अमेरिकी सहयोग परियोजना एमसिसीको अनुदानमा मर्मत हुने सडकमा नयाँ प्रविधि प्रयोग गरिने भएको छ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको धानखोलादेखि शिव खोलासम्मको ७७ किलोमिटर सडकमा फुल डेप्थ रेक्लामेसन नामक नयाँ प्रविधि प्रयोग गर्न लागिएको हो।
यो प्रविधिले सडकको अहिलेको बेसलाई नै फुटाएर नयाँ बेसमा सिमेन्ट हालेर झन् बलियो बेस बनाउने छ।
त्यसो गर्दा अहिले सडकमा भइरहेका सामग्रीलाई नै पुन: प्रयोग गरिनेछ। यो प्रविधिमा अहिलेको सडकमा भएको सामानलाई फेरि प्रयोग गर्न मिल्ने बनाउने मेसिन हुन्छ। जुन मेसिन विदेशबाट मगाउनु पर्छ।
‘ठेक्काको बोलपत्र आह्वान गर्दा नै हामी उक्त प्रविधिको प्रयोग गरेर काम गर्न सक्ने हुनुपर्ने उल्लेख गरिदिन्छौं,’ अर्थ मन्त्रालय अन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट विकास समितिका सूचना अधिकारी राजिव दाहालले भने, ‘चाहिने मेसिन ठेकेदारले नै ल्याएर आउँछन्।’
सडकको माथि सुपरपेभ नयाँ अस्फाल्ट वेअरिङ कोर्स हालिनेछ। जुन परम्परागत अस्फल्ट भन्दा बलियो र टिकाउ हुन्छ।
यो प्रविधि प्रयोग गरेर सडक बनाउँदाको एउटा उदाहरण हेर्नुस् भिडिओ:
धान-खोला, शिव खोला ७७ किलोमिटर खण्डलाई दुई भागमा विभाजन गरिएको छ। धानखोला-लमही ४० किलोमिटर सडक खण्डलाई पाइलट आयोजनाको रूपमा काम भइरहेको छ। अहिले परामर्शदाता छनोट भएर डिजाइन को काम भइरहेको दाहालले बताए।
सडकलाई १२ मिटर चौडा बनाउने, जसमा ७ मिटर गाडी गुड्ने क्यारिज्वे डबल लेन र साढे २ मिटर दायाँ-बायाँ सोल्डर हुनेछन्। सहरी क्षेत्रमा १-१ मिटर नाली र ग्रामीण क्षेत्रमा दुई-दुई मिटर नालीसहित १४ मिटर र १६ मिटर चौडा हुनेछ।
यो प्रविधिबाट पूर्व-पश्चिम राजमार्ग मर्मत हुने भएपछि सडक विभाग अन्तर्गको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले दुई दर्जन बढी इन्जिनियरलाई तालिम दिएको छ।
पन्ध्र र पाँच दिन गरी दुई चरणमा इन्जिनियरलाई केन्द्रले हालै तालिम दिएको हो।
फुल डेप्थ रेक्लामेसन प्रविधि नेपालमा नयाँ हो। इन्जिनियरका अनुसार यो प्रविधिबाट कम लागतमा सडक बन्छ, बेसदेखि नै सडक दर्बिलो हुन्छ तथा वातावरणमैत्री हुन्छ।
‘यो प्रविधिमा हरेक लेयरमा रहेको सामग्री खनेर पुन: प्रयोगका लागि तयार पारिन्छ, तलको ग्राभेलदेखि माथि पिचसम्मको सामग्रीलाई फेरि प्रयोग गर्न मिल्छ,’ केन्द्रका प्रमुख कैलाशकुमार श्रेष्ठले भने, ‘यसो गर्दा कम लागत हुने, निर्माण सामग्री पनि कम प्रयोग हुने भयो।’
अहिलेसम्म नेपालमा दुई तरिकाले सडक मर्मत हुन्थ्यो। पहिलो, भएकै पिचमाथि पिच थप्ने। अर्को, भत्काएर नयाँ बनाउने।
यसो गर्दा पहिले पुरानो सामग्री पुन: प्रयोगचाहिँ हुन्थ्यो। तर, धेरै सामग्रीहरू काम लाग्दैनथे। हरेक तह छुट्याएर तिनलाई पुन: प्रयोगका लागि तयार पार्ने प्रविधि थिएन। त्यसो गर्दा निर्माण सामग्री बढी लाग्थ्यो।
नयाँ प्रविधिमा सबैभन्दामुनिको तहमा सिमेन्ट पनि प्रयोग गरिने भएको छ। कम्तीमा पाँच प्रतिशत सिमेन्ट राखेर सडकको बेसलाई बलियो पार्ने काम गरिन्छ।
‘अहिले निर्माण सामग्री पनि अभाव हुन थालेको छ, निर्माण सामग्री धेरै चाहिने भएकाले खर्च बढ्ने भयो,’ उनले भने, ‘यो प्रविधिमा कम खर्चमा काम हुने अपेक्षा छ।’
नयाँ प्रविधिबाट सडक निर्माण गर्दा प्रयोग हुने एउटा मेसिन पनि एमसिए-नेपालले सडक विभागलाई दिएको छ। फलिङ वेट डिफ्लेक्टोमिटर नामको मेसिन एमसिए नेपालले विभागलाई दिएको हो।
यो मेसिनले सडकको जुनसुकै तह जाँच गर्न सक्छ। यो प्रयोग गर्दा सडकको अवस्था कहाँ, के, कस्तो छ र कति मर्मत गर्नुपर्ने हो थाहा पाउन सकिन्छ।
एमसिए-नेपाल ले सडक विभागलाई ल्याब इक्विप्मेन्टहरू पनि दिएको छ।
सडक विभागका पूर्वमहानिर्देशक अर्जुनजंग बस्नेतका अनुसार दक्षिण एसियामै नयाँ प्रविधि नेपालले अपनाउँदैछ।
‘अमेरिकनहरूले मात्रै यस्तो विधिबाट सडक बनाउने गरेका थिए, यसो गर्दा कम खर्च हुने र टिकाउ हुने भनिएको छ,’ उनले भने, ‘हामीले प्रयोग गरिनसकेको हुनाले अहिले नै यसको ग्यारेन्टी गर्न चाहिँ सकिएन।’