नेप्से एआई नामक एप डाउनलोड गर्ने बित्तिकै एक व्यक्तिको खातामा रहेको २८ लाखभन्दा बढी रकम गायब भएको खुलेको छ।
मंगलबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सामाजिक सञ्जालमा आएका विज्ञापनकै आधार एप डाउनलोड गर्दा बैंक खाताबाट रकम नै गायब भएको भन्दै विज्ञप्ति जारी गरेको छ।
एसपी युवराज खड्काका अनुसार एक व्यक्तिले नेप्से एआईबारे फेसबुकमा विज्ञापन देखेका थिए। त्यस नेप्से एआई एपले सेयर बजारको विश्लेषण गर्न बनाइएको भनेर प्रचार गरिएको थियो।
ती व्यक्तिले एप इन्स्टल गरेपछि एपमा रिमोट सेसन खुलेको थियो। त्यसपछि एक्कासि स्क्रिन कालो भएको र बैंकबाट रकम गायब भएको प्रहरीले जनाएको छ।
ती पीडितको २८ लाख ६१ हजार रुपैयाँ रकम अन्यत्र खातामा ट्रान्सफर गरेको एसपी खड्काले बताए।
त्यस्तै मोबाइलमा रहेका डाटाहरू समेत मेटाएको भनेर ती पीडितले सिआइबीमा उजुरी दिएका थिए।
प्रहरीले यस्ता एप जस्ता अपरिचित एपहरू डाउनलोड वा लिंकमा क्लिक नगर्न वा इन्स्टल नगर्न अनुरोध गरेको छ।
यस्ता घटना थाहा पाउन बित्तिकै बैंक वित्तीय संस्था, नजिकका प्रहरी कार्यालय वा साइबर ब्युरोमा खबर गर्न पनि सिआइबीले अनुरोध गरेको हो।
यस्ता घटनाबाट बच्न टू-फ्याक्ट अथेन्टिकेशन (दोहोरो सुरक्षा) राख्ने, पासवर्ड बेलाबेलामा परिवर्तन गर्ने, नेप्से एआई जस्ता एप इन्स्टल नगर्ने, आफ्नो डिजिटल डिभाइस एनिडेस्क, टिम भ्युअर, लगायतको पहुँच नदिन अनुरोध गरेको छ।