प्रदेश-५ मा सबभन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका कपिलवस्तु र बाँकेमा ९५ प्रतिशत संक्रमित कोरोनामुक्त भएका छन्।
कोरोना नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको लकडाउनलाई खुकुलो बनाइरहँदा प्रदेश-५ मा कोरोनाको ‘इपिसेन्टर’ बनेका कपिलवस्तु र बाँकेमा भने कडाइ नै गरिएको थियो।
तर असारको पहिलो सातादेखि नै बाँके र कपिलवस्तुमा संक्रमित थपिने क्रम न्यून हुँदै गएको छ।
संक्रमण पुष्टि भएपछि आइसोलेसन अस्पतालमा रहेका संक्रमित पनि कोरोनामुक्त भएर घर फर्किने गरेका छन्।
मंगलबारसम्म कुल ३ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश-५ मा १ हजार ३ सय ८५ जना मात्र विभिन्न अस्पताल तथा आइसोलेसनमा उपचाररत् छन्।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमध्ये २ हजार ५ सय ३५ जना भने निको भएर घर फर्किसकेका छन्।
प्रदेश- ५ स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीका अनुसार देशभर कोरोना निको भएर घर फर्किनेहरूको दर ४६ प्रतिशत रहँदा प्रदेश-५ मा भने ६४ दशमलव ४५ प्रतिशत संक्रमित निको भएका छन्।
प्रदेश- ५ मा सबभन्दा बढी ७ सय ४७ जनामा संक्रमण पुष्टि भएको कपिलवस्तुमा हाल ४९ जना मात्र उपचाररत् छन्। ६ सय ९८ जना संक्रमणमुक्त भएका छन्।
त्यस्तै, बाँकेमा ३ सय ७२ जना संक्रमितमध्ये ३ सय ५५ जना निको भएर घर फर्किएका छन् भने १५ जना मात्रै उपचाररत् छन्।
प्रवक्ता चौधरीले बाँकेमा ९५ प्रतिशत र कपिलवस्तुमा ९३ प्रतिशत संक्रमित निको भएर घर फर्किएको जानकारी दिए।
त्यस्तै, ५ सय ९९ जना संक्रमित भेटिएको दाङमा २ सय १९ जना उपचाररत् छन् भने ३ सय ७८ जना निको भएका छन्। ढिलो गरी संक्रमण देखिएको पाल्पामा भने ४ सय ९८ जना उपचाररत् छन्। पाल्पामा ५ सय ४६ जनामा संक्रमण पुष्टि भएकोमा ४७ जना संक्रमणमुक्त भएका छन्।
गुल्मीमा १ सय ५८, प्युठानमा १ सय ७५, अर्घाखाँचीमा १ सय ६, रुपन्देहीमा ६०, नवलपरासी पश्चिममा ५२, बर्दियामा ३९, रोल्पामा ९ र रुकुम पूर्वमा ५ जना उपचाररत् छन्। प्रदेश ५ का गुल्मी, अर्घाखाँची, रुपन्देही र प्युठानमा ३ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला हुन्।
प्रदेशका तराईका ६ वटा जिल्ला खुला भारतीय सीमासँग जोडिएको र नेपाल भारत दुवैतर्फ लकडाउन जारी रहेकै अवस्थामा समेत भारतबाट सीमावारि आएका संक्रमितहरूलाई आइसोलेसनमा राखी उपचार गरिएपछि संक्रमण समुदायमा फैलिन नपाएको निर्देशनाको दाबी छ।
प्रदेश- ५ मात्र नभई भारतमा रहेका अरु प्रदेशका नागरिक समेत यही क्षेत्रको सीमा नाकाको प्रयोग गरी आउँदा संक्रमण बढी देखिएको निर्देशनालयको तर्क छ।
हाल भारतबाट आउने नेपालीहरूलाई सीमा क्षेत्रमा बनाइएका होल्डिङ सेन्टरमा राखी सम्बन्धित जिल्ला तथा पालिकाहरूमा पठाउने गरिएको छ।
प्रदेश- ५ का विभिन्न जिल्लाहरूमा कोरोना संक्रमण पुष्टि भएका १३ जनाको मृत्यु भए पनि कोरोनाकै कारण उनीहरूको मृत्यु नभएको निर्देशनालयको भनाइ छ।
प्रदेश स्वास्थ्य निर्देशक विनोद गिरिले मृतकहरूमा कोरोनाको समेत संक्रमण देखिएको भए पनि उनीहरूको मृत्युको कारण भने कोरोनामात्रै नभएको बताए।
गिरिले मृतक कतिपय जन्डिस, क्यान्सर, प्यारालाइसिस जस्ता दीर्घ रोगबाट ग्रसित रहेको अवस्थामा कोरोनाको पनि संक्रमण देखिएको बताए।
प्रदेश- ५ मा सबभन्दा पहिले जेठ ४ गते बाँकेको नरैनारपुरस्थित क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको मृत्यु भएको थियो। त्यसयता विभिन्न अस्पताल तथा क्वारेन्टिनहरूमा ११ जनाको मृत्यु भएको छ भने २ जनाले आत्महत्या गरेका छन्।