सुर्खेतको वीरेन्द्रनगर-३ की नम्रता भारतीले १३ वर्षपछि मात्र अरूले संकेत गरेको अलिअलि बुझ्न थालिन्। परिवारका अरू सदस्यले उनीसँग केही कुरा गर्नुपर्यो भने सांकेतिक रूपमा गर्थे।
त्यतिबेलै उनले आफू सुन्न र बोल्न सक्दिनँ भन्ने पनि थाहा पाइन्।
अहिले उनी ३७ वर्षकी भइन्। अरूसँग कुरा गर्नुपर्यो भने उनलाई ‘दोभाषे’ चाहिन्छ। दोभाषेको सहयोग पनि उनलाई अपुग हुन्छ।
‘आधा जति बुझिन्छ, आधा आफैंले अनुमान गरेर बुझ्ने हो,’ उनले भनिन्, ‘कतिपय कुरा बुझ्नैपर्ने, तर नसकिने भयो भने लेखेर माग्नुपर्छ।’
एसएलसीसम्म पढेको भएर उनलाई लेखेर भने बुझाउन सकिन्छ। सुर्खेतमा रहेको ‘सिद्धबहिरा’ विशेष विद्यालयमा चार कक्षासम्म पढेकी भारती त्यसपछि काठमाडौंमा रहेको केन्द्रीय बहिरा स्कुलमा एसएलसीसम्म पढेकी हुन्।
आफूले सुन्न र बोल्न दुवै नसक्ने भएपछि परिवारसँगै घुलमिल हुने गरेको उनले बताइन्। अरू ठाउँमा पनि दोभाषे नहुँदा समस्या पर्छ।
कतिपय ठाउँमा त आफूले सांकेतिक रूपमा कुरा गर्दा बहिरा भनेर मानिस हाँस्ने गरेको नमिठो अनुभव उनको छ।
‘सबैले हाम्रो सांकेतिक भाषा बुझ्दैनन्, उनीहरूले बोलेको कुरा हामीले सुन्नै सक्दैनन्,’ भारतीले भनिन्, ‘कतै मानिस जम्मा भएको ठाउँमा उनीहरूले आपसमा कुरा गरेको भए पनि मलाई त आफ्नो कुरा काटेकोजस्तो लाग्छ, कतै त आफूले सांकेतिक रूपमा कुरा गर्दा अरूले मजाक गरेको सम्झिएर पनि हाँस्छन्।’
आफूसँग दोभाषे नभएको बेला केही भन्नुपर्ने वा माग्नुपर्ने कुरा पनि छुट्ने गरेको पीडा भारतीलाई छ।
महत्वपूर्ण सूचना थाहा पाउनलाई भने उनलाई मोबाइल, इन्टरनेटले साथ दिएका छन्।
सुन्न र बोल्न दुवै नसक्ने विशेष अपांगता भएकाहरू अपांगता भएकाका लागि दिइने अधिकांश सेवाबाट बञ्चित हुनुपरेको हुम्लाका धर्मदत्ता फडेराले बताए।
‘सरकारी कार्यालयमा केही सेवा लिन गयो भने पनि त्यहाँका कर्मचारीले हाम्रो भाषा बुझ्दैनन्, पढेकाहरू त लेखेर बुझाउलान्। लेख्न नजान्ने भयो भने त सेवा नपाएर फर्किनुपर्ने अवस्था आउँछ,’ उनले भने।
हुम्लाको सर्केगाड गाउँपालिका–३ का धर्मदत्त फडेरा ३० बर्षका भए। उनले पनि आफू सुन्न र बोल्न सक्दिनँ भन्ने कुरा १५ वर्षको भएपछि थाहा पाएका हुन्।
उनी १५ वर्षको हुँदा आफन्तहरूको पहलमा उनलाई काठमाडौंको केन्द्रीय बहिरा विद्यालयमा लगेर भर्ना गरियो। उनी अहिले कम्प्युटर र गणित विषयमा सोही विद्यालयमा स्नातक अध्ययन गर्दैछन्।
आफूले बोल्न र सुन्न दुवै नसक्दा सिकाइमा पनि ढिला भएको उनले बताए। सुरूमा अक्षरलाई चित्र सम्झेर सिक्नुपर्ने भएकाले सिकाइमा ढिलाइ भएको उनले बताए।
‘१५ वर्षको हुँदासम्म गाउँमा गाई चराउने र घरको अरू सक्ने काम मात्र गर्थें, त्यसपछि हामीजस्ता व्यक्ति पनि पढ्न पाइन्छ भन्ने थाहा भयो,’ उनले भने, ‘अहिले पढेको भएर सांकेतिक भाषा नबुझ्नेसँग सञ्चार गर्दा लेखेर भए पनि गर्न सकिन्छ ।’
आफूजस्ता विशेष अपांगता भएकाहरूलाई बजारमा सवारी साधन समेत जोखिम हुने गरेको फडेराले बताए।
अगाडिबाट आएको सवारी साधनलाई देखेर साइड लागे पनि पछाडिको सवारी साधनले बजाएको हर्न नसुन्दा समस्या हुने गरेको उनले बताए।
हर्न नसुनेपछि सवारी चालक वा सहचालकले गर्ने व्यवहारले पनि उनलाई पीडा दिन्छ।
‘कहिलेकाहीँ बाटोमा हिँड्दा वा उभिएको बेला पछाडिबाट आएको सवारी साधनले हर्न बजाएको हुन्छ, हामीले त्यो नसुनेपछि ठाउँ छोड्ने कुरा भएन,’ फडेराले भने, ‘त्यो बेला गाडीवालाले हामीलाई ‘कस्तो लाटो रहेछ’ भनेर रिसाउँछन्, उनीहरू रिसाएको अनुहारबाट मात्र थाहा पाइन्छ। तर बोलेको कुरा अरूले सुनेर हामीसँग हेर्छन्।’
आफूलाई डाक्ने अरूको शैलीलाई समेत उनले जोखिमका रूपमा लिएका छन्। विपरीत दिशातिर आफू फर्किएको बेला अरूले बोलाउनुपर्यो भने केही वस्तुले हानेर बोलाउने गर्छन्। त्यसले कहिलेकाहीँ चोट समेत लागेको उनले बताए।
‘पछाडि नै लाग्यो भने त खासै समस्या भएन, कहिलेकाहीँ उनीहरूले त्यस्तै गर्दा अगाडि फर्किने संयोग पर्यो भने त आँखामै लाग्छ नि! ’ फडेराले भने।
दोभाषे नहुँदा सामान्य मानिसहरूसँग सञ्चार गर्न समस्या हुने गरेको उनले बताए।
भौगोलिक विकटता भएको कर्णाली प्रदेशमा आफूजस्ता अपांगता भएकाहरूलाई अन्यत्र भन्दा बढी समस्या हुने गरेको उनी बताउँछन्।
आफ्नो अनुभवपछि फडेराले सबै मानिसलाई सांकेतिक भाषा अनिवार्य सिकाउनुपर्ने महसुस गरेका छन्।
प्रत्येक कार्यालय, विद्यालय वा सेवाप्रदायक निकायमा दोभाषे अनिवार्य भएमा सबैले सेवा पाउने उनी बताउँछन्।
अपांगतासम्बन्धी कुनै विशेष कार्यक्रम गर्दा समेत बाहिरबाट दोभाषे मगाउनुपर्ने अवस्था भएको कर्णाली प्रदेशमा यस्तो विशेष अपांगता भएकाहरूलाई सञ्चार गर्न निकै कठिन पर्ने गरेको राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेशका जनवकालत संयोजक जीतलाल ढकालले बताए।
‘एउटा विशेष स्कुल र स्रोत कक्षामा भएका शिक्षक नै हुन्, यहाँ भएका दोभाषेहरू, उनीहरू पनि आफ्नो पेशामा व्यस्त हुन्छन्,’ उनले भने, ‘हामीले कुनै कार्यक्रम गर्नुपर्यो भने बाहिरबाटै दोभाषे ल्याउनुपर्छ।’
२०६८ को जनगणना अनुसार कर्णाली प्रदेशमा ५१ हजार अपांगता भएका मानिस छन्। तर त्यसमा सुन्न र बोल्न नसक्ने अपांगता भएकाहरूको भने यकिन तथ्यांक छैन।
राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्मा सुन्न र बोल्न नसक्ने अपांगता भएकाहरू अपांगताभित्रका पनि सीमान्तकृत अपांगता भएकामा पर्ने बताउँछन्।
उनीहरूको लागि राज्य वा गैरसरकारी निकायबाट विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले बताए।
(दोभाषे गौरव शाहीको सहयोगमा नम्रता र धर्मदत्तसँग कुरा गरिएको)