काउने प्रयासमा म उनीहरूको आमा बन्न पुगेँ।'
यो यात्रामा म्यागीले बालबालिकाका क्षेत्रमा पहिलेको तुलनामा धेरै परिवर्तन पाएकी छन्। पढ्ने केटीहरूको संख्या बढेको छ। महिलाहरू रोजगार भएका छन्। झन् एउटै ठाउँ, सुर्खेतमा बस्नुको फाइदा परिवर्तनलाई राम्ररी महसुस गर्न पाउनु हो भन्ने लाग्छ।
कहिलेकाहीँ उनलाई लाग्छ पनि, 'ह्या! यो काम राम्रो दिशामा गइरहेको छैन।'
फेरि कहिलेकाहीँ बब्बाल काम गरिरहेको महसुस हुन्छ।
यो सबै अनुभव–अनुभूति उनको किताबमा पढ्न सकिन्छ। आफूलाई कम पढेको र लेखन अनुभव नभएको बताउने म्यागीको यो किताब एउटा सुन्दर आख्यान पढेझैं महसुस हुन्छ। किताबबाट आम्दानी हुने सबै रकम बालबालिकाकै लागि खर्च गर्ने उनको सोच छ।
म्यागीको अर्को सोच भनेको बालबालिकाकै क्षेत्रमा थप काम गर्ने हो। बालबालिकाका लागि जति काम गरे पनि अझै धेरै गर्न बाँकी रहेको महसुस गर्ने म्यागीलाई थाहा छ; सबै बालबालिकाले प्रेममय, साक्षर र सुरक्षित जीवन पाएका छैनन्।
उनलाई यो पनि थाहा छ, हिमाजस्तै कुनै खोला किनारमा अरू बालबालिका त्यसरी नै ढुंगा फुटाउने काम गरिरहेका छन्।
त्यसको आवाज उनको कानमा ठोक्किरहन्छ, ट्वाक–ट्वाक–ट्वाक।