रूपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जहाज उडान र अवतरणका लागि तयार भएको तीन महिना पहिले नै हो।
तर धावनमार्ग, कन्ट्रोल टावर लगायतका क्षेत्रमा जडान गरिएका महत्वपूर्ण विद्युतीय उपकरणले कतिको काम गर्छन् भन्ने परीक्षण गर्न बाँकी रहेकाले यो सञ्चालनमा आउन सकेको छैन। यहाँ जडान गरिएका विद्युतीय उपकरण कति ठिक छन् र कति काम गर्छन् भन्ने जान्न विशेष प्रकारको जहाजबाट मात्र परीक्षण गर्नुपर्छ।
तर विद्युतीय उपकरणको परीक्षण गर्ने ‘क्यालिब्रेसन फ्लाइट’ नआउँदा निर्माणको काम पूरा भए पनि विमानस्थल सञ्चालनमा कहिले आउँछ भन्ने अनिश्चित बनेको छ।
विमानस्थल आयोजना प्रमुख ईञ्जिनियर प्रवेश अधिकारीका अनुसार विमानस्थलको टावर, धावनमार्ग लगायतका क्षेत्रमा आवश्यक सबै विद्युतीय उपकरण जडान गर्ने काम चैत दोस्रो सातामै सम्पन्न भइसकेका थिए। तर कोभिड-१९ को जोखमका कारण विमानस्थलको ‘आइसिबी जिरो टु’ अन्तर्गतको काम गरिरहेको थाइल्याण्डको एरो थाई कम्पनीले दक्ष कामदार नपठाउँदा क्लालिब्रेसन फ्लाइट हुन सकेको छैन।
‘आइसिपी जिरो टु ठेक्का सम्झौता अनुसार क्यालिब्रेसन फ्लाइटको काम हुनुपर्ने हो, जति बेलादेखि कोभिड संक्रमण सुरू भयो त्यसपछि नै थाइल्याण्ड सरकारको स्वास्थ्य मापदण्ड अनुसार दक्ष कामदारलाई कम्पनी र त्यहाँको सरकारले समेत जोखिम लिएर बाहिर जान अनुमति दिएको छैन,’ अधिकारीले भने, ‘क्यालिब्रेसन फ्लाइटको लागि कहिले प्राविधिकहरूको टोली आउँछ भन्न सकिने अवस्था छैन तर छलफल भइरहेको छ, छिट्टै नै ल्याउन सकिन्छ भन्ने हाम्रो विश्वास छ।’
थाई सरकारले जारी गरेको कोभिड प्रोटोकल अनुसार प्राविधिकहरू आउन जोखिम मानिरहेको अधिकारीले बताए।
आयोजना प्रमुख अधिकारीका अनुसार ‘क्यालिब्रेसन फ्लाइट’ भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै उडान सम्बन्धी सबै कार्यहरू निर्देशन गर्ने धावनमार्ग र टावरमा जडान गरिएका लाइट तथा उपकरणले दिने सिग्नल परीक्षण गर्नु हो।
‘टावर र धावनमार्गमा जडान गरिएका उपकरणले काम गरेका छन् कि छैनन्, विमानका पाइलटले टावरसँग सम्पर्क गर्दा निर्देशनहरू राम्ररी सुनिएको छ कि छैन भनेर बुझ्न क्यालिब्रेसन फ्लाइटबाट परीक्षण गर्नुपर्छ, काम नगरे सच्याउनुपर्छ,’ उनले भने।
उनले आफूहरू अहिले पनि निरन्तर क्यालिब्रेसन फ्लाइटका लागि आवश्यक जहाज र विदेशी प्राविधिक कसरी ल्याउन सकिन्छ भन्नेतर्फ नै प्रयास गरिरहेको बताए।
‘कोभिडको अवस्था सामान्य हुँदा र अन्तर्राष्ट्रिय उडान सहज हुनेवित्तिकै जतिबेला पनि क्यालिब्रेसन फ्लाइट गर्न सक्छौं, अहिले आए पनि हामी क्यालिब्रेसन फ्लाइटका लागि तयारी अवस्थामा छौं,’ उनले भने।
अहिले आयोजनाको आइसिबी जिरो-१ अन्तर्गतका मुख्य संरचनाहरू निर्माणको ९८ प्रतिशत काम पूरा भएको छ।
आइसिबी-१ अन्तर्गत धावनमार्ग, ट्याक्सी वे, जहाज पार्किङ क्षेत्र, टर्मिनल बिल्डिङ, कन्ट्रोल टावर, प्रशासनिक भवन, फायर फाइटिङ बिल्डिङ, गार्ड भवन, खानेपानी, ढल निकास, लगायतका भौतिक संरचना निर्माणको काम पर्छन्।
‘आइसिबी-१ अन्तर्गत टर्मिनल बिल्डिङमा एसी जडान, टायल लगाउने काम र रङ लगाउने काम मात्रै बाँकी छ, सिलिङ लगाउने काम करिब पूरा हुन लागेको छ,’ अधिकारीले भने।
टर्मिनल बिल्डिङको प्रस्थान र आगमन कक्षको इन्टेरियर, डेकोरेसन, फर्निसिङको काम भइरहेको छ। बाहिर गार्डेन निर्माण, ल्यान्डस्केप, पेन्टिङ र मार्किङका काम पनि सम्पन्न भइसकेका छन्। आइसिबी जिरो-२ अन्तर्गत टर्मिनल बिल्डिङमा ब्यागेज ह्याण्डलिङ मेसिन जडानको काम सकिएको छ, धावनमार्गका लाइट जडान, कन्ट्रोल टावर, कन्भेएर बेल्ट मेसिन जडानका सबै काम सकिएका छन्।
विमानस्थलमा हुन सक्ने सम्भावित दुर्घटना तथा आगलागीलाई ध्यानमा राखी धावनमार्गको दक्षिणतर्फ फायर फाइटिङ भवन निर्माण गरिएको छ, केमिकल र पानी दुबैको प्रयोगबाट आगलागी नियन्त्रण गर्न मिल्ने चार वटा अत्याधुनिक फायर फाइटिङ भेहिकल समेत आइसकेका छन्।
अधिकारीका अनुसार आइसिपी जिरो-२ ठेक्का अनुसार पनि क्यालिब्रेसन फ्लाइटबाहेक गर्नुपर्ने सबै काम सम्पन्न भएका छन्।
आइसिपी-२ अन्तर्गत मुख्यगरी उपकरण जडानकै काम हुन्छन्। जसअन्तर्गत सञ्चार उपकरण (सिएनएस एटिएमसँग सम्बन्धित उपकरण) त्यसको लागि आवश्यक पर्ने कम पूर्वाधारको काम पनि त्यससँगै जोडिएर आउने अधिकारीले बताए। यस अन्तर्गत ९० प्रतिशत उपकरणकै काम हुन्छ भने १० प्रतिशत मात्रै पूर्वाधारको काम हुन्छ।
उता कोरोना संक्रमणका बीचमा पनि स्वदेशी र विदेशी कामदारले कार्यक्षेत्रमै रहेर काम गरिरहेका छन्। विमानस्थल वरिपरिको तारबारका काम सम्पन्न भएको छ। विमानस्थलभित्रको सडकको काम पनि भइरहेको छ।
आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत पूरा हुँदा पनि आर्थिक प्रगति भने ७७ प्रतिशत मात्र भएको छ।
उपकरण जडानका कतिपय काम सम्पन्न भइसके पनि ‘क्यालिब्रेसन फ्लाइट’पछि त्यसको परीक्षणपछि मात्रै भुक्तानी हुने भएकोले भौतिक प्रगति ९८ प्रतिशत हुँदा आर्थिक प्रगति ७७ प्रतिशत मात्रै भएको देखिएको अधिकारीले बताए।
‘आयोजनाको ३० देखि ३५ प्रतिशत काम उपकरण जडानसँग सम्बन्धित छन्, ती उपकरणहरूको परीक्षण र क्यालिब्रेसन नभइकन निर्माण कम्पनीलाई बिल भुक्तानी गर्न नसकिने भएकोले कम देखिएको हो,’ उनले भने।
अहिले आइसिपी-१ र आइसिपी-२ अन्तर्गत भइरहेका काम विमानस्थलको पहिलो चरणको भएको र दोस्रो चरणको कामको अध्ययनलाई समेत अगाडि बढाइएको छ।
‘धावनमार्गको तुलनामा टर्मिनल बिल्डिङ र जहाज पार्किङ क्षेत्र केही सानो रहेको छ, त्यसैले पनि टर्मिनल बिल्डिङ र पार्किङ क्षेत्रको लागि दोस्रो चरणको कामको अध्ययनलाई अगाडि बढाइएको छ,’ आयोजना प्रमुख अधिकारीले भने।
यहाँ निर्माण गरिएको धावनमार्ग तीन किलोमिटर लम्बाइको रहेको छ भने अन्तर्राष्ट्रिय टर्मिनलमार्फत एक घण्टामा करिब चार सय प्यासेन्जरलाई उडान तथा अवतरण गरी पठाउन सक्ने क्षमताको छ। त्यस्तै, जहाज पार्किङतर्फ हाल पाँच वटा मात्रै अन्तर्राष्ट्रिय जहाज पार्किङ गर्न सक्ने क्षमताको रहेकोले दोस्रो चरणमा अर्को टर्मिनल बिल्डिङ र पार्किङ क्षेत्र थप गर्ने आयोजनाको लक्ष्य छ।
सन् २०१७ को डिसेम्बर सम्पन्न गर्ने गरी २०१५ जनवरीमा निर्माण सुरू गरिएको विमानस्थलको ठेक्का सम्झौता १३ नोभेम्बर २०१४ मा गरिएको थियो। सुरूवाती चरणमा ठेकेदारको ढिलासुस्ती, मुख्य ठेकेदार र स्थानीय ठेकेदारबीचको आपसी मतभेद, तराई-मधेस आन्दोलन, भारतीय नाकाबन्दी, नदीजन्य सामग्रीको अभाव जस्ता कारणले ढिलो भएको आयोजना निर्माणको काम अन्तिम समयमा आइपुग्दा कोभिड १९ का कारण प्रभावित बन्यो।
आयोजना प्रमुख अधिकारी लागत रकम नबढे पनि निर्माण अवधि लम्बिँदै जाँदा राज्यलाई भने घाटा भइरहेको बताउँछन्।
‘लागत रकम नबढेको भएपनि ढिलो निर्माण हुनु नै राज्यलाई घाटाको विषय हो, लागत बढेको छैन राज्यलाई घाटा छैन भनेर हुँदैन,’ उनी भन्छन्।
आइसिबी जिरो-१ अन्तर्गत ६ अर्ब २२ करोड लागतमा निर्माण भइरहेको छ भने आइसिबी जिरो-२ अन्तर्गत विद्युतीकरण तथा लाइट जडान र मार्किङका लागि ५६ करोड बढी बजेटमा काम भइरहेको छ। यसरी आयोजनाको लागत करिब सात अर्ब पुगेको छ।
पहिलो चरणको काम अर्थात् आइसिबी-१ मा एडीबीको ४० दशमलव पाँच प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान, ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३० दशमलव पाँच प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी छ।
निर्माणतर्फ पनि आइसिबी-१ अन्तर्गत चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसन र आइसिबी-२ अन्तर्गत एरो थाई कम्पनीले ठेक्का सम्झौता गरेको हो। यो विमानस्थल सञ्चालनमा आएपछि हाल त्रिभुवन विमानस्थलमा आउने सबै किसिमका जहाजहरू यहाँ सुरक्षित रूपमा अवतरण गर्ने र उडान गर्न सक्नेछन्।
आयोजना प्रमुख अधिकारी भौगोलिक रूपमा सजिलो भएकोले त्यहाँ भन्दा पनि सजिलो गरी यहाँ अवतरण गर्न सक्ने दाबी गर्छन्।
‘यो अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठनको फोर ई क्याटेगोरीको विमानस्थल हो, यहाँ एयर बस ३३०, बोइङ ७७७, २०० सिरिज क्याटेगोरीका जहाज आउन सक्छन्,’ उनले भने। विमानस्थल निर्माण सम्पन्न भएपछि वार्षिक ६० लाख यात्रु व्यवस्थापन गर्न सकिने आयोजनाको लक्ष्य छ।
यो विमानस्थल २०२३ सालमा भारत सरकारको सहयोगमा निर्माण गरिएको थियो। विमानस्थल निर्माण तथा स्थानीयको जग्गा अधिग्रहण गरी मुआब्जा वितरण २२ अर्ब ४० करोड रुपैयाँ खर्च भइसकेको छ। त्यो सँगै कार्गो भवन निर्माणमा ९० करोडको काम भएको छ। यसरी सबै आयोजनाको काम जोड्दा विमानस्थलमा ३० अर्बभन्दा बढीको लगानी भइसकेको छ। आयोजनाका अनुसार यो रकममा नेपाल सरकारको ३७ दशमलब ४ र एडिबीको ६२ दशमलब ६ प्रतिशत लगानीको हिस्सा रहेको छ।