गंगाधर आचार्य सानैमा परिवारबाट छुटे। उनकी आमाले उनलाई पर्वतबाट बुटवल ल्याएर छाडिदिइन्। सानो छोरालाई बिरानो ठाउँमा छाड्ने रहर आमालाई कहाँ थियो र!
पर्वत, जलजलाका लक्ष्मी र नारायणदत्त आचार्यका कान्छा छोरा हुन् गंगाधर। जन्मिँदै पोलियो भएको थियो। दुवै खुट्टा लुला भएकाले हिँडडुल गर्न सक्थेनन्।
उनी सानै छँदा बुवाको मृत्यु भयो, राम्रोसँग देख्न-चिन्नै पाएनन्। आमालाई खेतीपाती र घरधन्दामा भ्याइनभ्याइ हुन्थ्यो। दाइदिदी पढ्न स्कुल जान्थे। गंगाधर दिनभर हातखुट्टाले टेकेर घर वरिपरि घुम्थे। पहाडी भेगमा घिस्रिएर हिँड्दा लड्ने डर थियो। स्कुल टाढा पुग्न सक्थेनन्। बोकेर लैजान सम्भव भएन। उनको उमेर बढ्दै जाँदा सास्ती पनि थपिँदै गयो।
आमा लक्ष्मीले सुनेकी थिइन्- बुटवलको समाजकल्याण केन्द्र (हाल बालगृह) ले अनाथ तथा अपांगता भएका केटाकेटीलाई आश्रय दिन्छ। एसएलसीसम्म पढाइदिन्छ। तर घरपरिवारमा रेखदेख गर्ने र आश्रय दिने व्यक्ति भए केन्द्रले राख्थेन।
२०४२ सालको कुरा हो, गंगाधर सात वर्षका थिए।
लक्ष्मीले उनलाई केन्द्रमा लगिन्। गंगाधर अनाथ हुन् भनेर त्यहीँ छाडिदिइन्। छोराको भविष्य राम्रो हुने सोचेर उनले आफ्नो ममता मारिन्।
त्यो दिन सम्झिँदा अहिले पनि गंगाधरका आँखा छचल्किन्छन्।
'आमाले मुटु बाँधेर मलाई बुटवल नल्याउनुभएको भए म अहिलेसम्म अरूकै सहारामा लतारिएर बसिरहेको हुन्थेँ,' उनी भन्छन्, 'आमाको त्यागले नै म आफ्नै पौरख र कमाइ खाएर बाँचिरहेको छु।'
अहिले उनलाई मान्छेले गंगाधर कम, 'गंगा पेन्टर' भनेर बढी चिन्छन्। बुटवल र तिलोत्तमामा भित्तामा चित्र बनाउने/लेख्नेदेखि बोर्ड-ब्यानर, सन्देश सामग्री बनाउन उनकै खोजी हुन्छ। राजनीतिक दलका, राष्ट्रिय झन्डा, स्कुल तथा कक्षाका भित्तामा विभिन्न चित्र तथा अक्षर लेख्न परे उनकै नाम पहिले आउँछ।
यहाँसम्म आइपुग्न उनकी आमाको त्यागसँगै गंगाधर आफ्नैको मेहनतको पनि ठूलो देन छ।
बुटवल आएको तीन वर्षजति उनी मसिना खुट्टा घिसारेरै हिँडे। गोलीगाँठोभन्दा तलको भाग बांगा थिए। सिधा नभएर एकअर्कामा फर्किएका।
राजमार्ग चौराहमा रहेको केन्द्रमा बस्न थालेपछि उनी पढ्न भनेर कालिका मावि भर्ना भए। एक-डेढ किलोमिटर टाढाको स्कुल पुग्न उनलाई घन्टौं लाग्थ्यो।
'हात र खुट्टा टेकेर घस्रिएरै स्कुल पुग्थेँ,' गंगा सम्झिन्छन्।
पछि ४५ सालतिर उनलाई केन्द्रबाटै उपचारका लागि काठमाडौं लगियो। एक वर्ष उपचारपछि पैताला अगाडि फर्किए। बांगिएकै भए पनि खुट्टा टेकेर बाहिर-भित्र हिँडडुल गर्न सक्ने भए। थप सुधार हुँदै थियो, २०४६ सालको जनआन्दोलन सुरू भयो। उपचार अघि बढ्न सकेन। उनी बुटवल फर्किए र पढाइलाई निरन्तरता दिन थाले। २०५२ सालमा एसएलसी दिएका उनी पास हुन सकेनन्। केन्द्रमा एसएलसीसम्म मात्रै बस्न पाइन्थ्यो। त्यसैले त्यहाँबाट बाहिरिनुपर्यो।
त्यो बेला उनका आमा र दाइहरू चितवन बसाइ सरिसकेका थिए। भाइ निस्किएको थाहा पाएपछि दाइले उनलाई आफूसँगै घर जान आग्रह गरे। गंगाधर मानेनन्।
'आमाले मलाई एक्लै संघर्ष गर्न सिकोस्, पढेर आफैं निर्भर होस् भन्ने सपना देखेर बुटवल ल्याउनुभएको थियो। दाइहरूसँग घर फर्किएँ भने आमाले ममता मारेर मेरा लागि देखेको सपना पनि मर्थ्यो,' उनले भने, 'उहाँले गरेको त्यागको अपमान हुन्छ भनेर घर फर्किन मन लागेन।'
दाइलाई त फर्काइदिए तर कहाँ जाने-बस्ने, के खाने, केही ठेगान थिएन। केही दिन सडक पेटी र प्रतिक्षालयमा बसे। बजारमा पसलहरूले च्यातिएका नोट जम्मा गरेर फाल्थे। उनी तिनै नोट भेला पारेर जोडजाड गरी बैंकमा साट्थे। पछि पसलधनीले त्यस्ता नोट आफैं राख्न थाले। उनी ती नोट बैंकमा साटिदिएर केही कमिसन लिन्थे।
सधैं फाटेका नोट भेटिन्थेन। उनले गर्न सक्ने अरू काम पाउन सजिलो भएन। तर उनलाई पोलियो भएको शरीरले गलाएन। न हिम्मत नै हारे।
धेरै सोचेपछि उनले आफ्नो रूचि सम्झिए। सानैदेखि चित्रकला र पेन्टिङ गर्न मनपर्थ्यो उनलाई। अनि पेन्टिङ सिकेर त्यसैलाई व्यवसाय बनाउने योजना बनाए।
त्यतिबेला अहिलेजस्तो ब्यानर र बोर्डहरू डिजिटल प्रिन्ट गर्ने चलन थिएन। बुटवलमा दैनिकजसो दर्जनौं कार्यक्रम भइरहन्थे। कार्यक्रममा कपडामा हातले लेखेका ब्यानर टाँगिन्थे।
२०५३ सालदेखि उनले यो काम थाले। उनको गुजारा चल्यो। आत्मनिर्भर हुन सके। अनि आमाको त्याग सार्थक भयो।
संविधानसभा, प्रदेश, प्रतिनिधिसभा तथा स्थानीय तह निर्वाचनताका उनलाई विभिन्न पार्टीका झन्डा बनाउन भ्याइनभ्याइ थियो। झन्डा बनाएरै चुनावताका राम्रो आम्दानी गरेको उनी सम्झिन्छन्।
'चुनाव हाम्रो लागि आम्दानी गर्ने सिजन मानिन्छ। संविधानसभा चुनावको कमाइले तिलोत्तमामा थोरै घडेरी जोडेँ। अनि ७४ सालमा ऋणधन गरेर घर बनाउन सकेँ,' गंगाधर आफ्नो उपलब्धि सुनाउँछन्।
साढे चार धुर घडेरीमा बीस लाख खर्चिएर बनाएको पक्की घरको ऋण अब डेढ लाख मात्र बाँकी छ। पोहोरै तिरिसक्छु भन्ने थियो, कोरोनाले ढिलो भयो। कोरोनापछिका चार-पाँच महिना उनको ठप्प थियो। पछि स्थानीय तहमार्फत् कोरोनाकै सन्देशमूलक सामग्री बनाएर आम्दानी गरे। अब चार-पाँच महिनामा ऋण तिरिसक्ने सोचेका छन्।
साढे दुई दशक पेन्टिङ गरेर बिताउँदा उनले तीतामीठा अनुभव सँगालिसके। विशेषगरी शारीरिक अपांगता भएकै कारण कतिपय ग्राहकले विश्वास नगर्दा उनको चित्त दुख्छ।
'वर्षौंदेखि यही कामले जीवन धानेको छु। तर पहिलोपटक काम दिनेले मलाई देखेपछि सोच्छन्। उनीहरूलाई काम गर्नु छ तर मलाई देखेपछि भने हामी पछि खबर गर्छौं भन्छन्। त्यो बेला मेरो अवस्था देखेरै अविश्वास गरे भन्ने म बुझिहाल्छु,' उनी भन्छन्।
एकपटक आफूलाई काम दिएकाले भने फेरि खोज्दै आउने उनको अनुभव छ।
गंगाधरका खुट्टा कमजोर भए पनि भुइँ र कुर्सीमा बसेर, सामान्य उभिएर गर्नुपर्ने काममा सहयोग चाहिँदैन। सिँढी चढेर गर्नुपर्ने काममा सहयोगी लैजान्छन्। रङ र ब्रस खेलाएरै २५ वर्ष बिताएका उनी आफ्नो अवस्थाभन्दा क्षमता हेरेर काम र पारिश्रमिक दिन आग्रह गर्छन्।
'म आफू अपांग हुँ भन्ने कहिल्यै सोच्दिनँ,' उनी आत्मविश्वासी छन्।
बिहान पाँच बजेदेखि राती ९ बजेसम्म खटिने गंगाधरलाई उनकी पत्नी गौरीले दरिलो साथ दिएकी छन्। २०६२ सालमा बुटवलकै एउटा रेडियोमा गंगाधरले दिएको अन्तर्वार्ताका कारण उनीहरूको भेट भएको थियो।
गौरीले गंगाधरको अन्तरवार्ता सुनेपछि पत्र पठाइन्। यसपछि पत्र आदानप्रदानको सिलसिला चार महिनाजति चल्यो। चौथो महिनामा उनीहरूले भागेर बिहे नै गरे।
'गौरीका हात अलिकति छोटा छन्। म त हिँड्नै मुश्किल हुने मान्छे। उनलाई घरमा माग्न गयो भने पक्का दिनुहुन्न भन्ने थियो। त्यसैले दुवैले सल्लाह गरेर भागी बिहे गर्यौं,' गंगाधरले सुनाए।
अहिले दुवै परिवार खुसी छन्। गौरीको साथ र हौसलाले गंगाधरको मेहनत बढ्दै गएको छ। हुर्किँदै गरेका दुई छोरी छन्। जेठी छोरी गरिमा दस कक्षा पढ्छिन्, कान्छी कृतिका ३ मा।
उनको खुसहाल परिवारमा सबभन्दा खुसी र सन्तुष्ट ९५ वर्ष पुगेकी उनकी आमा लक्ष्मी हुन्।
गंगाधरलाई अहिले सवारीसाधन नभएकाले अलि समस्या भएको छ। काममा रिक्सा भाडा तिरेर लैजान्छन्। स्कुटर किन्न सके अझै काम गर्न सक्ने उनलाई लागेको छ।
भन्छन्, 'बोलाएको समयमा रिक्सा आउँदैन। आफ्नो साधन भइदिए पर्खिनुपर्ने थिएन। समय बच्थ्यो।'
अपांगता भएकालाई स्कुटर किन्न भन्सार छुट छ। तर त्यसलाई चार पांग्रे बनाउँदा डेढ लाख रूपैयाँसम्म लाग्ने उनी बताउँछन्। त्यसैले ऋण तिरिसकेपछि पैसा जुटाएर स्कुटर किन्ने योजना बुन्दै खटिरहेका छन्।