यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः
ललितपुरमा जन्मेकी हुन् सरिता केसी, ३५ वर्षकी भइन्। केही वर्षदेखि उनी अर्की एक महिलासँग बसेकी छन्। उनी आफूलाई द्विलिंगी अर्थात बाइसेक्सुअल महिला भन्छिन्। यसको अर्थ उनीहरू दम्पती हुन्।
सरिता आमा बन्न चाहन्छिन्। उनी आमा बन्ने दुई वटा उपाय हुन सक्छन्। एक– कोही पुरुषबाट बच्चा जन्माउने, दुई– अपरिचित पुरुषको शुक्रकीटबाट 'इन भिट्रो फर्टिलाइजेसन' गर्ने अर्थात् 'टेस्टट्युब बेबी' जन्माउने वा यस्तै प्रक्रिया अवलम्बन गर्ने।
यसबाहेक अर्को उपाय हो अरू कसैको छोरा/छोरीको धर्मआमा बन्ने।
'म महिलालाई नै जीवनसँगीनी बनाएर सँगै बसेकी छु। त्यसैले आफैं गर्भधारण गरेर आमा बन्न सक्ने अवस्थामा छुइनँ,' उनी भन्छिन्। अहिले पुरुषप्रति यौन आकर्षण कम हुँदै गएकाले पनि उनी आफैं गर्भधारण गर्न इच्छुक छैनन्।
सरिता कुनै आमाबाबुको बच्चा 'एडप्ट' गर्न चाहन्छिन्। तर यसमा उनका लागि कानुनी बाटो छैन। उनका अनुसार धर्मआमा वा धर्मबाबु बन्ने कानुनी व्यवस्था भए पनि उनीजस्ता फरक लैंगिक पहिचानका व्यक्तिका लागि यस्तो सुविधा छैन।
पारलैंगिक, समलैंगिक, द्विलैंगिक वा यस्तै फरक लैंगिक अवस्थाका महिला वा पुरुषले आफ्नो पहिचानसहित धर्मआमा वा धर्मबाबु बन्ने कानुनी व्यवस्था छैन।
'म आमा बन्नुमा परेको मुख्य बाधा कानुनी विभेद नै हो,' आफ्नो लैंगिक र यौनिक अवस्थाबारे सेतोपाटीसँगको कुराकानीमा उनले भनिन्।
परिवारमा जेठी छोरी भएर जन्मेकी सरिता स्कुले जीवनमा चुलबुले स्वभावकी थिइन्। पढाइमा मेहनती र जिज्ञासु पनि थिइन्।
किशोरावस्थामा प्रवेश गरेर उकालो लाग्दै गर्दा उनले आफू केटी साथीहरूभन्दा केही फरक रहेको अनुभव गर्न थालिन्। उनी आफूजस्तै केटीसाथीसँग भावनात्मक रूपले आकर्षित हुन थालेकी थिइन्। यस्तो भावना क्षणिक हुन्थ्यो र त्यसको अन्तर्यमा के थियो भन्ने पनि उनले थाहा पाइनन्।
उमेर बढ्दै जाँदा केही केटा साथीहरूले उनलाई मन पराए। केहीले प्रेमपत्र पनि लेखे। तर उनले जवाफ दिइनन्। खासमा उनलाई केटाहरूप्रति यौन आकर्षण थिएन। आफ्नो मनभित्र के हुँदैछ भन्ने पनि उनले थाहा पाइनन्। केही फरक महसुस भएको कुरा पनि कसैलाई भन्न सकिनन्।
'अहिलेजस्तो थिएन। त्यति बेला गुगलमा सर्च गरेर हेर्न सक्ने अवस्था थिएन। आफैंले खोजी गरेर बुझ्न पाउने सुविधा केही थिएन,' त्यो समय सम्झिँदै सरिताले भनिन्, 'समाजले जे बुझाएको छ त्यही पछ्याउनु पर्ने बाध्यता थियो।'
आफू अरू केटीहरू भन्दा केही न केही फरक छु भन्ने लागे पनि आफ्नो कुरा कसलाई, कसरी सुनाउने भन्नेमा सरिता अन्योलमा परिन्। आमालाई कसरी सुनाउने, के भन्ने, उनलाई थाहा भएन। साथीलाई सुनाउन पनि उनलाई यस्तै भयो। उनको भावना मनभित्रै गुम्सिएर रह्यो।
यत्तिकैमा उनले २०६१ सालमा एसएलसी उत्तीर्ण गरिन्। यसपछि उनी राजनीतिमा लागिन्। एउटा राजनीतिक दलको विद्यार्थी संगठनमा आबद्ध भएर केन्द्रीय तहसम्म पुगिन् तर लामो समय अडिइनन्।
उनले भनिन्, 'राजनीतिको भूत तीन वर्ष चल्यो। त्यसपछि आत्मनिर्भर हुनुपर्छ भन्ने लागेर जागिर खोज्नतिर लागेँ।'
उनी कलेज पढ्ने विद्यार्थी थिइन्। एउटा कोरियन प्रोजेक्टमा काम पनि पाइन्। यही समय कुनै एक पुरुषसँग उनको मन मिल्यो। दुवै जना एकअर्काका दुःखसुख साट्ने साथी भए। दिन बित्दै जाँदा प्रेम बस्यो। तर यो प्रेमसम्बन्ध धेरै दिन चलेन। खासमा प्रेम गाढा हुँदै जानुको सट्टा सरितालाई पुरुषप्रतिको आकर्षण घट्दै गयो।
सरिताले यस्तो प्रेममा नबस्नु उचित ठानिन्। सम्बन्ध अघि बढेन। यसो हुनुमा सरितालाई पुरुषप्रति यौन अकार्षण नहुनु नै मुख्य कारण थियो। खासमा प्रेममा परेका समयमा उनी आफ्नो यौनिक अवस्थाबारे प्रष्ट थिइनन्। अनायासै बसेको प्रेम अनायासै छुटेपछि केही वर्ष सरिता काममा मात्रै केन्द्रित भइन्।
कामकै सिलसिलामा उनले केही सामाजिक कार्यक्रममा सहभागी हुने मौका पाइन्। त्यही क्रममा केही सामाजिक अभियानीहरूलाई भेट्ने अवसर पाइन्। तिनैमध्ये एक थिइन् गैरसरकारी संस्था 'मितिनी नेपाल' की अध्यक्ष लक्ष्मी घलान।
मितिनी नेपालले लैंगिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरूको सहयोगका लागि काम गर्छ।
'लक्ष्मीलाई देख्दा सुरूमा मलाई अलिक अनौठो लाग्यो। लक्ष्मी हेर्नमा पुरुषजस्तो देखिन्थिन्। तर उनको नाम, स्वर र बोलीचाली महिलाको जस्तो थियो,' उनले भनिन्।
त्यस दिन लक्ष्मीसँग कुराकानी भएन। कुरा गर्न सरिता खासै उत्साहित पनि भइनन्। कुनै कार्यक्रमका अवसरमा अर्को पटक पनि लक्ष्मीसँग भेट भयो। यो भेट भने सरिताको जीवनमा कोशेढुंगा भइदियो।
लक्ष्मीसँग कुराकानी भयो। सरिताले पहिलो कुराकानीमै लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको बारेमा केही जानकारी पाइन्। लक्ष्मी समलिंगी रहिछन्। कुरा हुँदै जाँदा लक्ष्मीले 'एलजिबिटिआइक्यू' बारे बताइन्।
सरिताले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायभित्र कस्ताकस्ता व्यक्तिहरू छन्, कस्तो व्यक्ति यस्तो समुदायका मानिन्छन्, यस्ता व्यक्तिहरूप्रति समाजको दृष्टिकोण कस्तो छ भन्ने कुरा पनि बुझ्दै गइन्।
त्यो बेला सरिता एक महिलासँग प्रेम सम्बन्धमा थिइन्। पुरुषप्रति पनि सामान्य आकर्षण थियो। अब भने सरितामा कुनै अन्योल रहेन। उनले आफू द्विलिंगी महिला हुँ भन्ने टुंगो गरिन्। आफ्नो लैंगिक पहिचानमा प्रष्ट भइन्।
'मैले सबै कुरा बुझेपछि म पनि द्विलिंगी महिला रहेछु भन्ने थाहा पाएँ,' सरिताले भनिन्, 'महिला र पुरुष दुवैप्रति यौनिक, मानसिक, शारीरिक, भावनात्मक र प्रणयात्मक रूपमा आकर्षित छु भनेपछि म आफ्नो पहिचानमा प्रष्ट भएँ।'
सरिता र लक्ष्मीको भेट बाक्लिँदै गयो। उनी मितिनी नेपालको कार्यालयमा पुगिन्। त्यहाँ उनले केही समलिंगी महिलाहरूलाई भेट्ने र उनीहरूसँग कुरा गर्ने अवसर पाइन्। सरिताले मितिनी नेपालसँग निकटमा रहेर काम गरिन्। पछि उनी त्यसको कार्यसमितिमा पनि पुगिन्।
उनीहरूको र आफ्नो समेत भोगाइले सरितामा कहिलेकाहीँ छटपटी उत्पन्न हुन्थ्यो। सामाजिक र कानुनी विभेदका विरूद्ध आवाज उठाउनेबारेमा सोच्थिन्। आखिर उनी लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको हित संरक्षण र हकअधिकारको अभियानी बनिन्।
एलजिबिटिआइक्यू समुदायभित्रै पनि द्विलिंगीप्रति उदार दृष्टिकोण नरहेको सरिताको अनुभव छ। समुदायभित्रै पनि कतिपयले द्विलिंगी हुनुलाई 'दुवै हातमा लड्डु' भनेर व्यंग्य गरेको उनले सुनेकी छन्।
सरिताले एउटा घटना सुनाइन्, 'यौनिक तथा लैंगिक समुदायको अधिकारसम्बन्धी एउटा कार्यक्रममा उपस्थित थिएँ। समुदायकै एक व्यक्तिले बाइसेक्सुअल महिलाको दुवै हातमा लड्डु भनेर व्यंग्य गरे। यसले मलाई धेरै पीडा अनुभव भयो।'
सरिताका अनुसार मुख्य कुरा लैंगिक तथा यौनिक अल्पसंख्यहरूको पहिचान, सम्मान र हितरक्षाका लागि कानुनी व्यवस्था गर्न आवाज उठाउनु हो। पहिचान र सम्मानको अवस्था परिवारभित्रैदेखि सिर्जना गर्नु आवश्यक छ। यसमा राज्यको सहयोग चाहिन्छ।
सरितालाई आफ्नो परिवारमा पहिचानको समस्या छैन।
उनले भनिन्, 'भाइले मेरा अन्तर्वार्ताहरू हेर्छ। अनि हाम्रो समुदायका समस्याबारे सामाजिक सञ्जालमा लेख्छ। यसबाट मलाई खुसी लाग्छ।'
उनी आफू बाइसेक्सुल महिला हुनु आफ्ना लागि गर्वको कुरा हो भन्छिन्।
एलजिबिटिआइक्यू समुदायका व्यक्तिहरू आर्थिक रूपमा आत्मनिर्भर हुँदा मात्रै पनि पहिचान र सम्मान सहज हुने सरिताको निष्कर्ष छ। आत्मनिर्भर हुन राज्य सहयोगी हुनुपर्छ। राज्य सहयोगी हुनुको अर्थ यस्तो समुदायको हितरक्षाका लागि कानुनी प्रबन्ध हुनु हो।
यो समुदायका व्यक्तिलाई अस्पताल पनि सहज छैन। सरिता एक पटक महिनावारी नभएको समस्या लिएर अस्पताल गइन्।
उनले आफ्नो अनुभव सुनाइन्, 'डाक्टरले विवाहित कि अविवाहित भनेर सोधे। मैले अविवाहित र महिला पार्टनरसँग बस्ने गरेको कुरा सुनाएँ। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि काम गर्छु भनेँ। डाक्टरले नाक खुम्च्याए अनि धेरै सोधपुछ गरे।'
'समग्रमा एलजिबिटिआइक्यू समुदायप्रति समाज सकारात्मक छैन,' उनी भन्छिन्, 'म बाइसेक्सुअल महिला हुँ भन्दा कोही व्यक्ति मसँग बोल्न डराउँछन्। यसले मलाई तनाव हुन्छ। कतिपय व्यक्तिहरू यौनिक हिसाबले हामीसँग डराउँछन्।'
सरिताका अनुसार राज्यले कानुनी अधिकार नदिएका कारण पनि बाइसेक्सुअल महिला र पुरुष बिहे गर्ने र बच्चा जन्माउने नैसर्गिक अधिकारबाट बन्चित हुनु परेको छ।
'राज्यले बाइसेक्सुअल विवाहबारे कुनै कानुनी व्यवस्था गरेको छैन। हामी बच्चा जन्माउने वा एडप्ट गर्ने अधिकारबाट बन्चित छौं,' सरिता भन्छिन्, 'बिहे गरेपछि बच्चा जन्माउन मन लाग्छ। कानुनी व्यवस्था नभएका कारण मसँग प्रजनन क्षमता भए पनि बच्चा जन्माउन पाउँदिनँ।'
सरिता केही वर्षदेखि सँगै बसेकी महिलासँग बिहे गरेर खुसीको जीवन बिताउन चाहन्छिन्। कानुनी व्यवस्था नभएका कारण दम्पतीका रूपमा सार्वजनिक हुन र दम्पतीले पाउने अधिकार उपभोग गर्न पाएका छैनन्।
'धेरै वर्षदेखि हामी सँगै बसेका छौं। तर राज्यले विवाह गर्ने कानुन दिएको छैन। हाम्रो विवाह दर्ता हुँदैन, नाता प्रमाणित हुँदैन। सम्पत्तिको हकदार हुन पाइँदैन,' सरिता भन्छिन्, 'मेरी आमाले मेरा बुबाको नामबाट नागरिकता पाएजस्तै मेरो पार्टनरले पनि मेरो नामबाट नागरिकता पाउने अधिकार हुनु पर्छ।'
राज्यले एलजिबिटिआइक्यू समुदायको यकिन तथ्यांक संकलन गरेर आरक्षणसमेत दिनु पर्ने उनको माग छ। एलजिबिटिआइक्यूमध्ये पनि बाइसेक्सुअल महिला र पुरुष बढी समस्यामा रहेको सरिताको भनाइ छ। उनी आफ्नो समुदायको हकअधिकार र हितरक्षाको अभियानमा लागेकी छन्।
भन्छिन्, 'राज्य र समाजले बाइसेक्सुअललाई आफ्नो पहिचान खुलाएर आउने सहज बाटो नबनाइदिँदा पहिचानबिनाको जीवन बाँच्नु परेको छ।'
राज्यको कानुन र नियम बनाउने तहमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिको प्रतिनिधित्व हुनु पर्ने पनि उनको माग छ। उनीहरू राज्यबाट अरूसरह अवसर प्राप्त गर्न चाहन्छन्। यसका लागि उचित कानुनी व्यवस्था चाहिएको छ। श्रम गरेर जिउन उनीहरू आफैं सक्षम छन्।
यी पनि पढ्नुहोस्ः
पहिलाजस्तो नाच्न सक्दिनँ, अत्यास लाग्न थालेको छ'
'पुरुष लेखिएको मेरो नागरिकतामा महिला बनाउनु छ'
'कानुन आएपछि बिहे गरेर श्रीमती भित्र्याउने मन छ'
अनि उनको लाली-गाजल लाउने रहर पूरा भयो
'आमा बुहारी ल्याउनुपर्छ भन्नुहुन्थ्यो, म ज्वाइँ ल्याउँछु भन्थेँ'
उनले बरू घर छाडिदिइन्, आफ्नो पहिचान छाड्न सकिनन्
'दिनभरि काम गरेर राति सिँगार गर्दा अझै पनि आनन्द लाग्छ'
'अन्य वा महिला होइन, पारलैंगिक लेखेको नागरिकता चाहिन्छ'
६५ वर्षे छुटकनु भन्छिन्- पुरुष होस् वा महिलाको नाममा, नागरिकता चाहियो
'आमा र दाइले मलाई कहिले अँगालो हाल्नुहोला?'