प्रदेश नम्बर ५ मा ९२ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किएका छन्।
चार हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएकोमा अहिले प्रदेशभरि २ सय ८२ जनामात्र उपचाररत छन् । कुल ४ हजार १ सय ८१ जना संक्रमितमा ३ हजार ८ सय ८६ जना निको भएर घर फर्किएका छन्।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। १२ वटा जिल्ला रहेको प्रदेश ५ का तीन जिल्लामा ५ सयभन्दा बढी कोरोना संक्रमित भेटिएका थिए।
तीमध्ये दाङमा मात्र एक सय ९ जना संक्रमित उपचाररत रहेका छन्। दाङ पछि बर्दियामा ३६ जना उपचाररत छन्। सबैभन्दा बढी ७ सय ६२ संक्रमित फेला परेको कपिलवस्तुमा आइतबारसम्म १८ जनामात्रै संक्रमित उपचाररत छन्।
३ सय ३२ जना संक्रमित फेला परेको रूपन्देहीमा अहिले सक्रिय संक्रमित २२ जना छन्। ढिलो संक्रमित भेटिएको पाल्पामा १५ जना उपचाररत छन्। पाल्पामा ५ सय ५९ जना संक्रमित भेटिएका थिए।
त्यस्तै बाँके र रोल्पामा २०, नवलपरासीमा १४, प्यूठान र गुल्मीमा ८, रूकुम पूर्वमा ७ र अर्घाखाँचीमा ५ जना संक्रमित अहिले उपचार गरिरहेको निर्देशनालयले जनाएको छ। देशभर निको हुनेको दर ७० दशमलव ५ प्रतिशत रहेकोमा प्रदेश ५ मा भने ९२ दशमलव ९४ प्रतिशत संक्रमित निको भएको प्रदेश स्वास्थ्य निर्देशक विनोद गिरीले जानकारी दिए।
कोरोना संक्रमित निको भएर घर जान थालेपछि आइसोलेसन अस्पताल खाली हुँदै गएका छन्। प्रदेश ५ मा रहेका १ सय ४० वटा आइसोलेसनमध्ये ३४ वटा आइसोलेसनमा अहिले संक्रमित रहेका छन्। एकसय १ वटा आइसोलेसन खाली भएका छन्।
निर्देशक गिरीका अनुसार प्रदेशका सबै जिल्लामा ३ हजार १ सय ४५ जना क्वारेन्टिनमा छन्। प्रदेशमा ५३ हजार ७ सय ४० जनाको पिसिआर परीक्षणको लागि स्वाव संकलन गरिएकोमा १ हजार ६९ वटाको रिपोर्ट आउन बाँकी छ। शनिबार पनि सात जिल्लाका २ सय ५८ जनाको स्वाब संकलन गरिएको गिरीले बताए।