सलह किरा छोपेर ल्याउनेलाई प्रदेश ५ सरकारले प्रतिकिलो २० रुपैयाँ दिने भएको छ।
सलह किरा भित्रिएको समाचार सार्वजनिक भएसगै विपद् व्यवस्थापन समितिको शनिबार बसेको आकस्मिक बैठकले एक किलोग्राम सलह छोपेर ल्याउनेलाई सम्बन्धित स्थानीय तहले २० रुपैयाँको दरले रकम दिने निर्णय गरेको हो।
सलह किरा रूपन्देहीसहितका जिल्लामा देखिएको र त्यसबाट हुन सक्ने क्षति न्यूनिकरणका लागि सरकारले विषादी छरेर मार्ने र किसानले छोपेर ल्याए प्रति केजी २० रुपैयाँ उपाय अपनाउन लागेको हो।
शनिबार बिहानैदेखि बुटवल, तिलोत्तमा, देवदहलगायत क्षेत्रको आकाशमा सलह देखिएको थियो।
देवदह, बुटवल, तिलोत्तमा आसपासका किसानले लगाएको तरकारी तथा मकै खेतीमा सलहले नोक्सानी गरेको छ। बुटवल बजारका बासिन्दाले घरको छत र कौसीमा लगाएको तरकारीसमेत सलहले नष्ट गरेको छ।
प्रदेश ५ का कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव तेजनारायण सुवेदीले सलहले झुन्ड बनाएर बास बस्ने र एकैस्थानमा धेरै नोक्सानी पुर्याउन सक्ने भएकोले किसानको सहयोगबाट सलह नियन्त्रण गर्न २० रुपैयाँ दिने निर्णय गरिएको जानकारी दिए। उनले यसले सलह नियन्त्रण गर्न सहयोग हुनुको साथै छोपेर ल्याउने किसानलाई प्रोत्साहनसमेत हुने बताए।
´२० रुपैयाँकै लागि सलह छोपेर किसानलाई ल्याउन भन्नुभन्दा पनि उनीहरूलाई प्रोत्साहन होस् भनेर रकम दिने निर्णय गरिएको हो,` सुवेदीले भने।
किसानले यसरी ल्याएको सलह बिषादीरहित भए माछापोखरी र कुखुरा फर्मलाई दिन सकिने उनले बताए।
´सलह माछा र कुखुराको लागि अत्यन्त पौष्टिक हुन्छ, किसानले बिषादी नहाली ल्याउनुभयो भने माछापोखरी र कुखुरा फर्मलाई दिन सकिन्छ। बिषादी प्रयोग गरेको भए नष्ट गर्नुपर्छ,` उनले भने।
सुवेदीले सलह नियन्त्रणका लागि बास बसेको स्थानमा मालाथियन ३ एमएल प्रतिलिटर पानीमा घालेर छर्कन सकिने बताए।
त्यस्तै क्लोरोपाइरिफस २ एमएल प्रतिलिटर पानीमा र प्याइपरमेथिन १ एमएल प्रतिलिटर पानीमा घोलेर छर्कने सकिने उनको भनाइ छ।
किसानलाई सलहको जानकारीका लागि ज्ञान केन्द्र, कृषि मन्त्रालय, स्थानीय तहको कृषि शाखामा सम्पर्क गर्न पनि सुवेदीले आग्रह गरेका छन्।
सुवेदीले अहिले नेपाल भित्रिएको सलहको प्रजनन हुन सक्ने सम्भावना न्यून रहेकोसमेत बताए।
´सलहलाई फुल पार्न सुक्खा बालुवा चाहिन्छ, अहिले जमिन ओसिलो भएकोले फुल पार्दैन,` उनले भने।
शनिबार रूपन्देहीको आकाशमा देखिएको सलह पाल्पा, अर्घाखाँची, कपिलवस्तुमा समेत पुगेको उनले जानकारी दिए। सलहले कलिलो र पौष्टिकयुक्त बालीनालीमा बढी नोक्सान पुर्याउने भएकोले सतर्क रहन उनले आग्रह गरे।