झण्डै एक महिना अघि अम्बाको रूखबाट लडेर घाइते भएको भन्दै अस्पतालमा भर्ना भएकी तिलोत्तमा नगरपालिका-१० की एक बालिकालाई छिमेकी किशोरले यौन दुर्व्यवहार गरेको पाइएको छ।
बालिकाको यौनांगमा कोदालीको बिँड कोचेर घाइते बनाउने १४ वर्षीय किशोरलाई रूपन्देही जिल्ला अदालतले नाबालक भएको भन्दै अहिले अभिभावकको जमानीमा छोडेको छ।
घर नजिकै खेलिरहेकी ती बालिकालाई तानेर आफ्नो घरमा लगि घाइते बनाएका थिए। तर यो कुरा सुरूमा बालिकाले कसैलाई पनि भनेकी थिइनन्।
घटना वैशाख २६ गतेको हो।
तिलोत्तमा नगरपालिका-१० शान्तिनगरकी तलैया (नाम परिवर्तन) मा रगताम्ये भएर घर आइन्। केहीबेर अघिसम्म घर वरिपरि खेल्दै गरेकी तलैयाको यौनांग र मलद्वारबाट रगत बगिरहेको थियो।
उनी चिच्याइरहेकी थिइन्।
आमा/ दिदीहरूले के भयो भनेर सोधे।
बालिकाले अम्बाको रूखबाट खेतमा लड्दा कोदालोले काटेको बताइन्।
त्यतिन्जेल गाउँलेहरू जम्मा भइसकेका थिए।
त्यो रात त्यसै बित्यो। भोलिपल्ट वैशाख २७ गते स्थानीय सहनशील टोल विकास संस्थाका अध्यक्ष गोपालप्रसाद घिमिरेले गाउँलेहरूसँग चन्दा संकलन गरी बालिकालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाए।
बालिकाकी आमाको मानसिक सन्तुलन ठिक छैन, बुवा अर्कैसँग विहे गरेर अन्तै बस्छन्।
घाउको प्राथमिक उपचारपछि बुटवलले बालिकालाई थप उपचारको लागि भैरहवा मेडिकल कलेज रिफर गर्यो।
बालिकाको परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको कारण अस्पतालमा लगे पनि सुरूमा उपचारको लागि समस्या भयो। घिमिरेले नै टोल छिमेकमा पैसा संकलन गरि ३९ हजार जुटाइदिएका थिए।
अस्पतालमा उपचारको क्रममा घाउको जाँच गर्दै जाँदा चिकित्सकले बालिकाको यौनांगको भित्रैसम्म चोट लागेको र उक्त चोट लडेर नभई कुनै बस्तु कोचेर घाउ बनाएको बताए।
चिकित्सकको भनाइपछि घटना मोडियो। बालिकालाइ फकाएर सोधपुछ गर्दै गएपछि थाहा भयो उनले त छिमेककै एक किशोरको डरले घटना लुकाएकी रहिछन्।
तलैया र ती किशोरको घर दुई-तिन घर वरपर पर्छ। एउटै बस्तीका छिमेकी भएकोले किशोर तलैयाको घर आइरहन्थे। तलैया सानै भएकोले उनि पनि ती किशोर तथा अरू बालबालिकासँगै खेल्ने गर्थिन्।
वैशाख २६ गते पनि तलैया घर नजिकै खेलिरहेकी थिइन्। किशोर आएर तलैयाको हात समातेर घर लैजान थाले। खेलिरहेकी तलैयाले ती किशोरको घर जान मानिनन्। किशोरले तलैयालाई फकाउँदै तानेर घरमा लगे। उनको घरमा कोही थिएन। तलैया चिच्चाउलिन् भनेर किशोरले मुखमा टेप लगाइदिए।
उनको हातखुट्टा बाँधिदिए। नजिकै कोदालो थियो, त्यही कोदालोको बिँड तलैयाको यौनांगमा कोचिदिए।
त्यसपछि पीडाले अर्धचेत भएकी बालिकाको बाँधिएको हातखुट्टा खोलिदिए र यो घटना कसैलाई भने मारिदिने भन्दै घर पठाए। रगताम्मे बनेर खोच्चाउँदै घरमा आएकी बालिकाले किशोरको धम्की सम्झेर घटनाबारे भन्न सकिनन्। बरू अम्बाको रूखबाट लडेर चोट लागेको भनेर ढाँटिन्।
अत्यन्त कमजोर आर्थिक अवस्थामा श्रीमानले अर्कै श्रीमती लिएर अलग्गै बस्न थालेपछि उनकी आमा डिप्रेसनमा गएको उनका छिमेकीहरूले बताए। डिप्रेसनमा गए पनि लगातार जन्मिएका चार छोराछोरीको लालनपालनको बोझ श्रीमानले छाडेपछि उनकै थाप्लोमा आइलाग्यो।
कुलो नजिकैको सानो टुक्रा जमिनमा खर र झिंगटीले बारेर बनाएको घरबाहेक उनीहरूको सम्पत्ति केही छैन। थलिएको र रोगी शरिरले दिनभरि अर्कैको मेलामा ज्याला मजदुरी गरेर छोराछोरीको पेट भर्ने अवस्था पनि उनको छैन।
विपन्न अवस्थाका कारण छोराछोरी स्कुल जाँदैनन्। जेठी छोरीको विवाह भइसकेको छ। बालिकाबाहेक एक छोरा र छोरी छन्।
बालिकामाथि भएको घटनापछि गाउँलेले जुटाएको चन्दा लिएर अस्पताल लैजाने काम भने उनका बुवाले गरे।
अहिले बालिकाको यौनांगको घाउ पुरिँदै गएको छ। मलद्वारमा समेत गहिरो चोट लागेको भन्दै डाक्टरले दिसा, पिसाब बाहिर निकाल्न बायाँ कोखाबाट पाइप लगाइदिएका छन्।
अत्यन्त कमजोर आर्थिक अवस्था र आमासमेत डिप्रेसनबाट थलिएको कारण उनको रेखदेख र थप उपचारमा समस्या भएको स्थानीय घिमिरेले बताए।
'अहिलेसम्म त टोल छरछिमेकसँग पैसा संकलन गरेर उपचार भयो, अझै दिसापिसाबको लागि कोखामा बनाइएको पाइप सही ठाउँमा लैजान ठूलो अप्रेसन गर्नुपर्छ त्यसको लागि धेरै पैसा लाग्छ भनेर डाक्टरले भनेका छन्, कति लाग्छ कहाँबाट जुटाउने हो सोचिरहेका छौं,' घिमिरेले सेतोपाटीसँग भने।
यता तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरी चौधरीले बुधबार बालिकाको घरमा गई भेटेर सबै उपचार खर्च नगरपालिकाले बेहोरिदिने भन्दै फर्किएकी छन्। उपप्रमुख चौधरीले घटनाबारे ढिलो गरी सोमबारमात्र जानकारी पाएको र बुधबार घरमा गई भेटेर आएको बताइन्।
'घटनाबारे नगरपालिकालाई सोमबारमात्रै जानकारी आयो, मंगलबार जाने तयारी गरिरहेको बेला सोही वडामा भएको सामुहिक हत्याकाण्डको घटनामा अलमलिँदा आज गएर भेटेर आएकी छु,' उनले भनिन्, 'असारको १५ गते अर्को अप्रेसनको लागि अस्पतालले बोलाएको रहेछ अस्पतालमा कति खर्च लाग्छ सबै खर्च नगरपालिकाले बेहोरिदिन्छ भनेर आएकी छु। बालिकाको उपचार खर्च र घरमा खाने खर्च पनि नगरपालिकाले उपलब्ध गराउँछ।'
घटना वैशाख २६ गतेको भए पनि प्रहरीमा उजुरी भने जेठ १९ गतेमात्रै दर्ता गरिएको थियो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले घटना घटेको २३/२४ दिनपछि मात्रै पीडित पक्षबाट प्रहरीमा उजुरी दर्ता गरिएको जानकारी दिए।
'उहाँहरू जेठ १९ गते उजुरी दर्ताको लागि आउनुभएको थियो, हामीले सोही दिन नै उजुरी दर्ता गरि घटनाको अनुसन्धान सुरू गरेका हौं,' उनले भने
प्रहरीले पीडित पक्षले दिएको उजुरीको आधारमा किशोरलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति माग गरे पनि अदालतले भने नाबालक रहेको भन्दै हाजिरी जमानीमा अनुसन्धान प्रकृया अगाडि बढाउन आदेश दिएको छ।
'पीडक भनिएका किशोर पनि नाबालक भएकोले अदालतले अभिभावकको जिम्मामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ, प्रहरीले अदालतको आदेशको पालना गर्दै अनुसन्धान प्रकृया अगाडि बढाएको छ,' उनले भने ।
आरोपित किशोरका बाबु पनि कारागारमा छन्। महिलाहरूलाई वैदेशिक रोजगारमा पठाउने गर्दै आएका किशोरका बाबुले पनि दुईभन्दा बढी विवाह गरेको स्थानीय गोपाल घिमिरेले जानकारी दिए।
पीडक र पीडित दुबै एउटै टोल छिमेकी भएको पीडक घरमै रहेकोले बालिकालाई बुधवारदेखि कदम नेपालले संरक्षणमा राखेको छ। कदम नेपालका अध्यक्ष ईन्दिरा आचार्यले एउटै टोलमा पीडक र पीडित बस्दा अप्ठ्यारो भएपछि बालिकालाई संरक्षणमा राखिएको जानकारी दिइन्।
'बालिका शारिरीक रूपमा पनि अहिले अत्यन्त कमजोर छिन्, उनको घाउचोटको उपचारसँगै मानसिक परामर्श आवश्यक छ,' आचार्यले भनिन्।