यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथा
आउँदो मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार दुवैतर्फ दर्ता भएका जम्मा उम्मेदवार ६ हजार दुई जना छन्।
यसमध्ये पुरुष ५ हजार ४ सय ६९ जना छन् भने महिला ५३२ जना। बाँकी एक जनाको भने लैंगिक पहिचानमा अन्य लेखिएको छ।
ती एक जना हुन् महेन्द्र साह तेली।
मधेश प्रदेश, सर्लाही जिल्लाको क्षेत्र नम्बर २ (ख) मा नेपाल जनता पार्टीका तर्फबाट प्रदेश सभामा उम्मेदवारी दिएकी साह पारलैंगिक महिला हुन्। उनको नागरिकतामा नाम पुरुषको छ, लैंगिक पहिचानमा 'तेस्रो' लेखिएको छ।
आयोगको अहिलेसम्मको तथ्यांकअनुसार यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी एक मात्र उम्मेदवार हुन् उनी।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारका निम्ति आवाज उठाउनै आफूले उम्मेदवारी दिएको उनले बताइन्।
'आफ्नो समुदायको बारेमा कुनै राजनीतिक दलहरूले आवाज उठाएका छैनन्। त्यसैले अब म बोल्छु भनेर उठेकी हुँ,' ५९ वर्षीय साहले सेतोपाटीसँग भनिन्।
सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर १ की स्थायी बासिन्दा साहको जन्म छोराका रूपमा भएको थियो। परिवार शिक्षित नै भएकाले बाल्यवस्था ठिकठाक बित्यो।
सानो छँदा उनको स्वभावमा खासै अन्तर देखिएन। हुर्किँदै जाँदा आफ्नो स्वभाव महिलाको जस्तो बन्दै गएको उनले बताइन्।
'पाँच कक्षा पढ्दै गर्दा ममा महिलाको स्वभाव देखिन थालिसकेको थियो। कक्षामा शिक्षकले समेत गाली र बेइज्जती गर्न थाले,' उनले भनिन्, 'कक्षामा सबैले विभिन्न उपनाम दिएर जिस्काउँथे। मानसिक तनाव बढ्थ्यो।’
आफूभित्रको पहिचानलाई चिन्ने संघर्ष चलिरहेका बेला उनलाई तनावले घेर्यो। स्कुल जान मन लाग्न छाड्यो। अनि पाँच कक्षा पढ्दापढ्दै उनले स्कुल छाडिदिइन्।
'म अरू केटाभन्दा अलग भएकै कारण, मेरो स्वभावकै कारण स्कुलमा मलाई राम्रो व्यवहार भएन। अनि स्कुलको त्यो वातावरणकै कारण म जानै छाडेँ,' उनले भनिन्, 'अब पहिचानकै कारण कसैले पनि पढाइ छोड्न नपरोस् भन्ने मलाई लाग्छ।'
साहका अनुसार उनी हुर्किरहेको समयमा, उनको गाउँमा पारलैंगिक भन्ने थाहा भएपछि समाजले हेला गर्थ्यो। परिवारका सदस्यलाई पनि उनीहरूजस्ता व्यक्तिलाई घरमा नराख्न भनेर दबाब आउँथ्यो। त्यसैले उनको परिवारले उनलाई 'किन्नर समाज' को साथ लगाएर भारत पठाइदियो।
सामान्य भाषामा भारतमा किन्नर समाज भन्नाले बाजा बजाएर, गीत गाउँदै, नाचगान गर्दै बच्चाको जन्म भएको अवसर र अन्य उत्सवहरूमा आशीर्वाद दिनेहरू यौनिक तथा लैंगिक अलपसंख्यक समुदायका व्यक्तिहरूको समूहलाई बुझिन्छ। यस्तो समूहमा प्रायः आफ्नो जन्मको पहिचानभन्दा अलग पहिचान भएका व्यक्तिहरू हुन्छन्।
साहले भारतमा यसरी नै काम गरेर बीस वर्ष बिताइन्। अरूको भलो होस् भन्दै आशीर्वाद दिने काममा उनीहरू पैसा, लत्ताकपडा, चामल लगायत पाउँथे।
'बीस वर्षसम्म मैले भारतमा धेरै दुःख भोगेँ। त्यसपछि भने यसरी हुँदैन, आफ्नो अधिकारका लागि मैले पनि बोल्नुपर्छ भनेर नेपाल फर्किने निर्णय गरेँ,' उनले भनिन्।
नेपाली समाज दुई दशकमा धेरै फेरिसकेको थियो। तर उनी र लैंगिक तथा अल्पसंख्यक समुदायका अरू व्यक्तिहरूलाई त्यति धेरै सहज थिएन।
उनी भारत जाँदा पुरुष हुलियामा गएकी थिइन्, फर्किँदा महिला हुलियामा आइन्। उनले आफ्नो भन्ने नाम पनि फेरेकी थिइन्- महेन्द्र साहबाट राधा मौसी।
'पहिला केटाको हुलियामा गएकी म पछि गाउँ फर्किँदा केटी बनेर आएँ,' उनले भनिन्।
पारलैंगिक महिला राधा मौसी बनेर आएकी उनले आफ्नो पहिचान छिमेकीहरूसँग बाँड्न थालिन्। सुरूमा उनलाई धेरै गाह्रो भएको थियो। समाजले सहजै पचाएन। तर अनेकन हन्डर खाइसकेकी साह हच्किनन्। उनी लागिरहिन्। आफ्नो समुदायको अधिकारका लागि बोल्दै हिँडिन्। हिंसामा परेका महिलाका लागि आवाज उठाउन थालिन्। त्यसपछि बल्ल उनलाई समाजले स्वीकार गर्दै गयो। सामान्य व्यक्तिसरह व्यवहार गर्न थाल्यो।
'त्यसपछि मैले मेरो पारलैंगिक पहिचानसहितको नागरिकता पनि बनाएँ,' उनले भनिन्, 'नाम भने पुरुषकै छ।'
तर नाम पुरुषको जस्तो मात्र न हो, उनी आफूलाई महिला भनेर चिनाउँछिन्। र उनले आफूलाई जे भन्न रूचाउँछिन्, त्यो नै उनको वास्तविक पहिचान हो।
भारतबाट फर्केयता उनले निरन्तर आफ्नो, लैंगिक तथा अल्पसंख्यकको र अरू समुदायका लागि पनि आवाज उठाइरहेकी छन्। उठाइएका आवाज सधैं सुनुवाइ हुँदैनन्। सुनुवाइ भए पनि कार्यान्वयन हुँदैनन्। साहले पनि यस्ता थुप्रै अवस्था भोगिन्।
'समुदायको लागि आवाज उठाए पनि कार्यान्वयन नहुँदा म निराश हुन्थेँ। केही गर्न नसकेको जस्तो लाग्थ्यो,' उनले भनिन्।
यही निराशालाई आशामा बदल्न उनले राजनीतिमा प्रवेश गर्ने सोच बनाएकी हुन्। उनको सोचलाई परिवार र छिमेकीले पनि साथ र हौसला दिएको उनी बताउँछिन्।
सुरूमा उनी कुनै पनि पार्टीमा आवद्ध थिइनन्। उनले स्थानीय चुनावमा स्वतन्त्र मेयरको उम्मेदवारी दिएकी थिइन्। उनका प्रतिस्पर्धीले १७०० भोटले उछिने।
'मैदानमा आउन सक्नु नै मेरो ठूलो जीत हो। हारजीत त भइहाल्छ। तर मैले मेरो पहिचानसहित अघि बढेँ। म र मजस्ता साथीहरूको पहिचानलाई समाजले अझै तल पारेको छ,' साहले भनिन्।
पारलैंगिक महिला भएकै कारण उनले आफ्नो जीवनमा धेरै तीता अनुभव गरेकी छन्। त्यस्ता धेरै समस्यामा उनले थोरैसँग मात्र लडेर जितेकी छन्। राजनीतिमा लागेपछि मात्र समुदायको अधिकारका लागि आवाज बुलन्द बनाउँदै व्यावहारिक रूपमा पनि लागू गर्न सकिने विश्वास उनलाई छ।
'त्यसैले मैले राजनीतिमै यात्रा सुरू गरेकी हुँ,' उनले भनिन्।
पहिचानकै कारण स्कुल छाडेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि पढ्ने वातावरण बनाउने, पहिचानसहितको नागरिकता दिलाउने, दुर्व्यवहार गर्नेलाई कारबाहीको दायरामा ल्याउने, न्यायालयमा बराबरीको अधिकार लागू गर्ने, अन्य समुदायलाई जसरी समानुपातिक अधिकार दिलाउने जस्ता कुरालाई उनले राजनीतिक यात्रामा पूरा गर्ने सपना बोकेकी छिन्।
भन्छिन्, 'सपना त छ। अब यही समुदायको विश्वास र आश पनि छ। चुनावमा जितेँ भने यी सपना साकार पार्नेछु।'
यी पनि पढ्नुहोस्ः
जुन २८ को त्यो घटनाले संसारभर ल्याएको तरंग'
घरगाउँ गएर आफ्नो कथा सुनाउने सपना छ'
जब नागरिकता बनाउनका लागि संगीता डाक्टरका अगाडि नांगो हुनुपर्यो
पहिलाजस्तो नाच्न सक्दिनँ, अत्यास लाग्न थालेको छ'
'पुरुष लेखिएको मेरो नागरिकतामा महिला बनाउनु छ'
'कानुन आएपछि बिहे गरेर श्रीमती भित्र्याउने मन छ'
अनि उनको लाली-गाजल लाउने रहर पूरा भयो
'आमा बुहारी ल्याउनुपर्छ भन्नुहुन्थ्यो, म ज्वाइँ ल्याउँछु भन्थेँ'
उनले बरू घर छाडिदिइन्, आफ्नो पहिचान छाड्न सकिनन्
'दिनभरि काम गरेर राति सिँगार गर्दा अझै पनि आनन्द लाग्छ'
'अन्य वा महिला होइन, पारलैंगिक लेखेको नागरिकता चाहिन्छ'
६५ वर्षे छुटकनु भन्छिन्- पुरुष होस् वा महिलाको नाममा, नागरिकता चाहियो
'आमा र दाइले मलाई कहिले अँगालो हाल्नुहोला?'
'आमा बन्न चाहन्छु तर कानुनी बाटो छैन'
अबिना चौधरी, जसलाई नयाँ नाम र कामले दिलायो खुसी
हार नमानी चुनौतीसँग लडिरहेकी नग्मा खान