दशैं, तिहार र छठ पर्व मनाउन घर गएका हुम्लाका करीब दुईसय कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका छन्।
हुम्ला फर्किन हवाईजहाजको टिकट नपाएपछि ती कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका हुन्।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिँदै गएको अवस्थामा कर्मचारी हतार हतारमा आ–आफ्नो कार्यालय फर्किन थालेका थिए। तर अधिकांश कर्मचारी हवाईजहाजको टिकट नपाउँदा हप्तौँदेखि नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका मुख्य निर्वाचन अधिकृत अनिलकुमार शर्माले बताए।
‘कर्मचारी जिल्ला नआइसकेको अवस्थामा निर्वाचनमा खटिनेहरूको नामावली केन्द्रमा पठाउन सकिएको छैन,’ उनले भने।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा कर्मचारी चाँडै फर्किन खोजेपनि हवाईजहाज उडान नियमित नहुँदा मारमा परेको बताए।
जिल्ला समन्वय समितिका सचिव लोकबहादुर सुनारले हवाईजहाजको टिकटका लागि एक हप्ता नेपालगञ्ज बस्नुपरेको बताए। ‘बल्ल आज टिकट पाइयो र आउन सके, अरु कर्मचारी अलपत्र परेका छन्,’ उनले भने। तारा, सीता र नेपाल एयरलाइन्सका विमानले नेपालगञ्ज र सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएपनि नियमित भने छैनन्।