पर्साको वीरगन्ज कारागारका एक जना कैदीको उपचारको क्रममा मृत्यु भएपछि छानबिन समिति गठन भएको छ।
कारागारमा कैद भुक्तान गरिरहेका एक जनाको उपचारको क्रममा मंगलबार मृत्यु भएपछि सात सदस्यीय छानबिन समिति गठन गरिएको पर्साका डिएसपी किशोर लम्सालले जानकारी दिए।
उनका अनुसार वीरगञ्ज महानगरपालिका- २५ का २५ वर्षीय राहुल साह तुराहाको मृत्यु भएको हो।
राहुल २०७९ सालदेखि कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद भुक्तान गरिरहेका थिए।
मंगलबार बिहान ८:४२ बजेतिर राहुलको श्वासप्रश्वासमा समस्या आएको थियो। समस्या आएपछि उनलाई ८:४५मा नारायणी अस्पतालमा लगिएको थियो।
अस्पतालमा उपचारको क्रममा चिकित्सकले ११ बजेतिर मृत घोषणा गरेको डिएसपी लम्सालले बताए। चिकित्सकहरूले अन्त रिफर गरेको भए बाँच्ने भनेर स्थानीयले प्रदर्शन गरेका थिए।
उक्त घटनापछि प्रशासन कार्यालयमा बैठकसमेत बसेको थियो। उक्त बैठकपछि स्थानीय तथा आफन्तले पोष्टमर्टम गर्न दिएर शव बुझ्ने सहमति गरेका हुन्।
यस घटनापछि सात सदस्यीय छानबिन समिति गठन गरेको प्रमुख गणेश अर्यालले जानकारी दिए।
उनकाअनुसार राहुल बिहान व्यायाम गरिरहेका थिए।
‘बिहान पुसअप गरेका रहेछन्। एक्कासि गाह्रो भएर भित्तामा अडेस लगाएका रहेछन्,’ उनले भने, ‘त्यसको सात मिनेटभित्रै उनलाई नारायणी अस्पताल पुर्याइएको थियो।’
अस्पतालमा भने आइसियू खाली थिएन। खाली नभएको सूचना पाएपछि कारागारमा रहेका बन्दीलाई प्राथमिकतामा राख्नुपर्ने भन्दै सिडिओ अर्यालले त्यहाँका मेडिकल सुपरिटेन्डेन्टलाई सम्पर्क गरेको पनि उनले बताए।
‘यता बिरामीलाई इमर्जेन्सीमै सिपिआर दिइँदै रहेछ। त्यसबीचमा अस्पतालमै आफन्त तथा स्थानीय आएर मेडिकल अस्पताल लग्ने भनेर पुगेका रहेछन्। तर केहीबेरमै उनको मृत्यु भएको थियो,’ सिडिओ अर्यालले भने, ‘यही विषयमा के-कस्तो भएको हो भनेर हामीले सात सदस्यीय समिति गठन भएको छ।’
समिति सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीको संयोजकत्वमा बनेको छ। समितिमा प्रहरी, जनप्रतिनिधि, मानव अधिकारकर्मी, मेडिकल एशोसिएसनका प्रतिनिधि, पत्रकार लगायतलाई समावेश गरी बनाइएको छ।
उनीहरूलाई १५ दिनको समय अवधि दिइएको छ।