शुक्रबार विर्तामोडमा भएको गोलीकाण्ड र अर्जुनधारा ११ का ११ वर्षिय बालक लक्ष्मण शिवाकोटीको शंकास्पद मृत्युबारे अध्ययन गर्न सरकारद्वारा गठित उच्चस्तरीय टोलीले आजदेखि अध्ययन गर्न सुरू गरेको छ।
टोलीले आजै मृतक बालक शिवाकोटीको घर पुगेर उनका बाबु,आमा तथा छिमेकीसँग घटनाका विषयलाई लिएर सोधपुछ गरेको छ। सो टोलीले बालकको शव पाइएको स्थानको समेत अध्ययन अनुसन्धान तथा अनुगमन गरेको छ।
शुक्रबार बिर्तामोडमा एक जनाको ज्यान जाने गरी भएको घटना तथा बालक लक्ष्मण शिवाकोटीको मृत्युका बारेमा छानबिन गर्न सरकारले गठन गरेको ४ सदस्यीय उच्चस्तरीय टोली गठन गरेको थियो।
गृह मन्त्रालयका सहसचिव विरेन्द्रकुमार यादवको संयोजकत्वमा नेपाल प्रहरीका नायब महानिरीक्षक रमेशकुमार भट्टराई, शसस्त्र प्रहरीका नायब महानिरीक्षक चिरञ्जीवी अधिकारी र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हरिहर पौडेल सम्मिलित टोलीले घटनाको अध्ययन गर्न सुरू गरेको हो।
सिवाकोटीका परिवारलाई भेटेपछि घटनाको अनुसन्धान गर्ने र यसको प्रतिवेदन तत्कालै सरकारलाई बुझाउने टोलीमा सहभागी गृहमन्त्रालयका सहसचिव यादवले बताए ।