अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले इटहरी उपमहानगरपालिकाले सिएफएल बल्वको सेट खरीदमा ६० लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको घटनामा खरीदसम्बन्धी सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ।
चालू आर्थिक वर्षको साउन १ गतेदेखि कात्तिक ७ गतेसम्म उक्त उपमहानगरपालिकाको जिन्सी शाखाले व्यापारीसँगको मिलेमतोमा कागजात मिलाइ खरीद गरेको ९७ लाख रुपैयाँको सिएफएल र त्यसको सेटमा लाखौँ भ्रष्टाचार भएको भन्ने उजुरीमा अख्तियारले खरीदसम्बन्धी सम्पूर्ण कागजात लिएको हो। उक्त सामग्री खरीद कार्यमा बोलपत्र समेत नगरिएको पाइएको छ।
उपमहानगरपालिकामा निर्वाचित पदाधिकारी आउँदाआउँदै भएको सिएफएल बल्व खरीदसम्बन्धी भ्रष्टाचारमा उद्योग वाणिज्य संघका पदाधिकारी, कर्मचारी एवं निर्वाचित पदाधिकारीसमेतको संलग्नता देखिएपछि त्यसको छानबिन अघि बढाइएको हो।
उपमहानगरपालिकाभित्र सिएफएल खरीदसँगै फर्निचर खरीद, बालबालिका लक्षित कार्यक्रम र खेलकुदका सामग्री खरीद प्रकरणमा पनि लाखौँ रकमको अनियमतिता भएका विषय बाहिर आउन थालेका छन्।
यो प्रकरणका सम्बन्धमा विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि २० वडामध्ये १२ वडामा विजयी नेपाली कांग्रेसका वडाध्यक्षले यो आर्थिक अनियमितताका विषयमा बुधबार अख्तियारका द्धारिकलाल चौधरीसँग छलफल गरेका एक वडाध्यक्षले जनाए।
यस प्रकरणमा उपमहानगरका निर्वाचित पदाधिकारी जिन्सी शाखामा कार्यरत कर्मचारी, लेखाका कर्मचारी र उक्त सामग्री खरीदका लागि मूल्यसूची प्रमाणीकरण गरी दिने उद्योग वाणिज्य संघका पदाधिकारी र एवं सामग्री उपलब्ध गराउने व्यापारीसमेत तानिन सक्ने सम्भावना रहेको खख्तियारसँगै राजस्वसम्बन्धी कार्यालयको समेत ध्यानाकर्षण भएको बताइएको छ।