बुटवल-गुल्मी सडकअन्तर्गत पाल्पाको तानसेन नगरपालिका-११ सम्मवारीमा सोमबार दिउँसो ४ सवारी साधन पहिरोमा पुरिएका छन्। पहिरोमा सवारी पुरिँदा दुई जनाको मृत्यु भएको छ।
प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार घटनास्थलबाट दुई वटा शव निकालिएको छ भने एक जनालाई घाइते अवस्थामा उद्दार गरी उपचारको लागि अस्पताल पठाइएको छ।
मृतकहरुको पहिचान खुल्न सकेको छैन। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल उद्दारमा खटिएका छन्।
रातभर परेको झरीले पहिरो गएपछि उक्त स्थानमा सडक अवरूद्ध भएको थियो।
अवरूद्ध सडकमा सवारी साधन रोकेर पहिरो हटाइरहेका बेला सोमबार दिउँसो अचानक सवारी साधन रोकिएकै स्थानबाट पहिरो खस्दा लु १ क १९२८ नं. को ट्याङकर, लु २ ख १३७६ नं.को मिनी ट्रक, लु १ च ७०११ नं. को अल्ट्रो कार, लु २ त ७०४३ नं. को कुखुरा बोक्ने पिकअप जीप पुरिएकाे प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिए।
घटनास्थलका प्रत्यक्षदर्शीका अनुसार ट्यांकर ३०० मिटर तल खोंचमा पुगेको छ भने ट्रक २० मिटर तल पुरिएको अवस्थामा छ।