अमेरिका बस्ने कशिशदास श्रेष्ठलाई नेपाल सम्झिँदा सुर्ता लाग्छ।
'काठमाडौंको हावा–पानी विषाक्त छ। फलफूल, खानेकुरा सबै अस्वस्थकर छ। यस्तो हुँदैछ भनेर हामीलाई धेरै अघिबाट थाहा थियो। हामीले धेरै कुरा गर्न सक्थ्यौं तर केही गरेनौं। हामीले काठमाडौंको अस्तित्व जोगाउनै सकेनौं।'
यस्ता यावत कुरा सम्झिएर 'एन्जाइटी' हुन थालेपछि कशिश सामाजिक सञ्जाल विशेषगरी ट्विटरमा ट्विट लेखेर पोख्छन्। सहरी योजना, वातावरण र दिगो विकासमा काम गर्दै आएका उनी कहिले पत्रपत्रिकामा लामो लेख छपाउँछन्। त्यतिले नपुगेर केही समय नेपाल आएका उनले झम्सिखेलस्थित विन्ड हर्स ग्यालरीमा 'पोस्टकार्ड्स फ्रम काठमाण्डुज पास्ट' नामक प्रदर्शनी गरे।
गत शुक्रबारबाट सुरू भएको प्रदर्शनीमा उनले आफू र बुवा ज्ञानेन्द्र र हजुरबुवा द्वारिकादास श्रेष्ठले संकलन गरेका तस्बिर र पोस्टकार्डहरू राखेका छन्। उनको परिवारको तीन पुस्ताले सँगालेका काठमाडौंको तस्बिर अनुभव हामी प्रदर्शनीमा देख्न सक्छौं। तिनलाई हेर्दै काठमाडौंको विगत र वर्तमान तुलना गर्न सक्छौं।
अनि कशिशजस्तै सुर्ताउन सक्छौं, 'हामीले काठमाडौंको अस्तित्व जोगाउनै सकेनौं।'
'पोस्टकार्ड्स फ्रम काठमाण्डुज पास्ट' भन्ने प्रदर्शनीको नाम सुन्नेबित्तिकै हामी बिना खाम सन्देश पठाउन प्रयोग गरिने कार्ड सम्झिन सक्छौं। सामान्यतया यस्ता कार्डको एक पाटामा चित्र हुन्छ भने अर्कोमा सन्देश लेख्न छाडिएको खाली भाग।
कशिशको प्रदर्शनीमा छिर्दा भने हामीलाई पोस्टकार्ड नभई फोटो प्रदर्शनीमा आएजस्तो लाग्छ। एउटा कुनामा मात्र उनले मौलिक पोस्टकार्डको संकलन राखेका छन्।
त्यसो गर्नुको कारण बताउँदै उनी भन्छन्, 'मैले वास्तविक पोस्टकार्ड पनि राखेको छु तर मलाई फोटाहरू ठूलै मनपर्छ।'
यस प्रदर्शनीमा हामी काठमाडौं उपत्यकामा रहेका धरहरा, दरबार स्क्वायर, स्वयम्भू, बौद्ध, टुँडिखेल लगायतका परिवर्तित रूप देख्न सक्छौं। यहाँ सबैभन्दा धेरै तस्बिर बौद्धको छ। बौद्धका पाँच तस्बिरमध्ये चार वटा उनका हजुरबुवा द्वारिकादासले खिचेका हुन्। एउटा भूकम्पको समयमा कशिशले नै खिचेका।
सन् १९६० तिर उनका हजुरबुवाले खिचेका तस्बिर हेर्ने हो भने बौद्धका खुला फाँटहरू देख्न सकिन्छ। त्यो ठाउँ अहिले घरैघरले भरिएको छ। मान्छेहरू डोको–नाम्लो, पुरानै पहिरन अनि खाली खुट्टामा देख्न सकिन्छ।
'मलाई काठमाडौं मात्र केन्द्रित गर्न मन लागेको थियो। त्यसमा पनि बौद्धको धेरै राख्न मन लाग्यो। त्यसो गर्नुको कारण के हो भने मेरो हजुरबुवाको समयमा बौद्ध भनेको काठमाडौंबाट एकदम टाढाको ठाउँ थियो। आजको दिनमा त यो काठमाडौंको कोर क्षेत्रजस्तै भइसक्यो,' उनले भने, 'आज मान्छेहरू सजिलै त्यहाँ पुग्न सक्छन्। ६० वर्षको अन्तरालमा बौद्ध कस्तोबाट कस्तो भयो भन्ने मान्छेले सोचून् भनेर पनि त्यहाँको तस्बिर धेरै राखेको हुँ।'
उनले एउटा तस्बिर 'एआई ब्लु स्काई' भनेर राखेका छन्। बसन्तपुरमा भएका मन्दिरहरू माथिको आकाशलाई उनले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिमार्फत नीलो र सफा बनाएका छन्। आकाश धुम्म परेको दिन खिचिएको उक्त तस्बिरको आकाश नक्कली हो भनेर हामीलाई झट्ट हेर्दा खुट्याउन हम्मे पर्छ।
अहिलेको समयमा फोटोग्राफी क्षेत्रलाई एआई चुनौती बन्दै गएको बुझेका कशिशलाई त्योभन्दा बढी चिन्ता काठमाडौंको नीलो र खुला आकाश देख्न पाउन मुश्किल हुन्छ भन्नेमा छ।
'वसन्त ऋतुमा आकाश नीलो देखिनुपर्ने हो, किन धुम्म हुन्छ?,' प्रश्न गर्दै उनी भन्छन्, 'नीलो आकाश हेर्न पाउने दिन घटेको छ। वायु प्रदूषणको सूचीमा हामी हरेक हप्ताजसो शीर्ष १० मा पुगेका छौं।'
यसको समाधान के हो त?
उनी एउटै मात्र समाधान देख्छन्– एयर प्युरिफायर (हावा शुद्ध गर्ने सामग्री)।
'एउटा समय थियो जब वायु प्रदूषणको प्रमुख कारण सार्वजनिक यातायात मात्र थियो। अहिले धूलो अनि वन डढेलो पनि हो। डढेलोमा त हामीले दुई–तीन वर्षअघिको रेकर्ड नै ब्रेक गरिसकेका छौं,' उनले भने, 'नयाँ मेयरहरू आए तर उनीहरूले वायु प्रदूषणलाई आफ्नो मुख्य एजेन्डामा राखेनन्। काठमाडौं यस्तो प्रदूषित सहर हुन्छ भन्ने हामीलाई पहिल्यै थाहा थियो तर हामीले केही गर्नै सकेनौं। काठमाडौंका बासिन्दाहरू मास्क नलगाई बिन्दास हिँडिरहेका छन्। उनीहरूलाई पनि यसको खासै मतलब छैन जस्तो लागिरहेको छ।'
यो प्रदर्शनीमा काठमाडौंको नकारात्मक परिवर्तन मात्र नभई सकारात्मक परिवर्तनहरू पनि छन्। जस्तो उनका हजुरबुवा द्वारिकादासले खिचेको 'पार्क्ड इन पाटन' शीर्षकको एउटा तस्बिरमा पाटन दरबार स्क्वायरमै गाडी पार्क गरिरहेको दृश्य देखिन्छ। त्यस्तै उनका बुवा ज्ञानेन्द्रले खिचेको तस्बिरमा दरबार स्क्वायरमै तरकारी, लत्ताकपडा बेचिरहेका छन्। ती तस्बिरको तुलनामा कशिशले अघिल्लो वर्ष मात्र खिचेको पाटन अलि व्यवस्थित छ। दरबार स्क्वायरमा अहिले न पार्किङ गर्न पाइन्छ न त्यसरी सामग्री नै बेच्न।
'यो हिसाबमा अहिलेभन्दा पहिले नराम्रो थियो नि! मैले यी तस्बिरबाट पुरानो भन्नेबित्तिकै राम्रो मात्र नहुन सक्छ भन्ने कथा भन्न खोजेको हुँ। समग्र काठमाडौंलाई हेर्ने हो भने चाहिँ बिग्रिएकै धेरै छ,' उनले भने।
यो प्रदर्शनीमा २० वटा ठूला आकारका तस्बिर छन्। बाँकी साना पोस्टकार्ड हुन्। घरमै ती तस्बिर र विस्तारित फोटो कथा हेर्ने हो भने 'क्याटलग' लैजान सकिन्छ। क्युआर कोड स्क्यान गरेर अनलाइनमा हेर्न पाउने सुविधा छ।
कशिश काठमाडौंको कथा भन्नु भनेको सिंगो नेपालकै कथा भन्नु बराबर ठान्छन्। काठमाडौंले अहिले जस्तो स्थिति सामना गरेको छ, त्यही स्थिति अन्य भू–भागले पनि भोग्न थालेका छन्। त्यसैले काठमाडौंको सहरी विकासको कथा भन्नु लगभग सबै भू–भागको कथा भन्नु हो भन्ने उनलाई लाग्छ।
'काठमाडौंमा जुन अनियोजित र अदुर्दशी विकास भइरहेको छ, त्यसैको सिको अरू ठाउँले गरिरहेका छन्। झन् जलवायु परिवर्तनले सबै कुरा हाम्रो हातबाट बाहिर जाँदै छ,' उनले भने, 'यो समयमा हरेक वर्ष नेपालमा वायु प्रदूषण हुन्छ नै। मनसुनपछि बाढीको समाचार आउँछ नै। त्यसपछि चाडपर्व, जाडो अनि फेरि प्रदूषणको चक्र चली नै रहनेछ। बाहिर बसेर पनि म नेपालबारे नै अध्ययन गर्ने भएकाले मलाई नेपालले गुमाएका अवसरहरूले पिरोलिरहन्छ।'
सन् २०१९ मा 'नेसनल जिओग्राफिक एक्सप्लोरर अवार्ड' पाएका कशिश लेखन र फोटोग्राफीलाई सञ्चारको माध्यम मान्छन्। उनले गर्ने सहरी योजना, वातावरण र दिगो विकासका अनुसन्धान र थेसिसहरूमा फोटोले प्रमाणको रूपमा काम गर्छ।
हजुरबुवाको समयसम्मको तस्बिरहरू प्रदर्शनीमा राखेको भए पनि आफ्नो हजुरबुवाका बुवा ठाकुरदासदेखि नै परिवारको फोटोयात्रा सुरू भएको उनी बताउँछन्। ठाकुरदासले सन् १९२७ मा दार्जिलिङमा फोटो स्टुडियो खोलेका थिए। 'फेसेस अफ नेपाल' भनेर पोस्टकार्डहरू निकाल्थे। नेपाल, तिब्बती संस्कृति र हिमालहरूका फोटा बढी खिचे। त्यसैले कशिशले यो प्रदर्शनीलाई तीन पुस्तामा सीमित गरेका छन्।
हजुरबुवा द्वारिकादासले भने सन् १९६० मा दार्जिलिङबाट काठमाडौं फर्किएर 'दास फोटो स्टुडियो' खोले। उनी र उनको स्टुडियो त्यस समयमा प्रसिद्ध थियो। द्वारिकादास नेपालमा व्यावसायिक पोस्टकार्डको काम गर्ने सुरूआती चरणका व्यक्तिमध्ये एक भएको कशिश बताउँछन्। उनले बिस्तारै डकुमेन्ट्री शैलीका तस्बिरहरू खिचे।
कशिशका बुवा ज्ञानेन्द्रले पनि पोस्टकार्डभन्दा बढी डकुमेन्ट्री शैलीमै तस्बिरहरू खिचे। पोस्टकार्ड शैलीमा कुनै कुरालाई प्राथमिकता दिएर तस्बिर खिचिन्छ। डकुमेन्ट्री शैलीमा वरिपरिका विषयवस्तुलाई पनि ध्यान दिइन्छ। यही शैली पछ्याएर ज्ञानेन्द्रले विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार पनि जितेका छन्। उनले कालापत्थरबाट सगरमाथा पूरा देखिनेगरी खिचेको 'टप अफ द वर्ल्ड' तस्बिर अझै लोकप्रिय छ। त्यस्तै फेवातालबाट अन्नपूर्ण देखिने तस्बिर, स्वयम्भू लगायतको तस्बिर अझै मान्छेले नक्कल गरेर निकालिरहेका हुन्छन्। उनले सन् १९८० तिर आफ्नै स्टुडियो 'दास कलर ल्याब' पनि खोलेका छन्। यो नै उनीहरूको पुस्ताको अन्तिम स्टुडियो हो।
'मैले भने कुनै स्टुडियो खोलिनँ,' कशिशले हाँस्दै भने, 'पहिले जस्तो स्टुडियोको महत्व अहिले त्यति रहेन। त्यसैले बुवा, हजुरबुवाको काम अभिलेख गर्दैमा मेरो समय बितिरहेको छ।'
आफ्नै घरमा फोटो स्टुडियो भएका कशिश फोटोग्राफीसँगै हुर्किए। त्यसैले प्रभावित पनि भए। बुवाले दिएको पुरानो क्यामराबाट फोटो खिच्न सिके। अमेरिकाको न्यूयोर्कमा एउटा सेमेस्टर फोटोग्राफी सम्बन्धी पढे पनि। एक सेमेस्टर मात्र फोटोग्राफी पढे पनि आफ्नो पुस्तामा सबभन्दा धेरै औपचारिक शिक्षा लिएको आफू नै भएको उनी बताउँछन्।
'मेरो परिवारले कलकत्ताबाट ल्याएको फोटोको म्यागजिन र किताब पढेरै फोटोग्राफीबारे ज्ञान लिएका हौं। बाजेबराजु सबैले औपचारिक ज्ञानभन्दा अनुभवबाटै सिकेका हुन्,' उनले भने।
बुवा–बाजेदेखिकै फोटोग्राफीको विरासत सम्हाल्दै आएका कशिशले विन्ड हर्स ग्यालरीमा 'पोस्टकार्ड्स फ्रम काठमाण्डुज पास्ट' नामक प्रदर्शनी गर्नुअघि सन् २००७ मा 'मोमेन्ट इन टाइम' नामक प्रदर्शनी गरिसकेका छन्। त्यसमा पोस्टकार्ड र समसामायिक तस्बिर मात्र नभई राजनैतिक, शाही परिवार, माओवादी द्वन्द्वकालमा खिचिएका मिश्रित तस्बिरहरू थिए।
करिब डेढ दशकपछि दोस्रो प्रदर्शनी गरेका कशिशलाई फोटो र पोस्टकार्ड प्रदर्शनीप्रति विश्वास छ, भन्छन्, 'यो प्रदर्शनी हेरेपछि मान्छेले काठमाडौंमा भएका परिवर्तन देख्छन्। एकपटक त उनीहरूलाई ओहो भन्ने हुन्छ। त्यसरी आश्चर्यमा परेपछि मान्छेले केही गर्छन् कि गर्दैन भन्ने चाहिँ आफ्नो ठाउँमा छ।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी