रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ की अनुस्का ढकालले उत्साहित हुँदै फागुन महिनाको अन्तिममा कक्षा ८ को वार्षिक परीक्षा दिएकी थिइन्।
तिलोत्तमा वडा नं. २ स्थित दुर्गादत्त माविमा अध्ययनरत अनुस्काले परीक्षा दिएपछि लकडाउनकै बीचमा परीक्षाफल प्रकाशित भयो। कक्षा ९ मा पुग्दा खुसी र उत्साहित बनेकी अनुस्का लामो समय विद्यालय जान नपाउँदा भने निराश थिइन्।
कोरोना भाइरसको संक्रमणको महामारी फैलिन नदिन सरकारले चैत्र ११ गतेदेखि देशभर लकडाउन घोषणा गर्नुपुर्व नै विद्यालयहरु बन्द गरिएका थिए।
लकडाउनमै परीक्षाको नतिजा सार्वजनिक गरेपनि नयाँ शैक्षिक सत्रको लागि विद्यार्थीहरु विद्यालय आउने अवस्था भने भएन। कतिपय क्षेत्रमा सामुदायिक विद्यालमै क्वारेन्टाइन र होल्डिङ सेन्टर बनेपछि पठनपाठन सुरु हुने समय पनि अनिश्चित बनेको छ।
दुर्गादत्त उच्च माविमा पनि तिलोत्तमा नगरपालिकाले क्वारेन्टिन बनाएको छ। यस्तो अवस्थामा विद्यार्थीहरुलाई अध्ययन गर्ने बानी नहटोस् भनेर दुर्गादत्त माविले असार महिनादेखि घुम्ती कक्षा शुरु गरेपछि भने खुसी लागेको अनुस्काले बताइन्।
‘जति दिन विद्यालय रोकिन्छ त्यति नै पछिलाई लोड पर्दै जान्छ, कोर्स जसरी पनि सकाएर परीक्षा लिँदा विद्यार्थी र शिक्षक दुवैलाई एकैपटक भार पर्ने थियो, अब भने कोर्स पुरा हुँदैन कि भनेर डराउनुपर्ने छैन’ उनले भनिन्।
शुरुका केही दिन घरमा बस्दा रमाईलो लागेपनि लकडाउनको समय थपिदै जाँदा विद्यालयमा साथीहरुसँगै बसेर पढ्न मन लागेको अनुस्काले बताइन्।
चार महिना बितिसक्दा पनि कोरोनाको महामारी यथावत रहेपछि विद्यार्थीहरुको घर नजिकै पुगेर भएपनि पढाउनुपर्छ भनेर घुम्ती कक्षा संचालन गरेको विद्यालयले जनाएको छ। विद्यालयका ३० जना बढी शिक्षकहरु पालैपालो विभिन्न टोलमा पुगेर विद्यार्थीहरुलाई अध्यापन गराउँदै आएका छन्।
देशभर कोरोनाका कारण सामुदायिक मात्रै होइन संस्थागत विद्यालयमा पनि तत्काल पठनपाठन गराउन सक्ने अवस्था छैन। केही संस्थागत विद्यालयहरुले अनलाइनमा कक्षा संचालन गरेको भए पनि सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई अनलाइन कक्षा प्रभावकारी नहुने देखिएपछि संचालन गरेको पाइएन। रुपन्देहीमा कालिका, मानवज्ञान माविले तीन महिना स्थानीय सामुदायिक टेलिभिजनमार्फत नियमित कक्षा संचालन गरेका थिए।
अनलाइन कक्षा संचालन गरेपनि सबै विद्यार्थीलाई इन्टरनेट, मोबाइल, कम्प्युटर तथा ल्यापटपको उपलब्धता हुँदैन। त्यस्तो अवस्थामा अनलाइन कक्षा भन्दा विद्यार्थीहरुलाई पायक पर्ने स्थानमा शिक्षकहरु आफै पुगेर अध्यापन गर्न शुरु गरिएको विद्यालयका प्रधानाध्यापक चण्डीप्रसाद पाण्डेले जानकारी दिए।
उनले कोभिड–१९ शिक्षण सिकाई अन्तर्गत विद्यालयका आउने विद्यार्थीहरुको भूगोलको आधारमा विद्यार्थीलाई पायक पर्ने स्थानमा पुगेर घुम्ती कक्षा संचालन गरिएको बताए।
कक्षा १ देखि १० सम्म अध्ययनरत करिब साढे ८ सय विद्यार्थीलाई बुद्धविहार, क्लबका भवन, मन्दिर, चौपारी, खुल्ला चौर, व्यक्तिका घरका आँगन लगायतमा दुरी कायम गरी पढाउने गरिएको शिक्षक विन्दु काफ्ले घिमिरेले बताइन्।
हरेक सोमबार, बुधबार र शुक्रबार गरी दुईदुई दिनको अन्तरमा घुम्ती कक्षा संचालन भएपछि विद्यार्थीहरु आफूलाई पायक पर्ने स्थानमा आउन थालेका छन्। शिक्षक घिमिरेले ९० प्रतिशत विद्यार्थी कक्षामा सहभागी हुने गरेको दावी गरिन्।
विद्यालय जान नपाएपनि घरको नजिक र सिमित संख्यामा दुरी कायम गरेर पढाउँदा उनीहरु पनि खुसी भएको उनले बताइन्। विद्यालयमा अध्ययनरत ३० जना शिक्षकहरु समूहमा विभाजन भई नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषय पढाउँदै आएका छन्।
हप्तामा तीन दिन घुम्ती कक्षा संचालन हुन्छ। बाँकी दिनका लागि भने शिक्षकहरुले पुग्ने गरी गृहकार्य दिएर घर पठाउँछन्। ‘एकदिन घुम्ती कक्षामा पढ्न आएपनि दुई दिनलाई पुग्नेगरी गृहकार्य दिएर पठाउने गरेका छौं, यसो गर्दा कोरोना महामारीका कारण कक्षा छुट्यो भन्ने अवस्था छैन’ उनले भनिन्।
कक्षा ६ मा अध्ययनरत मनिष हरिजनलाई पनि घुम्ती कक्षाको दिन कहिले आउला भन्ने लाग्छ। स्कुल गएर साथीभाईसँग खेल्दै पढ्न नपाएपछि यसैमा भएपनि चित्त बुझाउनुपरेको उनले बताए।
शिक्षक प्रेमकृष्ण भट्टराईले तीन महिना कोरोना त्रासका कारण घरमै बसेपनि असारदेखि कोरोना विरुद्ध सतर्कता अपनाउँदै घुम्ती पढाई शुरु गरेको जानकारी दिए।
विद्यालय र विद्यार्थीहरुको चाहना अनुसार घुम्ती कक्षा शुरु भएपछि अभिभावकहरु पनि खुसी छन्।