रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १० कान्छीबजारमा मंगलबार भएको सामूहिक हत्याकाण्ड व्यक्तिगत रिसिइबीका कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
कान्छीबजारको मैनहवास्थित स्थानीय कृष्णबहादुर पुनको गंगादेवी पशुफर्ममा काम गर्ने तीन कामदार, तथा दुई जना स्थानीय युवाको हत्या अभियोगमा सुर्खेत लेकबेंसी नगरपालिका वडा नं. ५ घर भई गत वैशाखदेखि सोही फर्ममा काम गर्दै आएका झसेन्द्र सिंजालीलाई प्रहरीले घटनास्थलबाटै मंगलबार पक्राउ गरेको थियो।
सिंजालीले आफूसँगै फर्ममा काम गर्ने ४० वर्षीय माधव मुसहर उनकी ३७ वर्षीय पत्नी जानकी मुसहर, फर्म सञ्चालक कृष्ण बहादुर पुनले संरक्षण गरी सोही फर्ममा राख्दै आएका १६ वर्षीय पोखराज मुसहर तथा स्थानीय १५ वर्षीय करण चौधरी र १६ वर्षीय आशिष चौधरीको मंगलबार बिहान साढे ११ बजे हत्या गरेका थिए।
पक्राउ परेका सिंजालीले प्रहरीसँगको बयानमा मुसहर दम्पत्तिले आफ्नो चरित्र हत्या गर्ने गरेको र साहूलाई समेत कुरा लगाउँदै आएकोले त्यसैको बदला लिन उनीहरूको हत्या गरेको स्वीकार गरेका छन्।
सामूहिक हत्या घटनाको अनुसन्धानको लागि गठित अनुसन्धान टोलीका प्रमुख प्रदेश ५ प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार वैदवारले घटनास्थलको अध्ययन र हत्या अभियोगमा पक्राउ परेका सिंजालीले आफूलाई लगाउँदै आएको आरोपको बदला लिन हत्या गरेको स्वीकार गरेको बताए।
हामीसँगको बयानमा उनले मुसहर दम्पत्तिले आफूलाई ‘भैंसी करणी’ गरेको जस्ता चरित्रमा आक्षेप लगाउने गरेको र उक्त कुरा साहू र अरुलाई समेत सुनाइदिने गरी आफूलाई मानसिक रूपमै चोट पुर्याएकोले हत्या गरेको बताए।
‘केही समय अगाडि मात्रै श्रीमतीले छोडेर गएको र फर्ममा पनि आफ्नो चरित्र हत्या भएकोले सबैलाई ठीक पार्ने सोचमा मनमा आइरहेको थियो, सोमबार साँझ खाना खाइसकेपछि सबै जनाले मदिरा खाइरहेको बेला पनि सोही आक्षेप लगाएपछि तत्काल आवेशमा आई हत्या गरेको हुँ,’ उनले प्रहरीसँगको बयानमा भनेका छन्।
प्रहरी वरिष्ठ उपरीक्षक वैदवारले सिंजालीले चारै जनालाई सुरूमा लठ्ठी प्रहार गरी अचेत बनाई लडेपछि फरुवाको दुईतर्फबाटै पालैपालो हानेर हत्या गरेको बताए।
घटना घट्नुपूर्व जानकी मुसहर आफ्नो कोठामा रहेको र उनी गोठमा आउँदा सिंजालीले गोठमा रहेका चार जनालाई लठ्ठी र फरुवाले हानिरहेको देखेपछि प्रतिकार गर्दा उनलाई पनि लठ्ठी र फरुवा प्रहार गरी हत्या गरेको सिंजालीले प्रहरीसामु बताएका छन्।
प्रहरी वरिष्ठ उपरीक्षक वैदवारले जानकीले प्रतिकार गर्दा सिंजालीलाई हँसियाले हानी हात समेत काटिदिएको बताएका छन्। प्रहरीले हत्यामा प्रयोग गरिएका फरुवा र लौरो बरामद गरी अनुसन्धानको लागि ल्याएको जनाएको छ ।
वैदवारले घटनास्थलमा मदिराका बोतल फेला परेकोले हत्या हुनुभन्दा पहिले सबै जनाले मदिरा सेवन गरेको पाइएको बताए।
‘मदिराका बोतल घटनास्थलमा भेटिएका छन्, यसले उनीहरूले हत्या हुनुअघि मदिरा सेवन गरेका थिए भन्ने बुझिन्छ, सँगै मदिरा खाएर बसेको एउटै व्यक्तिले पाँच जनाको हत्या हुँदा अरुले प्रतिकार गरेको नदेखिँदा मदिरामा कुनै नशालु पदार्थ मिसाइएको थियो कि हामीले परीक्षणको लागि विधिविज्ञान प्रयोगशालामा नमूना पठाएका छौं,’ वैदवारले भने।
सिंजालीले केही दिनअघि मात्रै मुसा मार्न प्रयोग हुने दुई पोका औषधि समेत किनेर ल्याएको भन्ने बुझिएकोले त्यो औषधि समेत प्रयोग गरिएको थियो/थिएन भन्ने कुरा भिसेरा परीक्षणपछि थाहा हुने एसएसपी वैदवारले बताए।
अहिले सिंजालीलाई ईलाका प्रहरी कार्यालयमा राखिएको छ भने जिल्ला अदालत रुपन्देहीबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरू गरिएको वैदवारले जानकारी दिए।
त्यस्तै, हत्या गरिएका पाँचै जनाको शवलाई पोष्टमार्टम गरी बुधबार परिवारलाई जिम्मा लगाइएको वैदवारले जानकारी दिए।