रुपन्देहीको तिलोत्तमा नगरपालिका- १० कान्छीबजारका कृष्णबहादुर पुन सधैंझै मंगलबार पनि बिहानै उठेर गोठमा गए।
उनी बिहानै उठेर गोठमा जान थालेको ६ वर्षजति भइसक्यो। कान्छीबजारको मैनहवामा उनको गंगादेवी पशु फर्म छ।
फर्मका गाई भैंसी, हाँस, बाख्रा, कुखुराको रेखदेखको काम उनले माधव र जानकी मुसहरलाई दिएका थिए। एक महिनाअघि झसेन्द्र सिंजाली पनि उनको फर्ममा काम गर्न आएका थिए। आमाबुवा बितेपछि टुहुरा भएका पोखराज मुसहरलाई कृष्णबहादुरले संरक्षण दिएका थिए। उनी पनि अरू कामदारसँगै गोठमै बस्थे।
गाई भैंसीलाई घाँस-पानी दिने, गोबर-सोत्तर गर्ने र हेरविचार कामदारले गरे पनि बिहान दूध दुहुने र बजार पठाउने काममा कृष्णबहादुर आफैं खटिन्थे।
मंगलबार पनि उनी बिहान पाँच बजे नै फर्मबाहिर पुगेका थिए।
बस्तीदेखि केहीपरको फर्म वरिपरि पर्खाल र तारजाली लगाइएको छ। गेटमा भने रात परेपछि भित्रबाट ताल्चा लगाइन्थ्यो। बिहान कृष्णबहादुर आएपछि कामदारले ताला खोल्थे।
मंगलबार बिहान कृष्णबहादुरले गेट बाहिरबाट माधव र जानकीलाई बोलाए। झसेन्द्रलाई पनि डाके। धेरै बेर बोलाए तर कसैले गेट खोलेन न त जवाफ आयो।
केहीबेरपछि माधव र जानकीका कान्छो छोरा अर्जुनले कृष्णबहादुरले बोलाएको सुने। उनले पनि आमाबुवालाई डाके। झसेन्द्र र पोखराजलाई पनि बोलाए। तर कसैले जवाफ फर्काएन।
अर्जुन आफैं आमाबुवालाई उठाएन गए। त्यहीबेला उनले भकारोनजिकै विभत्स दृश्य देखे। त्यहाँ उनका आमाबुवासहित पाँच जना रगताम्मे भएर पल्टिएका थिए।
आँत्तिदै आएका अर्जुनले भित्रको दृश्य गेटबाहिर रहेका कृष्णबहादुरलाई सुनाए। उनको मन चि सो भयो। कृष्णबहादुर हाम फालेर भित्र गए।
फर्मभित्र लस्करै पल्टिएका पाँच वटा शव थिए।
कृष्णबहादुरको फर्मको पश्चिमपट्टि दिलबहादुर थारूको सरस्वती पशु फर्म छ। उनीहरू दुबै जना बच्चादेखिका मिल्ने साथी हुन्। कृष्णबहादुर प्राय: दिलबहादुरकै फर्ममा सुत्थे। सोमबार राति पनि उनी दिलबहादुरकै फर्ममा सुतेका थिए।
‘म राति दिलबहादुरसँगै सुतेको थिएँ, बिहानै उठेर गेटबाट बोलाएँ, कोही नबोलेपछि अर्जुनले उठेर हेर्न जाँदा यस्तो विभत्स दृश्य देखेपछि गेटबाट हाम फालेर भित्र पसेको हुँ,’ पुनले भने।
रगताम्य दृश्य देखेपछि उनले साथीहरूलाई र प्रहरीलाई खबर गरे।
४० वर्षिय माधव, ३७ वर्षकी जानकी, पोखराजसँगै कान्छीबजारका १७ वर्षका करण चौधरी र आशिष चौधरीको पनि हत्या भएको थियो।
केहीबेरमा प्रहरी घटनास्थलमा पुग्यो। खोजबिन गर्दा गोठमा राखिएको भुसमा लुकिरहेका झसेन्द्र भेटिए।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीका अनुसार प्रारम्भिक बयानमा झसेन्द्रले फरूवाले हानेर आफूले उनीहरूको हत्या गरेको स्वीकारेका छन्।
फर्ममा एक महिनाअघि आएका थिए झसेन्द्र
घटनास्थलबाट पक्राउ परेको झसेन्द्र मध्य वैशाखसम्म तिलोत्तमाकै शिवपुरस्थित रामु साहनीको पशु फर्ममा काम गर्थे। त्यही बीचमा उनलाई मालिकले कामबाट निकाले। उनी काम खोज्दै कृष्णबहादुरकोमा आए।
कृष्णबहादुरलाई पनि काम चाहिएको थियो। कुरा मिल्यो। झसेन्द्र वैशाख १८ गतेदेखि फर्ममा काम गर्न थाले।
‘उ काम खोज्दै आएको थियो, मलाई पनि काम गर्ने मान्छे चाहिएकाले राखें, यस्तो होला भन्ने के थाहा?’ कृष्णबहादुरले सेतोपाटीसँग भने।
फर्ममा आउँदा झसेन्द्रले आफूलाई श्रीमतीले छोडेर गएको बताएका थिए।
‘श्रीमतीले पनि छोडेर गई भन्थ्यो, धेरै बोल्दैनथ्यो। मदिरा भने हरेक दिन साँझमा खाइरहन्थ्यो,’ कृष्णबहादुरले भने।
माधव र जानकीले फर्ममा काम गर्न थालेको तीन वर्ष जति भएको थियो। फर्ममा गाई भैंसी, बाख्रा कुखुरासँगै कृष्णबहादुरले कामदार पनि थप्दै आएका थिए।
मदिरा खाइरहने झसेन्द्र माधव र जानकीसँग झगडा गरिरहने जानकीका जेठा छोरा करण मुसहरले बताए।
‘अंकल बुवाआमासँग सधैँ झगडा गरिरहनुहुन्थ्यो। झगडा नगर्नु भनेर मैले सम्झाउँथे तर पनि मैले भनेको मान्नुहुंदैनथ्यो,’ करणले भने।
झसेन्द्र गोठमा सुत्थे, माधव र जानकीदेवी गेटनजिकैको घरमा।
सोमबार भने जानकीकी बहिनी गोलरी मुसहर आएकी थिइन्। बहिनी र कान्छो छोरा अर्जुनलाई घरमा सुत्न लगाएर माधव र जानकी पनि गोठमै सुत्न गएका थिए।
गोलरीले राति १ बजेतिर झसेन्द्र आफ्नो कोठामा आएको बताइन्।
‘उ हातमा लौरो समातेर आएको थियो। मलाई गाउँलेले नराम्रो भन्छन् भन्यो,’ गोलरीले भनिन्,‘यति राति किन कोठामा आएको भनेर पठाएँ। कोठा बाहिर आएर हेर्दा दिदीभिनाजुलाई देखिनँ। गोठतिर गएर हेर्न डर लाग्यो।’
आफूले घटनाबारे मंगलबार बिहानमात्र थाहा पाएको गोलरीले बताइन्।
साथी भेट्न आइरहन्थे आशिष
हत्या भएका पोखराज, करण र आशिष मिल्ने साथी हुन्। करण र आशिष फुर्सद भयो की पोखराजलाई भेट्न आइहाल्थे।
करण सोमबार राति आफ्नो घरमा खाना खाएर पोखराजलाई भेट्न आएका थिए भने आशिष तीन-चार दिनदेखि फर्ममै बसेको उनका दाइ शैलेन्द्र चौधरीले बताए।
‘मेरो भाइ र करण पोखराजका साथी थिए, उनीहरू गोठमा गइरहन्थे,’ उनले भने।
सोमबार दिउँसो शैलेन्द्रले आफ्नो भाइलाई पोखराजसँगै खेतमा भैंसी चराइरहेको देखेका थिए। ‘खेतमा आली लगाउनु छ भनेर घर हिँड’ भन्दा आशिषले ‘म पछि आउँछु’ भनेका थिए। आशिष कान्छीबजारको जनहित माविमा पढ्थे। अचेल कक्षा ८ को जाँच दिएर बसेका थिए।
सोमबार साँझ नै भाइको बाटो कुरेका शैलेन्द्रले मंगलबार बिहान उनको हत्या भएको खबर सुने।
‘बिहान सातबजेतिर साग टिपिरहेका बेला प्रहरीको गाडी आएको देखेको थिएँ। कसैको झगडा पर्यो होला ठानेर वास्ता गरिनँ,’ शैलेन्द्रले भने,‘पछि आशिषको हत्या भएछ भन्ने खबर गाउँभरि फैलियो। अनि बुवा र म फर्ममा गयौं।’
करण चौधरी पनि सोमबार घरमा खाना खाएर गोठमा आएको आमा निर्मलादेवी चौधरीले बताइन्।
‘यिनीहरू तीन जना निकै मिल्ने साथी थिए, करण गोठमा आइरहन्थ्यो, हिजो साँझ खाना खाएर एक घण्टा जति घरमा टिभी हेरेर आएको थियो,’ निर्मलादेवीले भनिन्।
विधवा भाउजुले हुर्काएकी थिइन् पोखराजलाई
पोखराजको बुवा चिन्नी मुसहर बितेपछि आमा अर्कैसँग गइन्। उतै घरजम गरेर बसिन्। जेठो दाजु बरकु मुसहरको पनि ६-७ वर्षपहिले मृत्यु भयो।
बुवा र दाजुको मृत्यु भएपछि पोखराज र भाइ नागराजको जिम्मेवारी भाउजु प्रेमकली मुसहरको काँधमा आइलाग्यो। ससुरा र श्रीमानको मृत्युपछि प्रेमकलीले २ छोरा र १ छोरीसँगै दुई देवरलाई पनि हुर्काइन्।
घरको आर्थिक अवस्था कमजोर थियो। दिनभरि मजदुरी गरी परिवार पाल्नुपर्ने। घरको मूली मान्छेको मृत्यु भएपछि प्रेमकलीलाई ५ जना केटाकेटीको पालनपोषण गर्न धौ-धौ भयो। यही बीचमा कृष्णबहादुरले पोखराजको संरक्षण गर्ने गरी फर्ममा ल्याए।
पोखराज बिहान-साँझ गोठको काम गर्थे, दिउसोमा स्कुल जान्थे। बेलामौकामा भाउजु र भाइलाई भेट्न कान्छीबजार इँटाभट्टानजिकैको घर जान्थे।
पछिल्लो समय भने धेरै दिन भएको थियो उनी घर गएका थिएनन्।
‘बिहान ६ बजेतिर देवरको हत्या भएको खबर सुनें। ससुरा र श्रीमानको मृत्युपछि टुहुरा बनेका देवरलाई छोराजस्तै हुर्काएकी थिए अहिले यसरी हत्या भयो,’ प्रेमकलीले गहभरि आँशु पार्दै भनिन्।
घटनाको रहस्य: पाँच जनालाई मार्दा पनि कसैले थाहा पाएनन्
प्रहरीले हत्या गरेको स्वीकारेका झसेन्द्रलाई नियन्त्रणमा लिई अनुसन्धान सुरू गरेको जनाएको छ।
प्रहरी प्रवक्ता खत्रीले घटनास्थलको प्रारम्भिक अध्यनलाई हेर्दा पाँच जना एकै स्थानमा सुतेको अवस्थामा हतियार प्रहार गरेर हत्या गरिँदा कसैले प्रतिवाद गरेको नदेखिएको बताए।
‘अहिले झसेन्द्र मानसिक रूपमा विक्षिप्त छन्। राम्ररी बोल्न पनि सकिरहेका छैनन्। घरी के भन्छन् घरि के। हामीले उनलाई अस्पताल पठाएका छौं,’ खत्रीले भने,‘अझै के कारणले हत्या भएको हो भन्ने खुल्न सकेको छैन, हामी विस्तृत अनुसन्धानमा लागेका छौं।’
प्रहरीले घटनाको अनुसन्धान गर्न प्रदेश ५ प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार वैदवारको नेतृत्वमा अनुसन्धान टोली गठन गरेको छ।
हत्या गरिएका पाँच जनाको शव पोष्ट मर्टमका लागि अस्पताल पठाइएको छ।