नेवार समुदायले काठमाडौं उपत्यकामा प्रत्येक वर्ष भदौ शुक्ल प्रतिपदाको दिन गाईजात्रा अर्थात् सापारू मनाउँछन्।
यस दिन वर्षभरमा दिवंगत भएका आफन्तको नाममा प्रतिकात्मक गाई बनाएर नगर घुमाउने चलन छ।
लिच्छविकालतिरै विकसित भएको र मल्लकालमा प्रसिद्धि पाएको यो पर्व हिजोआज नेवार समुदायमा मात्र सीमित छैन। विगत दुई दशकदेखि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पनि प्यारो पर्व बनेको छ।
धेरैलाई लाग्छ, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले गाईजात्रा किन मनाउँछ? नेवार समुदायजस्तै आफन्तको आत्माशान्तिका नाममा मनाउने हुन् वा अरू नै केही छ?
निलहिरा समाज (ब्लु डाइमन्ड सोसाइटी) अध्यक्ष पिंकी गुरुङ आफूहरूले पनि दिवंगत व्यक्तिकै नाममा गाईजात्रा मनाउने बताउँछिन्। तर उनीहरूले सम्झिने रगतको नाता, आफन्तभन्दा धेरै आफ्नो समुदायका व्यक्ति हुन्छन्। परिवारले बेवास्ता गरेका लैंगिक तथा अल्पसंख्यक समुदायका दिवंगत व्यक्तिको नाममा मैनबत्ती बालेर उनीहरू गाईजात्रा मनाउँछन्।
काठमाडौंको ठमेलदेखि सुरू गरेर बसन्तपुरसम्म रमाइलो गर्दै उनीहरू मैनबत्ती बाल्छन्।
मैनबत्ती बाल्नुलाई प्रतिकात्मक रूप पनि भन्छन्, 'हामीले वर्षौंदेखि सहेको वेदना सल्काएको हो।'
यसरी आफ्नो वेदना सल्काउँदै उनीहरूले गाईजात्रा मनाउन थालेको सन् २००३ देखि हो। आजसम्म आइपुग्दा गाईजात्रा नेवार समुदायसँगै उनीहरूको पनि विशेष दिन बनिसकेको छ।
झन्डै बीस वर्षअघि लैंगिक तथा अल्पसंख्यक समुदायले गाईजात्रा मनाउन किन मनाउन थाल्यो?
यसबारे पारलैंगिक महिला उमिशा पाण्डेले हामीलाई एउटा घटना सुनाइन्।
त्यति बेला पारलैंगिक महिला भैरव श्रेष्ठलाई रोगले गाँजेको थियो। श्रेष्ठलाई आफ्नो पहिचानबारे यकिन थिएन। बिहे गरेपछि मात्र थाहा भयो। उनका श्रीमतीसहित छोराछोरी पनि थिए।
पहिचान थाहा भएपछि काठमाडौं आएका उनलाई एचआइभी संक्रमण भयो। बाँच्ने समय घट्दै थियो। त्यही बेला उनको भेट निलहिरा समाजसँग भयो। संस्था पुग्दा उनको अवस्था नाजुक भइसकेको थियो। उपचारका लागि टेकु अस्पताल भर्ना गरियो। भर्ना भएको केही समयपछि उनको मृत्यु भयो।
दाहसंस्कारका लागि संस्थाले उनको परिवारसँग सम्पर्क गर्यो। तर भैरवलाई परिवार, समाज सबैले बेवास्ता गरेको थाहा भयो। उनको दाहसंस्कार गरिदिने आफन्तजन कोही भएनन्। त्यसपछि संस्थाले नै उनको दाहसंस्कार गरिदियो।
'भैरवको दागबत्ती मैले नै दिएकी थिएँ,' उमिशाले भनिन्, 'परिवार र समाजले स्वीकार नगरेका मृतक साथीहरूको दाहसंस्कार संस्थाले गर्दै आएको छ।'
संस्थाले भैरवसहित यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मृतक धेरैको दाहसंस्कार गरिसकेको छ।
यसरी परिवार र समाजले बेवास्ता गरेका व्यक्तिरूको आत्माशान्तिको कामना पनि उनीहरू गर्छन्। त्यसनिम्ति उनीहरूले मैनबत्ती बाल्ने सोच बनाए।
कहिले बाल्ने त?
काठमाडौंमा बसिरहेको भएकाले निलहिरा समाजका सदस्यले गाईजात्रा नजिकबाट नियालेका थिए। गाईजात्रा यसै पनि दिवंगतलाई सम्झिने दिन। आफ्नो समुदायका दिवंगत आत्माको शान्तिका लागि मैनबत्ती पनि गाईजात्राकै दिन बाल्ने निधो गरेको निलहिरा समाजकी अध्यक्ष पिंकी बताउँछिन्।
गाईजात्रा मनाउन सुरू गर्दा उनीहरूको समूह जम्मा ६ जनाको थियो। त्यसमा सुनीलबाबु पन्त, रवि सिलवाल, उमिशा पाण्डे, सुमन महर्जन, मनिषा ढकाल र पिंकी गुरुङ थिए।
पहिलोपटक गाईजात्रा मनाउन उनीहरू तयार थिए। तर उनीहरूलाई डर थियो, सबभन्दा बढी प्रहरीको।
'प्रहरीले हामीलाई जहाँ देख्यो त्यहाँ लखेट्ने, कुट्ने गर्थे। गाईजात्रामा पनि त्यस्तै गर्छन् होला भनेर हामी डराएका थियौं। तर कसैले केही गरेनन्,' उमिशाले दुई दशकअगाडिको गाईजात्रा सम्झिन्, 'पहिलोपटक डराउँदै भए पनि मनायौं। खुल्यौं।'
त्यो बेला काठमाडौंभित्र भएका उनीहरूका समुदायका समस्य मात्र सहभागी थिए। गाईजात्रा खुला मञ्चमा देखाइने भएकाले पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई त्यति बेला सहज भएको उमिशा बताउँछिन्।
उनीहरूले त्यस दिन रंगीबिरंगी लुगा लगाएर ठमेलदेखि र्याली निकाले। आफ्नो समुदायको नारा लगाए। र्याली बसन्तपुर पुगेर विसर्जन गरे। अनि दिवंगतका नाममा मैनबत्ती बालेर आत्मा शान्तिको कामना गरे।
'त्यति बेला त गाईजात्रालाई समलिंगी बनाउन लागेको भनेर कतिले हामीलाई गाली गरे,' पिंकीले बताइन्।
सुरूमा गाली खाए पनि गाईजात्रा मनाउन थालेपछि समाजले आफ्नो समुदायलाई बुझ्न खोजेको र दृष्टिकोण धेरै परिवर्तन भएको पिंकीको अनुभव छ। परिवारमा आफ्नो पहिचान नखुलाएका यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्ति पनि गाईजात्रामा आएर खुल्न थालेका छन्।
'उनीहरू मुखमा मास्क लगाएर भए पनि गाईजात्रामा आउँथे, आउँछन्। गाईजात्राले गर्दा धेरै व्यक्ति आफ्नो पहिचानबारे खुले, अनि अरूले पनि हाम्रो समुदायलाई बुझ्न थाले,' पिंकीले भनिन्।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पहिलो गौरव पर्व हो गाईजात्रा। नेपालमा पहिलो पटक यो समुदायले गौरव पर्वको रूपमा गाईजात्रालाई मानेका हुन्।
क्विर महिलावादी अभियन्ता गौरी नेपाली यो समुदायका लागि गाईजात्रा महत्वपूर्ण भएको बताउँछिन्। एक त समाज र परिवारले अस्वीकार गरेका व्यक्तिहरूको आत्मा शान्तिको कामना र सम्झना, अर्को आफूले चाहेको पहिचानमा निस्किन सक्ने माहोल।
शोक मनाउने गाईजात्रालाई किन गौरवका रूपमा लिइएको? बेलाबखत उठ्ने यो प्रश्नको जवाफ दिँदै गौरी भन्छिन्, 'यो दिन यौनिक तथा लैंगिक समुदायका व्यक्तिहरू आफ्नो समस्या, पहिचान, अधिकारका बारेमा गर्व साथ बोल्न पाउँछन्। समाजलाई स्वीकार नभएको बेला सांस्कृतिक विशेषतासहित यो दिन उनीहरूले स्वीकार गरेका हुन्छन्। त्यसैले उनीहरूका लागि गाईजात्रा गौरवको यात्रा पनि हो।'
गाईजात्रामा उनीहरू अधिकार, पहिचान र आफ्ना समस्या दर्शाउने भेषभूषा लगाउँछन्। यो दिन उनीहरू भावुक हुन्छन्, खुसी हुन्छन् र आफ्नो पहिचानप्रति गर्व गर्छन्। 'हामी पनि मानव हौं, हामीलाई पनि मानवसरह व्यवहार गर,' 'मेरो परिवार, मेरो समाज, मेरो पहिचानमाथि गर्व गर' भन्दै नारा लगाउँछन्।
जति यो दिन मनाउँदै गयो, आफ्नो पहिचान स्वीकार गर्न आफू र समाज दुवैलाई सहज भएको उनीहरू बताउँछन्।
पछिल्लो समय गाईजात्रा देशैभरिका यौनिक तथा लैंगिक समुदायले मनाउन थालेका छन्। आफ्नो ठाउँमा आफूले सके-जानेको तरिकाले मनाउँदै छन्। पहिलेभन्दा गाईजात्रा मनाउन सहज भएको छ। समाजले स्वीकार गर्न थालेको छ।
'पहिले प्रहरीको डर हुन्थ्यो, यसपालिको गाईजात्रामा प्रहरीसँगै सहकार्य गर्दैछौं,' उमिशाले भनिन्, 'योपटक नेपाल प्रहरीले ब्यान्ड बाजा बजाउने भएका छन्।'
नेपालस्थित अमेरिकी दूतावासले पनि गाईजात्रामा उनीहरूलाई सहयोग अनि साथ दिने भएको छ।
यसपालि उनीहरूको १९ औं गाईजात्रा हो। देशैभरिका हजारौं यौनिक तथा लैंगिक समुदायका व्यक्तिको सहभागिता हुने उमिशाले बताइन्। काठमाडौंबाहेक बुटवल र हेटौंडामा पनि मनाउने तयारी छ।
'पहिले काठमाडौंमा मात्र सीमित हाम्रो समुदायको गाईजात्रा अब देशैभरिको हुँदैछ,' उनले भनिन्।
यौनिक तथा अल्पसंख्यक समुदायको स्वीकार र स्वागत पनि देशैभरले गरोस्!
यी पनि पढ्नुहोस्ः
जुन २८ को त्यो घटनाले संसारभर ल्याएको तरंग
जब नागरिकता बनाउनका लागि संगीता डाक्टरका अगाडि नांगो हुनुपर्यो
पहिलाजस्तो नाच्न सक्दिनँ, अत्यास लाग्न थालेको छ'
'पुरुष लेखिएको मेरो नागरिकतामा महिला बनाउनु छ'
'कानुन आएपछि बिहे गरेर श्रीमती भित्र्याउने मन छ'
अनि उनको लाली-गाजल लाउने रहर पूरा भयो
'आमा बुहारी ल्याउनुपर्छ भन्नुहुन्थ्यो, म ज्वाइँ ल्याउँछु भन्थेँ'
उनले बरू घर छाडिदिइन्, आफ्नो पहिचान छाड्न सकिनन्
'दिनभरि काम गरेर राति सिँगार गर्दा अझै पनि आनन्द लाग्छ'
'अन्य वा महिला होइन, पारलैंगिक लेखेको नागरिकता चाहिन्छ'
६५ वर्षे छुटकनु भन्छिन्- पुरुष होस् वा महिलाको नाममा, नागरिकता चाहियो
'आमा र दाइले मलाई कहिले अँगालो हाल्नुहोला?'
'आमा बन्न चाहन्छु तर कानुनी बाटो छैन'
अबिना चौधरी, जसलाई नयाँ नाम र कामले दिलायो खुसी
हार नमानी चुनौतीसँग लडिरहेकी नग्मा खान