नमूना विद्यालयका लागि छानिएका देशभरका एकसय वटा सामुदायिक विद्यालयमा रुपन्देहीका २ वटा परेका छन्।
सरकारले २०८० सालसम्म एक हजार वटा सामुदायिक विद्यालयलाई नमूना विद्यालय बनाई शैक्षिक, भौतिक र प्रशासनिक क्षेत्रमा सुधार गर्ने योजना अगाडि सारेको छ।
सोही अन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १ मा रहेको सैनामैना पर्रोहा परमेश्वर मावि र देवदह नगरपालिका वडा नं. ४ मा रहेको केरवानी माविलाई नमूना विद्यालयको लागि छनोट गरिएको हो।
देशभरबाट सिफारिस गरिएका सामुदायिक विद्यालयबाट शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नमूना विद्यालयका लागि छनोट गर्ने गर्छ।
रुपन्देहीबाट यस वर्ष सैनामैना र केरवानी माविसँगै लिलाराम मावि, भानु मावि, पशुपति मावि र फर्साटिर माविले आवेदन दिएका थिए।
रुपन्देहीका जिल्ला शिक्षा समन्वय अधिकारी दीपेन्द्र ढकालले विद्यालयमा अध्ययनरत विद्यार्थी संख्या, इमेल ईन्टरनेटको पहुँच, भौगोलिक सुगमता, विद्यालयको जग्गा व्यवस्थापन, शैक्षिक स्तर लगायत मापदण्डको आधारमा नमूना विद्यालयको लागि छनोट गरिएको जानकारी दिए।
ढकालले नमूना विद्यालय सञ्चालन व्यवस्थापन निर्देशिका २०७४ अनुसार छनोट भएका विद्यालयले आफैले गुरुयोजना तयार गरी त्यसैको आधारमा बजेट प्राप्त गर्न सक्ने बताए।
यसअघि रुपन्देहीका कालिका, मानवज्ञान मावि, शान्ति मावि, रामनरेश यादव आदर्श मावि, खुदाबगर मावि, पशुपती मावि, प्रगती मावि कञ्चन लगायतका विद्यालय नमूना छनोट भई भौतिक तथा प्रशासनिक क्षेत्रमा मात्र नभई शैक्षिक स्तरमा पनि राम्रो सुधार गर्दै आएका छन्।
नमूना विद्यालयका लागि छनोट भएका विद्यालयले अब छिट्टै नै विभागसँग सम्झौता गर िकाम अगाडि बढाउने छन्।
सैनामैना माविका प्रधानाध्यापक नेत्र पुरीले विभागले विद्यालयसँग, विद्यालयले प्रधानाध्यापकसँग र प्रधानाध्यापकले शिक्षकसँग करार सम्झौता गरी तोकिएको लक्ष्य पुरा गर्नुपर्ने बताए। उनले तोकिएको लक्ष्य पुरा गर्न नसकिए नमूना विद्यालयको लागि छनोट भएपनि विभागले बीचमै सम्झौता रद्ध गर्न सक्ने भएकोले विद्यालयको परीक्षा अब शुरु भएको बताए।
२०३१ सालमा स्थापना भइ २०३३ सालमा कक्षा ५ सम्मको अध्यापन शुरु भएको सैनामैना पर्रोहा परमेश्वर मावि विद्यालयमा २०६५ सालदेखि १२ कक्षासम्मको अध्यापन हुँदै आएको छ। विद्यालयलाई २०३४ सालमा निमावि र २०५२ सालमा कक्षा १० सम्मको अध्यापन गर्नेगरी विकास गरिएको थियो।
हाल कक्षा १२ सम्म १ हजार २ सय ११ जना विद्यार्थीलाई अध्ययन गराउँदै आएको विद्यालयले विगत दुई वर्षदेखि एसइई परिक्षामा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल भएको प्रधानाध्यापक पुरीले जानकारी दिए।
नमूना विद्यालयको लागि छनोट हुन तोकिएको मापदण्डअनुसार १८ विघा आफ्नै जग्गा रहेको छ भने करिब ८ विघा ऐलानी जग्गा छ।
सैनामैना १ रानिबगैंचामा रहेको विद्यालयले विद्यालयको आफ्नै बस सेवा संचालन गरी ५ किलोमिटर पुर्व र पश्चिम सम्मका विद्यार्थीहरुलाई सेवा दिंदै आएको छ।
प्रधानाध्यापक पुरीले जनशक्ति, भौतिक तथा शैक्षिक रुपमा समेत सक्षम रहेकोले शिक्षा विभागले तोकेको ढाँचा अनुसारका सबै कार्यक्रम पूर्णरुपमा कार्यान्वन गरिने दावी गरे।