बुधबार मृत्यु भएका अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. ४ खनमैदानका ५७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
जेठ १४ गते भारतको मुम्बईबाट आएका उनलाई मालारानी गाउँपालिका वडा नं. ४ व्याडापाटास्थित सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा राखिएको थियो। उक्त क्वारेन्टिनमा उनीसहित ७ जना बस्दै आएका थिए।
भारतमै घाँटीको अपरेसन गरेका उनलाई मंगलबार श्वासप्रश्वासमा समस्या भएपछि बुटवल ल्याइए पनि एम्बुलेन्सबाटै नझारी सोही दिन नै अर्घाखाँची फर्काइएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए।
‘लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको आइसोलेसनमा राखी उपचार गर्नुपर्ने बताएपछि उनलाई आफन्तले एम्बुलेन्सबाटै नझारी लैजानुभयो’ उनले भने।
मृतकका भतिजा प्रकाश खनालले अस्पताल ल्याए पनि आइसोलेसनमा राखी उपचार गर्नुपर्ने बताइएपछि संक्रमणको डरले फर्काएको बताए।
मृतकको २३ गते नै स्वाब संकलन गरिएको थियो। सो नमूना हराएपछि बुधवार पुनः स्वाब संकलन गरी परीक्षणको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो। उक्त स्वाब परीक्षणमा बिहीबार कोरोना पोजेटिभ पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पुष्टि गर्न बाँकी छ।
मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले मुम्बईबाट फर्किएका कारण कोरोना संक्रमणको आशंका गरी रिपोर्ट नआउँदासम्म शवलाई दाहसंस्कार नगरी गाउँमै राखिएको जानकारी दिए।
अध्यक्ष आचार्यले बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि शवलाई गाड्न स्थानीयले ठाउँ नदिएपछि विवाद भएको छ। आफू अहिले सो स्थानतर्फ जाँदै गरेको उनले बताए।
उनलाई उपचारको लागि बुटवल ल्याउँदै गर्दा र फर्काएर अर्घाखाँची लैजाँदा कपिलवस्तुको बाणगंगा नगरपालिकाको बनगाईमा रहेको छोरीको घरमा खाना समेत खुवाइएको थियो।
यो पनि हेर्नुस्
अर्घाखाँचीको क्वारेन्टिनमा विरामीपछि मृत्यु भएका पुरुषमा कोरोना पुष्टि