दाँतमा कीरा लागेकैले रूपन्देहीका आशा गुरूङ बेलायती सेनामा भर्ती हुन पाएनन्।
त्यतिबेला उनी जति खुसी भएका थिए उनको परिवार त्यति नै दु:खी बनेको थियो।
हजुरबुवा र बुवा बेलायती सेनाबाट अवकास पाएकोले उनलाई पनि भर्ती गराउने परिवारको धोको थियो। त्यही धोकोको दबाबमा परेर उनले ब्रिटिस लाहुरेको फारम भरेका थिए।
आशाका परिवार बेलायतमै बस्छन्। उनी भने श्रीमती र दुई छोरासहित रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-३ मा।
सेनाबाट फालिएपछि उनी जर्मनी गएका थिए। त्यहाँ कृषि फार्ममा काम गरे।
साढे दुई वर्षपछि उनलाई लाग्यो, आफ्नै देशमा गएर कृषिमा केही गर्नुपर्छ।
जर्मनीबाट नेपाल फर्किएर ६/७ वर्षजति उनले भैरहवामा नर्सरी सञ्चालन गरे।
'जर्मनीमा कृषि फार्ममा काम गर्दा सिकेको सीप र नर्सरी सञ्चालन गर्दाको अनुभवले मलाई नेपालमा कृषिको पर्याप्त सम्भावना छ र केही गर्न सकिन्छ भन्ने विश्वास बढ्दै गयो,' उनले भने।
आशाले दुई वर्ष जति कुन क्षेत्रको माटो र हावापानीमा कस्तो फलफूल र तरकारी हुर्कन/फल्न सक्छ भनेर दुई वर्ष खोजी गरे।
यो अवधिमा रुपन्देही, कपिलवस्तु, नवलपरासीका ८ सय बढी फर्महरूको अवलोकन गरे।
'यहाँको हावापानीमा कस्तो फलफूलको उत्पादन कस्तो हुनसक्छ, बजारको माग कस्तो छ भनेर अध्ययन गरें,' उनले भने 'दुई वर्षको अध्ययनले मलाई कृषि क्षेत्रमा लाग्न थप हौसला थपिदियो।'
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका- ११ भुजौलीस्थित पक्लिहवा हाइस्कुलको जग्गा वर्षौंदेखि बाँझै थियो।
आशाले भैरहवादेखि पश्चिम भुजौली गाउँमा रहेको विद्यालयको सात विगाह जग्गा ३० वर्षका लागि लिजमा लिएर फलफूल खेती गर्न सुरू गरे।
जग्गा वरिपरिको करिब दुई किलोमिटर क्षेत्रमा पर्खाल लगाउने, तारबार गर्ने र जग्गामा रहेको झाडी सफा गर्न ६ महिना लाग्यो।
अनि उनले तराईमै सुरू गरे हिमाली भेगमा फल्ने स्याउको खेती।
चिसो ठाउँमा फल्ने स्याउ ४२ डिग्रीभन्दा माथिको तापक्रम हुने भैरहवामा फलाउन कसरी सम्भव होला?
गुरुङ भने विज्ञानले यो सम्भव बनाएको बताउँछन्।
'अहिले विज्ञानले सबै असम्भवहरूलाई सम्भव तुल्याइदिएको छ,' उनले भने, 'हामीले भैरहवामा स्याउ फलाउन विज्ञानले सहज बनाएको त्यही प्रक्रिया अपनाएर बिरूवा तयार गरेका हौं।'
आरूको दानाबाट निकालेको बिरूवालाई स्याउको रूखमा कलमी गरेर तयार गरिएको हो। कलमी गरेको हाँगा फुलिसकेपछि फेरि स्याउको जरामा ल्याएर पुनः कलमी गरिन्छ र बिरूवा तयार हुन्छ। यो छुट्टै प्रजातिको स्याउ बन्छ।
'यस्तो बिरूवाबाट ४८ डिग्री तापक्रमसम्म स्याउ फल्न सक्छ,' गुरूङले भने, 'चकलेटी प्रजातिको स्याउको जस्तो गुलियो र अमिलो स्वाद छ।'
उनका अनुसार सानो आकारको बोटमा राम्रो उत्पादन लिन सकिन्छ।
गुरूङले भने एउटै बोटमा धेरै फल फलाउने भन्दा पनि थोरै तर ठूलो र स्वस्थ फल फलाउन खोजेका छन्।
उनको फार्ममा आँप, अनार, सलिफा, नासपाती, कटहर, सिडलेस लिँची, चार प्रजातिको कागती, चिकु, चेरी, ग्लोबेरी, मलबेरी, रसबेरी, एभोकाडो, डुरेन्ड लगायतका फलफूलका ५ हजार बिरूवा छन्।
फार्ममा लगाइएका आँप, लिँची भारतको विहार, लखनउ र मुजफ्फरपुरबाट ल्याएका हुन्। कटहर, स्याउ, सलिफा, एभोकाडो लगायतका बिरूवा भने बंगलादेश, अस्ट्रेलिया, इण्डोनेसिया जस्ता देशबाट ल्याइएको गुरूङले बताए।
सात विगाह जग्गामध्ये ३ विगाहमा फलफूल लगाएका गुरूङले दुई विगाह क्षेत्रमा माछा, हाँस, कुखुरा, बाख्रापालन गर्ने तयारीमा गरेका छन्।
बाँकी जग्गामा पनि स्ट्रबरी, खर्बुजा, अर्गानिक तरकारी खेती गरी पहिलो वर्षको उत्पादन गरिसकेका छन्।
'अहिले थोरै क्षेत्रमा खेती गरिएको भए पनि क्षेत्र बढाउँदै लगेर अर्गानिक तरकारी बाहिर निर्यात गर्ने उद्देश्य छ,' उनले भने।
तरकारी तथा फलफूलमा प्रयोग गरिने मल र विषादी उनले फार्ममै बनाउने गरेको बताए।
'हामीले मल पनि फार्ममै बनाउँछौं, तोरीको पिनालाई भिजाएर मल बनाउँछौं, निमको पत्ता, लसुन जस्ता वस्तु पिसेर रोग कीरा लागेको बोटमा प्रयोग गछौं’,उनले भने।
पाँच वर्ष भित्रमा फलफूल, तरकारी, माछा, हाँस, कुखुरा र बाख्रा पालनमा ५ करोडको लगानी पुर्याउने लक्ष्य लिएको फार्ममा अहिले साढे दुई करोड लगानी भइसकेको छ।
पहिलो वर्ष नै प्रदेश सरकार र सिद्धार्थनगर नगरपालिकाबाट १५ लाख रुपैयाँ अनुदान सहयोग पाइसकेको फार्ममा प्रत्येक बोटमा पानी पुग्ने गरी पाइप बिच्छाएर सिँचाइको व्यवस्था गरिएको छ।
पहिलो वर्ष भएकोले आम्दानी नभए पनि मासिक ५० देखि ६० हजार रुपैयाँ खर्च हुने गरे पनि अर्को वर्षदेखि खर्च घट्दै जाने र आम्दानी सुरू हुने उनको विश्वास छ।
'अझै एक वर्ष आम्दानी हुँदैन, खर्च थपिँदै जाने हो। त्यसपछि खर्च कम हुन्छ, आम्दानी सुरू हुन्छ,' गुरूङ भन्छन्।
विभिन्न देशबाट बिरूवा मगाउँदा धेरै हण्डर उनले खानुपर्यो रे। त्यही पनि उनलाई आफूजस्तै काम गर्न चाहने किसानलाई अर्को सालदेखि आफैंले बिरूवा दिन सक्ने हुन्छु भनेर ढुक्क छ।
उनी अहिलै नाफा कमाउने ताकमा पनि छैनन्। धैर्य गरे राम्रो हुने उनको विश्वास छ। अझ उनलाई कृषि कर्म गर्न चाहनेको प्रेरणा बन्न मन छ।
'नेपालमा भएको आफ्नो जमिन बाँझो छोडेर विदेश गएका नेपालीले उत्पादन गरेको तरकारी, फलफूल नेपाल ल्याएर खानुपरेको छ। अब नेपालमै काम गरिखान सकिन्छ है भनेर उनीहरूमा विश्वास भर्न सकियो भने पनि धेरै हुन्छ,'उनले भने 'विदेशमा सिकेको सीपलाई लिएर नेपालमै केही गरौं भन्ने उद्धेश्य बोकेका युवाहरूलाई यो फर्म रिसर्च सेन्टर जस्तै बनोस्।'